मुसहर बस्तीमा चिसोको प्रहार : न लुगा, न खाना
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया मुसहर गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेकी थिइन् । । उनी, बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उनको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि रहेका छन् ।
चरम गरिबीले छोएको यस परिवारमा स–साना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्णरूपमा छोपिएका छैनन् । त्यसैगरी, महिलाहरू अनिवार्यरूपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् । पुरुषहरू पनि आधा–अधुरा च्यातिएको लुगाफाटाले सकी नसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन् ।
सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै ‘केही बाँड्ने मान्छे आयो’ भन्दै आए । हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔ’ ‘हजुरले जे ल्याउनुभा’छ, त्यो उनीहरूलाई नै दिनुहोस्’ भन्दै कराइन् । उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लास्टिकबाट ठाउँ–ठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै थिइन् ।
उनले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याएकी छिन् भने ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राखेकी छिन् । उनका कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैनन् । घरभित्रैबाट चिसोले काँप्दै सीताले रुँदै भनिन्– ‘हजुर, हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामीकहाँ कोही पनि फर्केर आउँदैनन् । हामी जाडाले मरिरहेका छौँ । तर, पनि कसैलाई कुनै मतलब छैन ।)
उनले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताइन् । ‘ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू ?’, उनले थप पीडा पोखिन् । उनी र उनका सन्तान पनि सञ्चारकर्मीलाई देखेर असहनीय चिसोको बेला आफ्नो बस्तीमा कुनै कुरा बाँड्न आएका व्यक्ति सम्झेर माग्न थाल्छन् ।
त्यहीँ नजिकै चार वर्षदेखि दमरोगकी शिकार अनरियादेवी सदा झुत्रो कम्बल ओढेर काँप्दै थिइन् । उनले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भनी सहारा मागिन् । उनी भन्छिन्– ‘हजुर मलाई पनि आफूसँगै लैजानुस्, नत्र म यहाँ केही दिनमै मर्छु । मलाई रोगले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न पतिले गराउँछन् न छोराछोरीले नै ।’ उनले आफूलाई चिसो मौसमको दुश्मन दम रोगबाट मुक्ति दिलाइदिन पनि आग्रह गर्दै भनिन् । तातो र पोषिलो खानाको अभावसँगै आफू दुई÷तीन दिनसम्म भोकभोकै पनि रहने गरेको दुखेसो गरिन् ।
उनीजस्तै सोही ठाउँ बस्ने ४५ वर्षीया कौशिला सदा दुई सातादेखि राति सुत्न पाएकी छैनन् । उनले भनिन्– ‘दिनभरि जसोतसो काटे पनि राति आगोकै सहाराले नै बाँच्दै आएको छु ।’ दुई सातादेखिको चिसो स्याँठबाट बालबालिका र आफूलाई बचाउन रातभरि पातपतिंगरको घुर जलाएर सुत्ने गरेको बताउँदै उनले आगो बालेर सुत्दा जल्ने, पोल्ने डरले बालबालिकालाई सुताए पनि आफू खासै नसुत्ने गरेको सुनाइन् । गरिबीका कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधा मदिरामा उडाइदिने गर्छन् ।
आधा पैसाले जहानपरिवारका लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाले न्यानो लुगाफाटा र पोषिलो खानेकुरा पाउन सकेका छैनन् । यस वर्ष मात्रै नभएर वषौंदेखि आफूहरूले जाडो याममा यसैगरी समय काट्ने गरेको पाँच सन्तानकी आमा कौशिलाले बताइन् । दिनमा घाम लागे खुसी हुने र साँझ ढल्दै गर्दै दुःखी भई रातभरि घुरमा आगो तापेर रात बिताउने उनको दिनचर्या बनिसकेको छ ।
बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै धान खेतमा धान बढार्दै गरेका ७२ वर्षीया भुटीदेवी सदाले पनि टाढैबाट कराउँदै आफ्नो पीडा सुनाइन् – ‘हजुर, खान पाएकी छैन । घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन, यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ । कहाँ जाऊँ, के गरूँ र कसरी बाँचूँ भन्दै चिन्ताले पिरोलिएकी उनी घरी आगो ताप्ने र घरी धान बढार्दै थिइन् ।
उनीले दैनिकरूपमा मजदुरी गरेपछि मात्रै घरमा खानपिनको व्यवस्था हुन्छ । एकदिन पनि मजदूरी नगरेमा सात बालबालिकासहित ११ जनाको परिवारका सबै सदस्य भोकभोकै बस्नुपर्ने उनको दुःखेसो छ । अहिले कठ्यांग्रिदो जाडोमा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । काम नपाइएमा परिवारजन भोकै बस्छन्’, भुटीले थपिन् ।, ‘हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस् । एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छु, तर अहिले रोजगारी गर्नु कि ज्यान जोगाउनु ?’
