English

‘ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी हुन्’



सरकारले आज विभिन्न कार्यक्रम गरी प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज ‘सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ दिवस मनाएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विभिन्न मन्त्री, सङ्घसंस्थाका प्रतिनिधि, ज्येष्ठ नगारिकलगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमका वक्ताले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएको भन्दै उनीहरूको सामाजिक सुरक्षा, स्वाथ्य हेरचाह र सम्मानमा राज्य, विभिन्न सङ्घसंस्थाका साथै प्रत्येक घरपरिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा, हेरचाह राज्यको दायित्व भएको र त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराएका छन् ।

। साथै, उनले सभ्य समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र हेरचाह अपरिहार्य रहेकामा जोड दिँदै यसमा सबै निकाय र घरपरिवारको पनि उत्तिकै जिम्मेवारी रहेको बताए ।

यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानअनुसार सामाजिक सुरक्षाको हक र ज्येष्ठ नागरिकको हक कार्यान्वयन गर्नु समाजवादको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकारले जनताका मौलिक हक कार्यान्वयनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाएको बताए । उनले ९० वर्ष उमेर पुगेका र थला परेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै गएर उपलब्ध गराउन सरकारले आवश्यक व्यवस्था मिलाएको जानकारी गराए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले केन्द्रीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकका लागि जमघट हुने, छलफल गर्ने र भजनकीर्तन गर्ने विभिन्न केन्द्र तथा पार्कको निर्माण गरिरहेको बताउँदै सरकारले ज्येष्ठ नागरिक उपचारका लागि छुट्टै अस्पताल बनाउने बारेमा छलफल गरिरहेको जानकारी गराए। उनले ज्येष्ठ नागरिकलाई वृद्धाश्रम राखेर समस्या समाधान नहुने बताउँदै उनीहरुलाई माया, स्नेह र सम्मान आवश्यक पर्ने भएकाले यसमा सरकारसँगै सबै घर परिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

महिलामन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको सम्मान र उचित हेरचाह बिना सुसंस्कृत सभ्य समाजको निर्माण हुन नसक्ने बताउँदै सरकारले कानुनअनुसार ज्येष्ठ नागरिकलाई प्राप्त सेवा सुविधा कार्यान्वयनमा पहलकदमी लिएको उल्लेख गरिन् । उनले काठमाडौंकाे गोठाटारमा ५० बेडसहितको ज्येष्ठ नागरिक अस्पताल र १ सय ७० जना क्षमताको वृद्धाश्रम बनाउने कार्यको थालनी यही आर्थिक वर्षबाट आरम्भ भएको समेत जानकारी गराइन् ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडा, शताब्दी पुरुष डा. सत्यमोहन जोशी, ज्येष्ठ नागरिक राष्ट्रिय महासङ्घका अध्यक्ष छत्र प्रधानलगायतले ज्येष्ठ नागरिकले राज्य र समाजका लागि गरेको योगदानको कदर गर्दै ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य उपचार र सम्मानमा सबैको योगदान आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश सचिव खतिवडाले वाचन गरेर सुनाएका थिए । यसैगरी, प्रधानमन्त्री देउवाले डा. जोशीलाई माला र खादा लगाई सम्मान गरेका थिए भने अन्य ज्येष्ठ नागरिकलाई मन्त्री रेग्मीले सम्मान गरेकी थिइन् ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्