English

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन् । हो, कम्युनिस्ट नेताहरूको श्रमजीवी वर्गको प्रतिनिधि पात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सकेनन्, सिर्जनालाई राम्रो भने र एकै छिन भावुक बन्दै हेरे।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन स्थल प्रज्ञा भवनको एउटा कुनामा क्यान्भासमा सजिएको उक्त सिर्जनाले उनलाई मात्र होइन, त्यहाँ उपस्थित सबै कम्युनिस्ट नेतालाई एक पटक टक्क अड्यायो । उनीहरूले पनि यो झलक प्रचण्डकै आँखाबाट हेरे र भने– क्रान्ति उद्योग तथा कृषिबाटै थाल्ने हो, त्यसैले यो कृतिले कम्युनिस्ट चरित्रको मुखाकृति भरिदिएको छ । यो सिर्जना मात्र नभएर सत्य हो, हामी नेपालीको वास्तविक धरातल यही हो ।

कलाकार केशवराज खनालले प्रचण्डलाई ड्राइभर बनाएर औद्योगिक क्रान्तिको बिम्बात्मक कला सिर्जना गरेका छन् । त्यही भवनमा हिजोदेखि समाजवादी क्रान्तिको बहस चलिरहेको छ, अनि यता कलाकार खनालले त्यस बहसका केन्द्रबिन्दु प्रचण्डका हातमा स्टेरिङ थमाइ दिएका छन् । त्यो पनि ट्याक्टरको । यसको सङ्केत यो पनि हो कि उनले घुमाउने ट्याक्टरको स्टेरिङले यो हलको समाजवादी बहससँगै क्रान्तिको पनि नायकत्व प्रदान गर्न सकोस् ।

आफैँ ट्याक्टर ड्राइभर बनेको सिर्जनामा टक्क अडिएर अध्यक्ष प्रचण्डले भने, “राम्रो छ, राम्रो गर्नु भएछ, लक्ष्य समात्ने कलाकृति आएको छ ।”

चालक प्रचण्डको सिर्जना मात्रै होइन समाजवादी दृष्टिकोणका सिर्जनाले यहाँको हल भरिएको छ । भित्र समाजवादी क्रान्तिको विचार मन्थन भइरहेको सन्दर्भ पारेर त्यसकै एउटा कुनामा क्रान्तिकारी कलाकारले समाजवादी क्रान्तिको सन्देश छरेका छन् । चित्र हेरेर उपस्थित नेता तथा कार्यकर्तालाई एक पटक झस्काइदिएका छन् कलाकारले । चित्रले सबैलाई एक पटक वर्गीय धरातलतर्फ फर्काइदिएको छ ।

आज चित्र प्रदर्शनीको अवलोकन गर्न पुगेका अध्यक्ष प्रचण्ड पनि त्यो देखेर दङ्ग परे । आफैँ ट्याक्टर ड्राइभर बनेको सिर्जनामा टक्क अडिएर अध्यक्ष प्रचण्डले भने, “राम्रो छ, राम्रो गर्नु भएछ, लक्ष्य समात्ने कलाकृति आएको छ ।” उनीसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, नेतृ पम्फा भुसाललगायत नेता कार्यकर्ताले चाख पूर्व सिर्जना अवलोकन गरे । कलाकारले कुनै राजनीतिक पार्टीको महाधिवेशनमा चित्र सिर्जनामार्फत नौलो अभ्यासको थालनी गरी नेतालाई घच्घच्याउने प्रयासको सहभागीले सराहना गरेका छन् ।

प्रचण्डलाई चालक बनाइदिने चित्रकार खनाल भन्छन्, “मुलुकमा समाजवादी क्रान्ति आवश्यक छ, क्रान्ति त्यतिकै सफल हुँदैन त्यसको आधार भनेको औद्योगिक क्रान्ति हो भनेर समाजवादी दृष्टिकोण पस्किएको हुँ ।” खनालले कृषि क्रान्ति र औद्योगिक क्रान्तिको विषय आफूले चित्रमार्फत उठाएको जानकारी दिए। हिमाल, पहाड, तराईमा क्रान्ति आवश्यक छ, विगतमा जनयुद्धको नेतृत्व गरेका अध्यक्ष दाहालले अब कृषि क्रान्तिको नेतृत्व पनि लिनुपर्छ भनेर चित्र सिर्जना गरेको खनालको भनाइ छ ।

