अब समाजले नसोधोस्–‘रातो सारी, चुरा पोते किन नलाको ?’ (भिडियो पनि)
‘पोई खाई’, ‘अलच्छिना’, ‘साइत बिगारी’, ‘अशुभ भयो’ यस्तै शब्दका शिकार हुन्छन् प्रायः एकल महिला । यति मात्र होइन, आफूखुसी कार्य गर्नसमेत वञ्चित छन् । अझ घरपरिवार, समाज र सरकारले हेर्ने दृष्टिकोण नै फरक छ, एकल महिलालाई । हरेक मानिस एक पटक जन्मिन्छ र मर्छ । तर, एकल महिला जन्मिएपछि कयौँ पटक मरेर बाँच्छन् । वास्तवमा हो पनि त्यस्तै, एक पटक छोरी भएर जन्मिएर, अर्को पटक बुहारी भएर अन्मिएर, तेस्रो पटक एकल भएर ।
यसअघि चुरा, टीका, रङ्गिन पहिरन एकल महिलाका लागि कल्पनामा सीमित थियो । भनिन्छ ‘एकता नै ठुलो बल हो’ रातो पहिरनको अभियानले एकल महिलाको जीवनमा पुनः रङ्ग भरियो । एकल महिलासँग आजभोलि कसैले पहिरनका बारे सवाल गर्ने आँट गर्दैनन् । एकल महिलालाई हेर्ने दृष्टिकोण पनि फेरिएको छ । एकल बुहारीको विवाह गरिदिने बुटवल उप–महानगरपालिका–२ का डिल्लीराम शर्मा एक उदाहरणीय व्यक्ति हुन् ।
‘संसारभरि आमाले आफ्ना छोराछोरी लिएर पुनः विवाह गर्छु भन्ने धेरै जना हुनुहुन्छ, बिहे गरेर एकल महिलाको समस्या समाधान हुन्छ भन्ने होइन, तर आफू सक्षम हुन जरुरी छ ।’
नेवार समुदायमा बेला विवाह हुँदा नै सिन्दूर, पोते, चुरा, रातो सारीलगायत विवाहको पहिरनमा सजिएका हुन्छन् । एकल हुँदा यस समुदायमा कुनै विभेद गरिँदैन । यस्ता कयौँ उदाहरण समाज छन् । परिवार, समाज र राज्यले सकारात्मक दृष्टिकोणले हेर्ने हो भने, पक्कै पनि पुनः विवाहको सर्वस्वीकार्य हुन र एकल महिलाको सम्मान हुन सम्भव छ ।
कानुनका नीति–नियम बुझ्दै जाँदा आफू विभेदमा परेको एकल महिला अधिकारकर्मीहरूको अनुभव छ । एकल महिलाको आवाज निकायसम्ममा पुर्याउनका लागि मानव अधिकारका लागि एकल महिला समूहको गठन भएको हो । एकल महिलालाई सशक्त बनाउन, राज्यमा पहुँच पुर्याउन मानव अधिकारका लागि एकल महिला समूहले २७औँ साधारणसभा र पाँचौँ महाधिवेशन ग¥यो । यसमार्फत मेचीदेखि महाकालीसम्मको एकल महिलाको आवाजलाई समेट्न सक्ने नेतृत्व चयन गर्ने उद्देश्य रहेको अधिकारकर्मी बताउँछन् ।
अहिले देशभर १० देखि १५ लाख एकल महिला रहेको करिब तीन दशकदेखि महिला तथा मानव अधिकारको कार्यमा संलग्न रहेकी लिली थापा बताउँछिन् । ‘एकल महिलामा धेरै युवा नै हुनुहुन्छ, जसमा ८६ प्रतिशत निरक्षर हुनुहुन्छ,’ थापाले भनिन् ‘देशभर नै परिवर्तनको संवाहकको रूपमा परिचालित हुनुहुन्छ ।’
मानव अधिकारको लागि महिला, एकल समूहकी संस्थापकसमेत रहेकी थापाले देशभरको एकल महिलाको अभिभावकीय भूमिका संस्थाले खेलेको बताउँछिन् । ‘एकल महिलाको हकहितका लागि अधिकार पाउने बाटो खुलेको छ, एकल महिलाको मुद्दा नेपाल सरकारको योजनामै पारिएको छ ।’
वास्तवमा छोरीको जन्म तीन पटक हुने मानव अधिकारको लागि एकल महिला समूह सुदूरपश्चिम प्रदेशकी अध्यक्ष सुमन शर्माको अनुभव छ । ‘एक पटक आमाको कोखबाट, अर्को पटक विवाह गरेर, तेस्रो पटक बिधुवा भएर, तीन पटक मरेर बाँचेकाले तीनै पटक मेरो जन्म भयो,’ उनले भनिन् ।
एकल महिलाप्रति सरकारको दृष्टिकोण
एकल महिलाप्रति समाज र सरकारको हेपाहा दृष्टिकोण रहेको एकल महिला रुपन्देहीकी नगर सदस्य अरुणा श्रेष्ठ बताउँछिन् । ‘सामाजिक अभियन्ता भएकाले सरकारी कामकाजका लागि ढिलो हुन्छ,’ अरुणा भन्छिन्– ‘पढेलेखेका एकल महिलालाई त समाजमा हेपिन्छ भने भने अन्यको अवस्था कस्तो होला ?’
