काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक
काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।
बढ्दो संक्रमणलाई ध्यानमा राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन १८ बुँदे संयुक्त आदेश जारी गरिएको छ । मंगलबार राती १२ बजेबाटै लागू हुनेगरी जारी भएको आदेशमा घर बाहिर वा सार्वजनिक स्थलमा जाँदा सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका मापदण्ड पालना गर्न भनिएको छ ।
यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्न आदेशमा उल्लेख छ । सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड खोप लगाएको कार्ड साथैमा राख्ने र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्न भनिएको छ । साथै, माघ ७ गतेदेखि नै जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।
त्यस्तै, सार्वजनिक सवारी साधनहरुले स्वीकृतप्राप्त सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेशमा उल्लेख छ । ‘सवारी साधनहरुले सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर, पञ्जा लगाउने र सवारी साधनलाई अनिवार्य स्यानिटाइज गर्नुपर्नेछ,’ आदेशमा जनाइएको छ ।
यस्तो छ आदेश :

