नेपाली आरोही केटु आरोहणतिर
हिउँद याम । ठण्डी मौसम । पर्वतारोहीका लागि फूर्सदको बेला । त्यसैले, यो हिमाल चढ्ने उपयुक्त समय होइन । तर, यतिबेला सात नेपाली र एक ताइवानी महिलालाई भने पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो शिखर केटु (८,६११ मि.)ले तानिरहेको छ ।

यो टोलीलाई आरोही निमा ग्याल्जेन शेर्पाले नेतृत्व गरेका छन् । उनी डोल्मा आउटडोरका अध्यक्षसमेत हुन् । उनीसँगै ङिमा टेण्डी शेर्पा, टासी शेर्पा, फुरु शेर्पा, छिरिङ शेर्पा, ङिमा दोर्जे तामाङ, दावा शेर्पा र ताइवानी महिला सेन को ईआरएज केटुतर्फ लागेका हुन् । नेपाली टोली आज (बुधबार) राति ८ बजे पाकिस्तानतर्फ प्रस्थान गर्दैछ भने ईआरएज ताइवानबाट सीधै पाकिस्तान आउँदै छिन् ।

ईआरएजले यसअघि शरद ऋतुमा विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंगाको सफल आरोहण गर्दै ताइवानबाट कञ्चनजंगा आरोहण गर्ने पहिलो महिला बनिन् । योसँगै उनले मनास्लु, सगरमाथा, ल्होत्से, धौलागिरी लगायतका हिमालको आरोहण गरिसकेकी छन् । १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने उनको लक्ष्य छ ।
हिउँदे याममा गत वर्ष हिमाल आरोही निर्मल पुर्जासहितको टोलीले केटुको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्यो । तर, अहिलेसम्म यो याममा महिलाले केटुको आरोहण गरेको रेकर्ड छैन । त्यसैले, ईआरएज यतिबेला कीर्तिमान बनाउने दाउमा छिन् । केटुको सफल आरोहण भएपछि उनी हिउँदे याममा केटु चुम्ने विश्वकै पहिलो महिला बन्ने छिन् ।
टोलीको नेतृत्व गरेका निमाले यसअघि सगरमाथा, ल्होत्से, मनास्लु, चोयु, अन्नपूर्ण, सिसापाङ्मा, मुस्तागाता, हिमलुङ, धौलागिरि, कञ्चनजंघा, आमादब्लम लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

साथै, टोलीले राइज मिडिया नेटवर्क र मेरोलाइफस्टाइल डटकमको लोगो अंकित झण्डा समेत केटुमा फहराउने छन् । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै नेटवर्कका बोर्ड सदस्य तथा कीर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पा र प्रमुख सञ्चालन अधिकृत अशोक गुरुङले झण्डा हस्तान्तरण गरेका हुन् ।

यो पनि…
बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’