उनीसँगै अर्काे खेतमा एउटा हातै नभएको ११ वर्षीय बालक पनि धान बढार्दै थिए । ‘किशन सदा’ नाम गरेका उक्त बालकले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए । कठ्यांग्रिँदै एउटै हातले धेरथोर धान बटुल्दै गरेका उनी पनि परैबाट भन्दै थिए, ‘हजुर, राहतमा मेरो पनि नाम लेखिदिनुस्, मैले पनि दुई दिनदेखि खान पाएको छैन । मेरो पनि घरमा आमा, तीन दिदीभाइ र मलगायत पाँच जना छौँ । तर, कमाउने कोही नहुँदा एउटै हातले भए पनि काम गरेपछि मात्रै खान पाउँछु ।’
त्यही बस्तीभित्रै सानो खरको झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको छ । उसको अभिभावक सिकिन्दर सदा भन्दै थिए– ‘हजुर आफैँ त बल्लबल्ल कठिनसँग जाडो सहन सकिरहेको छु, तर यत्रो सानो बच्चालाई कसरी जोगाउनु ? डर हुन्छ कहीँ केही नराम्रो नभइहालोस् । घरमा चारैतिरबाट हावा पस्छ । जाडाले मुटु नै हल्लाउँछ । यस्तोमा ओढ्ने, ओछ्याउने नहुँदा मनै रोएर आउँछ । कसैगरी, कतैबाट पनि राहत दिलाइदिनुस् ।’
सो बस्तीका ललित, सरोज, वकिल, जोगिया, दिनेश, कृष्णा, सुरेन्द्र, रामस्नेही, सुमित्रादेवी, पवित्रीदेवी, विदेही, मनतोरियादेवी सदासहित झन्डै एक सय परिवार मुसहरको अवस्था त्यस्तै छ । जुनसुकै व्यक्तिका घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ । अभावै अभावमा जीवन काटिरहेका उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ । चिसो छल्न समयमै उनीहरूलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरा सहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुन बेर नलाग्ने बस्तीका अगुवा रजिन्द्र सदाले बताए ।
वडाध्यक्ष रामविलास रायले चिसो पीडितलाई राहत दिन वडामा केही पनि नरहेको बताए । उनले भने– ‘मैले चाहेर पनि मुसहरहरूका लागि तत्कालै केही गर्न सक्दिनँ, वडा सञ्चालनबाहेक हामीसँग कुनै थप बजेट छैन, सबै कार्यक्रम गाउँपालिकामै सीमित छ । पीडितको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदै केही गर्ने प्रयास भने अवश्य गर्नेछु ।’
सो गाउँपालिकाका अध्यक्षमा भने रामछविला साह तथा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट संघीय सांसदमा महन्थ ठाकुर र प्रदेश नं २ प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित भएका छन् । रोग, भोक र कठ्यांग्रिँदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरको उद्धार र राहतका लागि गाउँपालिका अध्यक्ष, संघीय सांसद र प्रदेशसभा सदस्यले अहिलेसम्म कुनै पहल गरेको गुनासो एकै स्वरमा सबै मुसहरले गरेका छन् ।
उनीहरूका अनुुसार अहिलेसम्म कुनै एनजीओ र आइएनजीओसमेत तिनको हालखबर सोध्न वा कुनै किसिमको राहत बाँड्न आएका छैनन् । मुसहरहरूले आउँदो निर्वाचनमा आफ्नो बस्तीमा मत माग्न जानेलाई आफूहरूले यसै विषयबारे प्रश्न सोध्ने बताए । निर्वाचन भएको चार वर्ष बित्न लाग्दा पनि आफूहरूका लागि अहिलेसम्म जनप्रतिनिधिले कुनै कार्यक्रम नल्याएको र कुनै सहयोग नगरेको बस्तीका अगुवा रजिन्द्रले बताए । उनीसहित सम्पूर्ण बस्तीका पीडितले आफूहरूलाई बढ्दै गरेको चिसोबाट जोगाउनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकार पक्षसमक्ष आफ्ना कुरा पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह पनि गरे ।
यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य