नर र नारायणको अद्भूत कथाः को हुन् नर र नारायण ?
एक असुर थिए, दम्बोद्भव । उनले सूर्यदेवको तपस्या गरे र सूर्यदेव प्रसन्न भएर उनलाई वरदान माग्न भने । उनले अमरत्वको वरदान मागे । सूर्यदेवले यो सम्भव नभएको बताए । त्यसपछि उनले एक हजार दिव्य कवचको सुरक्षा मिल्ने वरदान मागे । साथमा उनले यो पनि मागे कि, यी मध्ये एक हजार वर्ष तपस्या गरेकोले मेरो एउटा मात्रै कवच तोड्न सकोस् । र, जसले यी सबै कवच तोड्छ, तत्काल मेरो मृत्यु हुनेछ ।
सूर्य देवता धेरै चिन्तित भए । उनी अब उक्त दानवले यसको दुरूपयोग गर्छ भनेर चिन्तित थिए । तर उक्त दानवको तपस्याका कारण सूर्यदेव वरदान दिन वाध्य थिए । सो कवचले सुरक्षित भएपछि उसले त्यही गर्यो, जो पहिल्यै सूर्यदेवले अनुमान लगाइसकेका थिए ।
उक्त राक्षस सहस्र कवचको नामले चिनिन थाल्यो । तर उसले आफ्नो अत्याचार बढाउँदै जान थाल्यो । अर्कोतिर सतीदेवीका पिता दक्ष प्रजापतिले आफ्नी छोरी मूर्तिको विवाह व्रह्माजीका मानस पुत्र धर्मसँग गरे । उनले सहस्र कवचको बारेमा सुनेकी थिइन् । त्यसैले उनले उक्त राक्षसलाई नष्ट गर्नको लागि भगवान् विष्णुसँग प्रार्थना गर्न थालिन् । विष्णुले उनलाई उक्त राक्षस मार्ने आश्वासन दिए ।
कालान्तरमा मूर्तिले दुई जुम्ल्याहा पुत्र जन्माइन्, जसको नाम नर र नारायण भयो । दुवैका फरक शरीर भए पनि आत्मा एक थियो । दुई शरीरमा एक आत्मा । विष्णुले एक साथमा दुई शरीरमा नर र नारायणको रूपमा अवतरण गरेका थिए । उनीहरू बढ्दै ठूला हुँदै गए ।
एकपटक दम्बोद्भव उक्त वनमा आयो । त्यहीबेला उसले एक तेजस्वी मानिस त्यहाँबाट आफूतर्फ आइरहेको देख्यो र डर उत्पन्न भएको महसुस गर्यो । त्यो मानिसले भन्यो कि, म नर हुँ र तिमीसँग युद्ध गर्न आएको हुँ । राक्षसले हाँस्दै भन्यो, तिमी मेरो बारेमा के जान्दछौ ? मेरो कवच मात्र उसले नै तोड्न सक्छ, जसले एक हजार वर्ष तपस्या गरेको छ ।
नरले हाँस्दै भने, म र मेरो भाई नारायण एकै हौँ, उ मेरो साटो तपस्या गरिरहेको छ । र, म उसको साटो युद्ध । युद्ध शुरु भयो र सहस्र कवचलाई आश्चर्य भइरह्यो कि, नारायणको तपले नरको शक्ति बढिरहेको थियो । जब हजार वर्षको समय पूरा भयो, नरले सहस्र कवचको एउटा कवच तोडिदिए ।
तर सूर्यको वरदानअनुसार, जब कवच तोडियो, तब नर मृत भएर जमिनमा लडे । सहस्र कवचले एउटा कवच तोडिएपनि नर मर्यो भनेर खुशी भयो । त्यहीबेला सहस्र कवचले नर आफूतिर दौडेर आएको देख्यो । उसले भर्खर मरेको यो व्यक्ति कसरी दौडेर आइरहेको छ ? भनेर आश्चर्यचकित भयो ।
वास्तविकता यो थियो कि दौडिरहेका व्यक्ति नरजस्तै देखिने उनका भाई नारायण थिए । उनी दम्बोद्भव तर्फ नभएर आफ्ना भाई नारायण भएतिर दौडिरहेका थिए । दम्बोद्भवले नारायणलाई अट्टहास गर्दै आफ्ना भाईलाई सम्झिन भन्यो । नारायण शान्तिपूर्वक मुस्कुराए । फेरि नरको नजिक बसेर उनले केही मन्त्र पढे र चमत्कारिक रूपमा नर जीवित भए ।
त्यही बेला नै दम्बोद्भवले एक हजार वर्ष तपस्या गरेमा मात्रै मृत्युञ्जयको मन्त्रमा सिद्धि पाउने र यस्तो नारायणले एक हजार वर्ष शिवजीको तपस्या गरेर सिद्धि पाएको चेत पायो । त्यसपछि नारायणले दम्बोद्भवलाई लल्कारे र नर तपस्यामा बसे । हजार वर्षको युद्ध पछि एउटा कवच तोडियो र नारायणको मृत्यु भयो । फेरि नरले आएर नारायणलाई पुनर्जीवित गरे । र यो चक्र यसैगरी चलि नै रह्यो ।
यसै क्रमले ९ सय ९९ पटक युद्ध भयो । एक भाई युद्ध गर्दा अर्कोले तपस्या गर्थे । हरेक पटक एकले अर्कालाई पुनर्जीवित गरिदिन्थे । जब ९ सय ९९ कवच तोडिए तब, सहस्र कवच अब मेरो मृत्यु हुने भयो भन्ने सम्झिन थाल्यो ।
सहस्र कवच युद्ध त्यागेर सूर्यदेवको शरणमा भागेर गयो । नर र नारायण उसलाई पछ्याउँदै गए र उसलाई आफ्नो जिम्मा लगाउन सूर्यदेवसंग अनुरोध गरे । तर सूर्यदेव आफ्ना भक्त दिन राजी भएनन् । त्यहीबेला नारायणले आफ्नो कमण्डलूबाट जल निकालेर सूर्यदेवलाई श्राप दिए । किनभने सूर्यदेवले उक्त असुरलाई बचाउने प्रयास गरेका थिए ।
नारायणले उनलाई यस पापमा भागीदार भएकोले तपार्ई पनि योसँगै कर्मफल भोग्नको लागि उसको साथमा जन्म लिनुपर्नेछ भन्दै श्राप दिए । यसका साथै त्रेता युग सकियो र द्वापर युगको आरम्भ भयो ।
केही समयपछि कुन्तीले वरदानको परीक्षा लिन भन्दै सूर्यदेवको आह्वान गरिन् र कर्णको जन्म भयो । तर यो कुरा कमैलाई थाहा छ कि, कर्ण मात्र सूर्यपुत्र थिएनन्, उनीभित्र सूर्य र दम्बोद्भव दुवै थिए । जस्तै नर र नारायणमा शरीर दुई, आत्मा एक थियो । त्यस्तै कर्णको शरीरमा दुई आत्माको वास छ, सूर्य र सहस्र कवच । त्यस्तै अर्काेतर्फ नर र नारायण कृष्णको रूपमा जन्मिए ।