मुलुकमा जति मानिस छन् श्रमसँग जोडिनुपर्छ, उनीहरूले उचित मूल्य पाउनुपर्छ भनेर प्रचण्डलाई साङ्केतिक रूपमा गाडी हाँक्न लगाइएको हो । कृषि क्रान्तिको सवालमा अध्यक्ष दाहालको राजनीतिक दस्ताबेज मै आइसकेको छ । उनले श्रमसँग जोड्ने कुरा राम्रो विषय उठान भएको प्रतिक्रिया दिए । “एक्सन कमरेड अध्यक्षबाटै हुनुपर्छ”, चित्र अवलोकनका क्रममा खनालले राखेको भनाइमा अध्यक्ष दाहालले भने, “अँ एकदम ।”

अर्का ८० वर्षीय अग्रज कलाकार जुलुमलाल चित्रकारले मुलुकको गरिबीको गम्भीर समस्या रङको माध्यमबाट देखाए । सुत्केरी उतार्न समस्या छ, धान राख्ने घ्याम्पो खाली छ, बच्चाहरू भोकै छन्, मानिस मागेर गुजारा चलाउन विवश छन् । यस्तै यस्तै विषय जोडिएका चित्र चसक्क पार्ने खालको छ । “यसले हेर्ने बित्तिकै थाहा हुन्छ, मुलुकमा गम्भीर सामाजिक समस्या छ”, उनले थपे, “कलामार्फत हामीले नेपाली समाजको रूपान्तरणको विषय उठान गर्न खोजेका छौँ ।” सिर्जनामार्फत चित्रकारले मुलुकमा आमूल परिवर्तनको खाँचो औँल्याइदिएका छन् । ‘व्यवस्था परिवर्तन त भयो तर अवस्था उस्तै छ’, कलाकारका सिर्जनाले त्यही बोलिरहेको छ ।

कलाकार खेम विकेले कम्युनिष्टहरुले मुठ्ठी बाटेर गरिने लाल सलामको अर्थ प्रस्ट्याउने जमर्को गरेका छन् । उनको चित्रमा मुठ्ठीको औचित्य के, भनेर कम्युनिस्ट जमघट भएको प्रज्ञा भवनमा गम्भीर प्रश्न छाडेका छन् । “त्यो मुठ्ठीले मासान्तवादको जिब्रो समाउन सकोस् भन्ने सन्देश हो”, उनले चित्रको उद्देश्यबारे भने । चित्रकला प्रदर्शनीमा समाजवादको यात्रालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । वित्तीय पुँजीवाद, औद्योगिक क्रान्ति, समानता र समृद्धिका चित्र प्रस्तुत गरिएको छ । थाङ्का शैलीबाट जनवादी कलालाई कलाकार कमानसिंह लामाले चित्रमार्फत अभिव्यक्त गरेका छन् ।

कलाकार तथा कला समीक्षक देवेन्द्र थुम्केलीको सिर्जनामा हिजोको दैनिक जीवन कसरी चलिरहेको छ भनी आरन चलाउने मजदुरको कथा उनिएको छ । थुम्केलीले वित्तीय पुँजीवादको विषयलाई सिर्जनामार्फत दृष्किोण प्रस्तुत गरेको बताए । पुँजीपतिको हातमा स्रोत र साधान पुगेको कुरा चित्रमा देखाइएको छ । चिलले साना चरा खाए जस्तो गरेर बहुराष्ट्रिय कम्पनीको हातमा उत्पादन गएको कुरालाई जोड दिन खोजिएको बताउनुहुने थुम्केलीका यहाँ समाजवादी यात्राका ६ वटा चित्र प्रदर्शनीमा छ ।

कलाकारले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धे दृष्टिलाई कलात्मक रूपमा उधिनेका छन् ।

यही ११ गतेबाट सुरु प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति छन् । कलाकारले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धे दृष्टिलाई कलात्मक रूपमा उधिनेका छन् ।

प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशवराज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार रानामगर, राजकुमार खड्का, लिलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम विके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेललगायतका कलाकारका तीन दर्जन बढी कलाकृति समावेश छ । अखिल नेपाल ललितकला सङ्घको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको चित्रहरू समावेश छ । सङ्घका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहु आयामिकतालाई कलात्मक रूपमा उतारेको बताए ।

माओवादी आन्दोलनको विशिष्ट भूमिका झलक कलाकृतिमा देखिएको छ । यो सम्भवतः नेपालमा समाजवादको विषय लिएर गरिएको यो पहिलो कला प्रदर्शनी हो । प्रदर्शनीले देशलाई समृद्धि दिशातर्फ लैजान राजनीतिक नेतृत्वले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।

यो पनि…
प्रचण्डले भने– राप्रपा र हाम्रो गोत्र मिल्छ
एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी
धुलिखेल जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड
एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्