एकल भएकै कारण सरकारी कागजी प्रक्रियामा झन्झटिलो हुने मानव अधिकारका लागि एकल महिला समूह, लुम्बिनी प्रदेशकी अध्यक्ष जानकी अर्याल सुनाउँछिन् । ‘एकल महिला वैदेशिक रोजगारका लागि जाँदा कागजी प्रक्रिया अझ झन्झटिलो छ, सम्पत्ति हक दाबी गर्न पनि उस्तै समस्या छ,’ अर्यालले भनिन् ।
‘श्रीमान् बितिसक्दा परिवारको साथ सहयोगको खाँचो हुन्छ, पुनः विवाहका लागि परिवारबाट नै स्वीकृत हुनु आवश्यक छ । त्यसै गरी, नारी आफैमा सक्षम हुन आवश्यक छ ।’
सरकारको पक्षबाट एकल महिलाले कुनै समस्या नभोगेको थापाको दाबी छ । ‘एकल महिलाको मुद्दालाई प्राथमिकताका साथ सरकारले हेरेको छ’, थापाले भनिन्– ‘सरकारको नीतिमा नै विभेदकारी थियो, अहिले त्यो परिवर्तन गर्न साथ दिएको छ, जसले गर्दा हक अधिकार उपभोग गर्न पाएका छौँ ।’
पुनः विवाह सर्वस्वीकार्य हुन सकेन
एकल महिलाले पुनः विवाह गर्नु समस्याको समाधान नरहेको महिला अधिकारकर्मीहरूको भनाइ छ । पुरुषको संरक्षणमा महिला सुरक्षित हुन्छ भन्ने समाजको मानसिकता छ । एकल महिलाले पुनः विवाह भन्दा अब्बल र सक्षम हुन आवश्यक रहेको अधिकारकर्मी बताउँछन् । कतिपय परिस्थितिमा बाध्यकारी विवाह पनि गरिएको सुमन बताउँछिन् । ‘एकल महिलासँग विवाह गर्दा ५० हजार दिइने, बालबच्चाको भविष्यका लागि दबाबमा विवाह हुने बाध्यात्मक समस्या छन्,’ सुमन भन्छिन्– ‘एकल महिलाले आफ्नो स्वेच्छाले स्वतन्त्र पूर्वक विवाह गर्न पाउनुपर्छ ।’
‘सामाजिक अभियन्ता भएकाले सरकारी कामकाजका लागि ढिलो हुन्छ, पढेलेखेका एकल महिलालाई त समाजमा हेपिन्छ भने भने अन्यको अवस्था कस्तो होला ?’
