कोमाबाट उठ्ला त बलिउड ?
भारतमा लकडाउनले बढी नोक्सान व्यहोर्नेमा चलचित्र उद्योग सबैभन्दा अगाडि आउँछ । त्यहाँ लकडाउन अघिल्लो वर्ष २५ मार्चबाट सुरु भयो । तर, १३ मार्चबाटै त्यहाँका सबै सिनेमा घरहरू बन्द गरिएका थिए । लकडाउन खुलेपछि केही आशा गरिएको थियो । तर, भारतमा पुनः कोरोनाको नयाँ लहर सुरु भएको छ । यस्तो अवस्थामा पनि सिनेमा उद्योगले आशा भने छाडेको छैन ।
सन् २०२१ मा ४३ वटा फिल्म रिलिज हुनेवाला छ । केही विश्लेषकहरूका अनुसार बलिउडलाई भएको घाटाबाट बाहिर निकाल्ने काम यो फिल्महरूले गर्नेछन् ।
घाटाबाट बाहिर निकाल्ने आशा
भारतीय सञ्चार माध्यमका अनुसार भारतमा मल्टिप्लेक्सको अवधारणा ल्याउने सिनियर ट्रेड एनालिष्ट गिरिश वानखेडेका अनुसार भारतमा कुल ९ हजार ६ सय हल छन् । जसमा ५ हजार ३ सय मल्टिप्लेक्स स्क्रिन छन् । थिएटरहरू सधै घाटामा जान्छ भन्ने छैन । किनभने हालसालै घोषणा गरिएका फिल्महरू अब्बल छन्, जसले सिनेमा घरमा भएको घाटालाई पुरा गर्ने विश्वास गरिएको छ ।
दोस्रो कोरोना लहरको असर
हालै कार्निवाल मल्टिप्लेक्सले इन्दौरमा ३ वटा मल्टिप्लेक्स खोलेको छ । कम्पनीका उपाध्यक्ष कुणाल साहनी भन्छन्, ‘मार्चको अन्तिम र अप्रिल सुरुवातको समय फिल्म व्यापारको लागि राम्रो समय मानिन्छ । यो समयमा जुन फिल्म रिलिज हुन्छ, त्यसले २ सय ५० करोडको व्यापार गर्छ । तर, कोरोनाको दोस्रो लहरले सिनेमाहरूको लागि यो समय पनि अलि अफ्ठेरो नै हुने देखिन्छ ।’
मल्टिप्लेक्सको मासिक खर्च १ करोड
मल्टिप्लेक्सको धेरै खर्च भनेको त्यसको भाडा, बिजुलीको बिल, कर्मचारीहरूको पारिश्रमिक, उपकरणहरूको मर्मत सम्भारमा हुनेगर्छ । मल्टिप्लेक्सको मासिक औसत खर्च २५ लाखदेखि १ करोडसम्म हुन्छ । एउटा मल्टिप्लेक्समा करीब २५ देखि ५० जनाले रोजगारी पाएका हुन्छन् । लकडाउनको बेलामा ती विविध खर्च त उति नै थियो तर आम्दानी भने थिएन । अन्य घाटाको त अझ हिसाब नै भएको छैन ।
कोरोनाले डुबायो २०२० को आशा
२०१९ मा बलिउडका ६ फिल्मले दुई सयदेखि तीन सय करोडको बिचमा कमाई गरे । २०२० मा पनि बलिउडको आम्दानीले नयाँ रेकर्ड तोड्ने आशा गरिएको थियो ।
२०२० पहिलो दुई महिना रिलिज भएको लगभग ४० फिल्ममध्ये अजय देवगनको फिल्म ‘तान्हाजी ः द अनसंग वारियर’ ले २ सय ८० करोडको कलेक्सन गरेको गरेको थियो । अन्य फिल्महरू भने त्यति चलेनन् । कोरोना कहर चलिरहेकै बेला इरफान खानको ‘अंग्रेजी मिडियम’ हलहरूमा रिलिज हुने अन्तिम बिग बजेट फिल्म थियो । यसले तीन दिनमा १० करोड कलेक्सन गरेको थियो ।
वेबसाइट तथा एप्लिकेसनको बढी प्रयोग
कोरोनाले एक वर्ष पुरै डुबाएको बलिउड फिल्म नगरी अहिले पुरा उर्जाका साथ काम गर्दैैछ । र, ट्रयाकमा आउने कोशिस गरिरहेको छ । फिल्म निर्माता आनन्द पण्डितका अनुसार कोभिडका कारण लकडाउन हुँदा नयाँ मञ्च पनि दिएको छ । यस्तो अवस्थामा पनि नयाँ कन्टेन्ट कसरी क्रियट गर्ने भन्ने कुरा फिल्म उद्योगले सिकेको छ । वेबसाइट तथा एप्लिकेसनको बढी प्रयोग भैरहेको छ ।
नयाँ बाटोहरू खोज्दै सिनेमा उद्योग
सिनेमा हलहरूमा केही पलको अन्धकारपछि दर्शकहरूको अनुहारमा स्क्रिनको उज्यालो आउँछ । यो उज्यालोले मानिसलाई केही दिनको लागि आफ्नो दैनिक संघर्षको अन्धकार पार गर्न पनि मद्दत गरिरहेको हुन्छ । लकडाउनको एक वर्षपछि पुरा सिनेमा उद्योग नै त्यो उज्यालोको खोजीमा लागेको छ । अब रिलिज हुने फिल्महरूले त्यो उज्यालो छर्ने कोशिस गर्नेछन् । बलिउड कोमाबाट बौरिने छ ।
एजेन्सीको सहयोगमा ।