ग्रह शान्तिदेखि अनेकौं रोग निको पार्न उपयोगी मसला
सुरेशचन्द्र रिजाल
नेपालमा कयौं प्रकारका मसलाहरू उत्पादनसँगै दोस्रो तथा तेस्रो मुलुकबाट आयात तथा निर्यात गर्ने गरिएको छ । मसलाको प्रयोग तरकारीमा आवश्यकताअनुसार स्वादिष्ट बनाउन तथा अन्य थुप्रै खाद्य पदार्थ बनाउनका लागि उपयोग गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।
यस्ताखाले मसलाको प्रयोगले मानव शरीर सन्तुलन राख्नुका साथै ग्रह तथा नक्षत्रहरूको नकारात्मक प्रभावबाट जोगाउन पनि ऋषि महर्षिहरूले पुर्खाहरूलाई जानकारी गराएको थुप्रै प्रमाणहरू पाइन्छन् । मौखिकरूपमा जानकारी गराएर एक पुस्तादेखि अर्काे पुस्तालाई हस्तान्तरण गरेकै भरमा आजसम्म पनि जीवन्त चलिआएको छ ।
थोरै मात्र सावधानी अपनाउन सकेमा रोग तथा ग्रहहरूको नकारात्मक प्रभाव पूर्णरूपमा नियन्त्रण हुने विश्वास गरिन्छ । नवग्रहहरूको प्रभाव कम गर्न भिन्नाभिन्नै घरेलु वस्तुहरूको प्रयोग तथा दान गर्न सकिने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।
यदि, थोरै मात्र सावधानी अपनाउन सकेमा रोग तथा ग्रहहरूको नकारात्मक प्रभाव पूर्णरूपमा नियन्त्रण हुने विश्वास गरिन्छ । नवग्रहहरूको प्रभाव कम गर्न भिन्नाभिन्नै घरेलु वस्तुहरूको प्रयोग तथा दान गर्न सकिने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।
सूर्य ग्रह:
रातो खुर्सानी सूर्यको नकारात्मक शक्तिलाई कम गर्न प्रयोग गर्न सकिन्छ । यो दैनिकरूपमा भान्सामा प्रयोग गरिने वस्तु हो । यसले बुद्धिलाई तृष्ण बनाउनुका साथै रक्त सञ्चालनमा पनि यसको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । यसका अलावा मसुरो, गुण, करवीरको फूल लगायतका वस्तु दान गरेमा सूर्यबाट हुने रोग तथा ग्रहको नकारात्मक शक्ति कम गर्न सकिने बताइएको छ ।

चन्द्र ग्रह :
अलैँची तथा सुकुमेल चन्द्रमाको प्रमुख मसलाका रूपमा लिने गरिएको छ । यसलाई हरेक तरिकाबाट प्रयोग गर्न सकिन्छ । खाना खाइसकेपछिको मसलाको रूपमा प्रयोग गर्ने परम्परा पनि रहिआएको छ । श्वाससम्बन्धी रोग तथा वायु प्रकोपलाई हटाउनका लागि पनि अति लाभदायक मानिएको छ । सेतो कपडासहित अलैँची तथा सुकुमेल दान गरेमा पनि चन्द्रमाको प्रभाव कम गर्न सकिने उल्लेख गरिएको छ ।

मंगल ग्रह :
मंगल ग्रहले शरीरमा रक्त सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । उक्त ग्रहको तत्व पनि रातो नै रहेको छ । यदि, मंगल कमजोर तथा पापान्तर भएर बसेको अवस्था यसको फल अत्यन्तै अशुभ हुने गरेको छ । प्रेसर तथा हर्टअट्याक हुनुमा मंगलको मुख्य भूमिका रहने गरेको छ । यस्तो समस्या कम गर्न सुकेको रातो खुर्सानी बहुउपयोगी रहने गरेको छ । यसका अलावा दालचिनी, अदुवा, मेथी कस्तुरी लगायतका वस्तु प्रयोग तथा दान गरेमा मंगल ग्रहको नकारात्मक प्रभाव कम गर्न सकिन्छ । साथै, विज्ञको सल्लाहअनुसार मुगाको धारण गरेमा पनि शुभ फल मिल्ने उल्लेख गरिएको छ ।

बुध ग्रह :
बुध ग्रहको कलर हरियो भएकाले धनियाँको प्रयोगबाट पित्त सन्तुलित हुने उल्लेख गरिएको छ । यसको प्रयोगबाट किड्नीलाई सफा गर्नुका साथै पिसाबसम्बन्धी सम्पूर्ण समस्या निको पार्ने बताइएको छ । यसका अलावा हिंग तथा हरियो धनियाँको प्रयोग तथा दानबाट पनि बुधको प्रभाव कम गर्न सकिने उल्लेख गरिएको छ । पन्ना धारण गरेमा पनि फाइदा हुने शाष्त्रमा बताइएको छ ।’

बृहस्पति ग्रह :
सम्पूर्ण ग्रहहरूको राजा देवगुरु बृहस्पति हुन् । उक्त ग्रहको स्वभाव पहेंलो हुने भएकाले पनि भान्सामा प्रयोग हुने बेसार बहुउपयोगी औषधिका रूपमा उल्लेख गरिएको छ । विशेषगरी, काटेको घाउ पुर्नका लाग एन्टिबायोटिकका रूपमा रहेको बताइएको छ । यसको प्रयोगले हाम्रो शरीरमा भएका हड्डीहरू मजबुत गर्ने यसको विशेष भूमिका रहने उल्लेख गरिएको छ । यसका अलावा पुष्पराजका प्रयोग गरेमा पनि दीर्घ रोगीहरूलाई लाभ मिल्ने बताइएको छ ।

शुक्र ग्रह :
समस्त आयुर्वेदका ज्ञाता गुरु शुक्राचार्यलाई आयुर्वेदिकका पिताका रूपमा वर्णन गरिएको छ । शुक्रको लागि जिरा सेवनले अम्लीय प्रभावलाई कम गर्ने उल्लेख गरिएको छ । पाचन प्रणालीमा केही असहज महसुस भएको अवस्थामा जिरा र पानी सेवन गर्ने परम्परा रहिआएको छ । यसको अतिरिक्त सोफ, सुपारी दालचिनी लगायतका वस्तुको सेवन तथा दानबाट शुक्र ग्रहलाई बलियो बनाउन सकिने उल्लेख गरिएको छ ।

शनि ग्रह :
शनि ग्रहको प्रभाव कम गर्न कालो मरिच बहुउपयोगी भएको उल्लेख गरिएको छ । यसले कफको समस्यालाई तुरुन्तै सहजीकरण गर्नुका साथै दाँतको समस्या पनि समाधान गर्ने कुरा उल्लेख गरिएको छ । यसका अलावा तोरीको तेल, कालो तिल, सख्खरलगायतका वस्तुको प्रयोग तथा दानबाट शनिको प्रभाव कम गर्न सकिने बताइएको छ ।

राहु ग्रह :
राहुको प्रभाव कम गर्न दालचिनीबाट बनाइएको मसला बहुउपयोगी रहने बताइएको छ । यसका अतिरिक्त जाइफल पनि प्रभावकारी मानिएको छ ।

केतु ग्रह :
केतु ग्रहको प्रभाव कम गर्नका लागि कालो नुन अर्थात् वीरे नुन उपयागी मानिएको छ । वीरेनुनको प्रयोगले पेटमा हुने हरेक समस्याको बहुउपयोगी साबित हुने बताइएको छ । यसका अलावा गहतको प्रयोग तथा दान गरेमा पनि केतु ग्रहको प्रभाव कम गर्न सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

यसरी हजारौं वर्षअघि यस्ता वस्तुहरूको प्रयोग गर्ने गरिएकाले स्वास्थ्यमा देखापरेका हरेक प्रकारका रोग तथा समस्याहरूको समाधान गर्न सकिने भएकाले पनि आजसम्म पनि हाम्रो भान्सामा प्रयोग हुँदै आएको छ ।
(लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)
यो पनि…
आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरु
एक बिहान लावण्य देशमा…(फोटो फिचर)