एकल महिलाले विवाह गर्न पाउने स्वतन्त्र वातावरण दिने परिवारको मुख्य भूमिका रहने मानव अधिकारको लागि एकल महिला समूह, रुपन्देहीकी अध्यक्ष राधिका श्रेष्ठ बताउँछिन् । ‘बुटवल उप–महानगरपालिका–२ का डिल्लीराम शर्माले छोरीको विवाह गरे जस्तै बुहारीको पनि विवाह गरिदिए,’ राधिकाले भनिन्–‘परिवारले सकारात्मक सोचले एकल महिलालाई साथ र सहयोग गरेमा समाजले हेर्ने दृष्टिकोण बदलिन्छ ।’
‘मानव अधिकारको स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउनुपर्छ,’ उनले भनिन्– ‘पुनः विवाह गर्न चाहनुहुने एकल महिलाले पहिलो मृतक श्रीमान्को परिवारबाट आफ्नो भागको सम्पत्ति लिएर दोस्रो विवाह गर्न पनि पाइन्छ,’ थापाले भनिन्– ‘संसारभरि आमाले आफ्ना छोराछोरी लिएर पुनः विवाह गर्छु भन्ने धेरै जना हुनुहुन्छ, बिहे गरेर एकल महिलाको समस्या समाधान हुन्छ भन्ने होइन, तर आफू सक्षम हुन जरुरी छ ।’
एकल महिलालाई समाजले पुनः विवाह गर्न नदिएको होइन । तर, सम्मानरूपीले नहेरेको मानव अधिकारका लागि एकल महिला समूह बाँकेकी संस्थापक अध्यक्ष शोभा बिसीको गुनासो छ । ‘श्रीमान् बितिसक्दा परिवारको साथ सहयोगको खाँचो हुन्छ, पुनः विवाहका लागि परिवारबाट नै स्वीकृत हुनु आवश्यक छ । त्यसै गरी, नारी आफैमा सक्षम हुन आवश्यक छ ।’ बिसीले भनिन् ।
सरकारसँग एकल महिलाको माग
समावेशिताका आधारमा एकल महिलालाई आरक्षण दिनुपर्ने एकल महिला समूहको माग रहेको छ । नेपालको संविधानले नै एकल महिलाको विषयलाई मौलिक हकभित्र सीमान्तकृत महिला भनेर नै समेटेको थापा बताउँछिन् । एकल महिलालाई अवसरको खाँचो रहेकाले निर्णायक तहमा पु¥याउन आवश्यक रहेको थापाले जनाइन् । ‘संविधानले दिएको समानता र समावेशिताका आधारको सिद्धान्तभित्र प्राथमिकतामा राखेर एकल महिला आरक्षण छुटाउन जरुरी छ,’ थापाले भनिन् ।
विगतका दिनहरूमा एकल महिलाको पहिरनको लडाइँ थियो । अबको लडाइँ आर्थिक क्रान्ति रहेको सुमनको भनाइ छ । ‘जबसम्म हामी आर्थिक रूपमा सशक्त हुँदाहुँदै तबसम्म विभेद हट्दैन,’ उनले थपिन्, ‘क्षमताअनुसारको सीप, रोजगार सरकारले उपलब्ध गराउनुपर्छ ।’
एकल महिलालाई सक्षम बनाउन र सरकारी तवरबाट नै आरक्षणको सुविधा हुनुपर्ने सुमनको माग छ । ‘सम्पूर्ण दलले एकल महिलालाई पनि आरक्षण दिनुपर्छ,’ सुमन भन्छिन्– ‘केन्द्रदेखि स्थानीय तहसम्म एकल महिलाका लागि बजेट छुटाउनुपर्छ ।’
‘साइतमा बिधुवा देखापरेमा अलच्छिन लाग्छ, शुभ कार्यमा जानु हुँदैन, ‘शुभ कार्यमा जानु अगावै अनुहार देखिएमा अशुभ हुन्छ’, ‘पोई खाई’ जस्ता शब्दको शिकार भएँ,’
एकल महिलाको ६ प्रतिशत भोट छ । स्थानीय चुनाव आउँदै गर्दा सरकारले एकल महिलाको लागि पद छुटाउनुपर्ने अरुणाको माग छ । ‘दलित, मुस्लिम, जनजाति आरक्षणजस्तै एकल महिलाका लागि पनि आरक्षण छुटाउनुपर्छ ।’ अरुणाले भनिन् ।
एकल महिलाको लागि शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने राधिकाको माग छ । ‘स्वास्थ्य बिमा एकल महिलाको लागि निःशुल्क होस्, जसले गर्दा सामान्य रोग लाग्दा पनि उपचार लिन सकियोस्,’ उनले थपिन्, ‘शिक्षामा एकल महिलाको आरक्षण तथा छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था हुनुपर्छ ।’
एकल महिला आर्थिक रूपले सशक्त नरहेको, न्यायका लागि बोल्न नसक्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच पुग्न नसकेको बिसी बताउँछिन् । अबका दिनमा सरकारले एकल महिला आरक्षण कोटा दिनु आवश्यक रहेको छ । जसले एकल दिदीबहिनीले सजिलै अवसर पाउने बागमती प्रदेशकी अध्यक्ष, विष्णुमाया पाण्डे आशा व्यक्त गर्छिन् ।
आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिकरूपमा महिला सक्षम हुन आवश्यक रहेको रुपन्देहीकी सचिव रीता सेना बताउँछिन् । ‘जात, भौगोलिक समावेशिता भएजस्तै राजनीतिकमा पनि एकल महिलाको आरक्षण कोटा छुटाउन आवश्यक छ,’ रिताले भनिन्, ‘राजनीतिमा महिलाको पहुँच भएमा नीति निर्माणसम्म सजिलै पहुँच पुग्छ ।’
सरकारले एकल महिलालाई सीपमूलक, उद्यममूलक तालिम दिएर धितोरहित ऋण उपलब्ध गराउनुपर्ने नीतिको खाँचो
फेरिँदै समाज
सक्षम भएमा समाजले हेर्ने दृष्टिकोण पनि फेरिने महिला अधिकारकर्मीहरूको भनाइ छ । नेवार समुदायमा बालिका उमेरमा नै ‘बालविवाह’ हुने भएकाले पहिरनमा कुनै विभेद नरहेको एकल महिला समूह रुपन्देही नगर सदस्य अरुणा श्रेष्ठ बताउँछिन् । एकल महिला शुभ काममा जान नहुने रुढीवासी धारणा समाजमा रहेको छ । ‘एकल महिलाले रातो चुरा, पोते, टीका लगाउन नहुने कुनै धर्ममा उल्लेख गरिएको छैन,’ श्रेष्ठ भन्छिन्– ‘घरमा कुनै पनि कार्यका लागि विभेद छैन, अरू परिवारले पनि एकल महिलालाई समान दृष्टिकोणले हेर्नुपर्छ ।’
रातो पहिरनको अभियानले एकल महिलालाई हेर्ने दृष्टिकोण फेरिएको राधिका बताउँछिन् । रुपन्देहीमा ७० वर्षीया ज्येष्ठ महिला आमाहरूबाट रातो चुरा, रातो टीका, रातो सारी दिएर रातो पहिरनको अभियानको शुुरुवात गरेको उनले सुनाइन् । ‘यो अभियानको सुरुवाती चरणमा समाजमा विकृति ल्याएको आरोप लगाइयो, हिन्दु पण्डितहरूले संस्कार विरोधीसमेत भने’ राधिकाले भनिन्– ‘यही अभियानपछि हरेक हरितालिका तीजमा हामीले रातो पहिरन लगाएर निरन्तरता दिँदै आएका छौँ, अहिले एकल महिलाले रातो पहिरन लगाउँदा कसैले प्रश्न गर्दैनन्, यो हाम्रो लागि ठुलो उपलब्धि हो ।’
‘ रातो पहिरन अभियानपछि हरेक हरितालिका तीजमा हामीले रातो पहिरन लगाएर निरन्तरता दिँदै आएका छौँ, अहिले एकल महिलाले रातो पहिरन लगाउँदा कसैले प्रश्न गर्दैनन्, यो हाम्रो लागि ठुलो उपलब्धि हो ।’
एकल महिलालाई हेर्ने समाजको कुदृष्टि परिवर्तन गर्न परिवारको ठुलो सहयोग हुने राधिकाको अनुभव छ ।
२०५८ मा पहिलो एकल राष्ट्रिय भेला भएको थियो । त्यहाँ सहभागी हुँदा आफू मात्र एकल नभएर आफूजस्ता सयौँ दिदीबहिनी देख्दा आफूलाई सम्झाउने बाटो पाएको पाण्डे बताउँछिन् । ‘त्यो बेलामा १७ जिल्लाका दिदीबहिनी एकदम रोएका थियौँ,’ पाण्डेले भनिन् ।
अन्तरजातीय विवाहमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको सुमन बताउँछिन् । ‘साइतमा बिधुवा देखापरेमा अलच्छिन लाग्छ, शुभ कार्यमा जानु हुँदैन, ‘शुभ कार्यमा जानु अगावै अनुहार देखिएमा अशुभ हुन्छ’, ‘पोई खाई’ जस्ता शब्दको शिकार भएँ,’ आफूले भोगेका पीडालाई सम्झिँदै सुमन भन्छिन्– ‘आफूले भोगेको पीडा अरूले भोग्न नपरोस्, अझ दुर्गमका एकल महिलाले कतिको पीडा खेपे होला, त्यसलाई निराकरण गर्न महिला अभियानमा लागेँ, अहिले समाजले हेर्ने दृष्टिकोण फेरिएको छ ।’
सरकारले एकल महिलालाई सीपमूलक, उद्यममूलक तालिम दिएर धितोरहित ऋण उपलब्ध गराउनुपर्ने नीतिको खाँचो रहेको अर्याल बताउँछिन् ।
फोटो/ भिडियोः राजकुमार श्रेष्ठ
यो पनि पढ्नुहोस् :
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
साक्षर नारीनै हिंसामा, निरक्षरको त गणनै छैन
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !