भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू
घोराही–१५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुसी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उनलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले । अर्को दुई वर्षपछि उनको पुनः गर्भ रह्यो । सन्तान पेटमा आएपछि उनले जन्माउने विचार गरिन् तर घरपरिवारले गर्भ हेरेर छोरी भए फाल्ने र छोरा भए राख्ने सल्लाह दिए तर उनले छोरा, छोरी जे भए पनि जन्माउने विचार गरिन्, छोरी नै जन्मिन् । तेस्रो सन्तान छोरी जन्मिँदा उनलाई सासू ससुराले विभिन्न लाञ्छना लगाएको उनलाई ताजैजस्तो लाग्छ । “श्रीमान्ले कहिल्यै नराम्रो गर्नुभएन”, उनले भनिन्, “घोराहीमा स्थापना भएको ‘सामाजिक रूपान्तरणका लागि महिला मञ्च’ मा आबद्ध भएपछि घरपरिवारले गर्ने व्यवहार नै फरक पाएँ ।” आफ्नो वंश नाश हुने जनाउँदै दोस्रो बिहे गर्न दबाब दिने सासू ससुराको धारणामा पनि परिवर्तन आएको उनी बताउँछिन् । अहिले उनकी जेठी छोरी अमेरिकामा छिन् भने माहिली छोरी दाङमै नर्सिङ अध्ययन गर्दै छिन् । कान्छी १० मा पढ्दै छिन् । छोरा र छोरीबीच विभेद नगरी समान अवसर दिइएकाले छोरीहरू अगाडि बढ्न सकेको उनी बताउँछिन् ।
घोराही उपमहानगरपालिका–६ की २५ वर्षीया सुशीला चौधरीले चार पटक गर्भपतन गराइन् । दुई छोरी पाएपछि अर्को पनि छोरी हुने डरले गत मङ्सिरमा उनी मेरी स्टोप्स सेन्टरमा गर्भपतन गराएर फर्किइन् । दुई छोरी जन्माइसकेकी सुशीलाले अर्को सन्तान पनि छोरी हुने डरले यसो गरिएको बताइन् । पहिलो पटक गर्भपतन गर्दा खासै असर नभए पनि दोस्रो पटकमा भने गर्भपतनपछि अत्यधिक रक्तस्राव भएको थियो । “हामीलाई(छावा)छोरा चाहिएको थियो, बजार गएर मेसिनमा हेर्यौँ, (छाइ) छोरी रैछ, फालेर आयौँ” उनले भनिन् । श्रीमान्सँगै स्वास्थ्य संस्था पुगेकी चौधरीले श्रीमान्को सहमतिमा गर्भपतन गराइएको बताइन् । श्रीमान् घरको एक्लो छोरा भएको र उनले जसरी भए पनि छोरा चाहिन्छ भनेर कर गरेकाले पटक पटक गर्भ परीक्षण गर्दै छोरी देखिएपछि गर्भपतन गराइएको उनले सुनाइन् । गर्भपतनबाट सुशीलाको शरीर कमजोर भइसकेको छ, जिउमा हाड र छाला मात्र बाँकी छ तर पनि श्रीमान्ले छोरा जन्माउने आशा अझै मारेका छैनन् ।
घोराही –१४ कि २६ वर्षीया अर्की महिलाले गत वर्ष भारतको लखनौमा गएर आफ्नो गर्भपतन गराइन् । पहिलो सन्तान छोरी थियो । गर्भमा छोरी भएको जानकारी पाएपछि उनीसँग उनकी आमाले साथमै लगेर गर्भपतन गराएकी थिइन् । आमाले नातिको चाहना गरेकाले उनको मनको इच्छा पूरा गर्न गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गराइएको उनले बताइन् । “हामी चार दिदीबहिनीका छोरी मात्रै छन् । त्यसैले आमाले गर्भपतन गरेर भए पनि नाति चाहिन्छ भनेकाले उहाँको इच्छा पूरा गर्न यसो गरिएको हो । छोरो पाउने आशा गरेका थियौँ, डाक्टरले छोरी छ भन्यो, अनि फाल्यौँ” उनले भनिन् ।
दाङलगायत नजिकका जिल्लामा छोरो पाउने आसमा अधिकांश महिलाले गर्भमै छोरीको हत्या गर्न थालेका छन् । आफू मरेपछि किरिया गर्ने, आफ्नो वंश धान्ने र अंश खाने बुढेसकालको सहारा छोरो हो भन्ने जनाउँदै मानिसमा भ्रूण हत्या गर्ने चलन निकै बढेको अधिकारकर्मी सुशीला आचार्यले बताइन् । पछिल्लो समय “छोरी पराइ घर जान्छे, छोरो बुढेसकालको सहारा बन्छ” भन्ने जस्ता सोच र मान्यता राखेर परिवारको दबाबमा वा आफूखुसी आमाहरूले गर्भमै लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने गरेको उनको भनाइ छ । प्रायः दुई वा सोभन्दा धेरै छोरी भएका महिलाले गर्भको पहिचान गर्ने र छोरी भए जन्माउन नचाहने गरेका छन् ।
अवसर पाए छोरीहरू छोरा जस्तै काम गर्न सक्छन् र उनीहरू पनि समाजका लागि उत्तिकै जिम्मेवार हुन सक्छन् भनेर सचेतना जगाई भ्रूणहत्या रोक्न दाङमा चार वर्षअघि छोरीका आमाहरूको समूह नै गठन भएको छ । छोरी पाएकै कारण समाजमा आउने विभिन्न लाञ्छना र विभेदविरुद्ध आवाज उठाउन ‘सामाजिक रूपान्तरणका लागि महिला मञ्च’ नामको संस्था ३२ आमाको संलग्नतामा खोलिएको हो । छोरीका आमाहरूको आत्मबल बढाउन र छोरीको महत्त्वका बारेमा छलफल गर्नका लागि समूह खोलिएको संस्थाका संस्थापक अध्यक्ष गोमा महराले जानकारी दिइन् ।
छोरी मात्रै भएका परिवारलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले सङ्गठित रूपमा आवाज उठाउँदा सुनुवाइ हुने देखेर मञ्च स्थापना गरिएको संस्थाकि सचिव सुविता आचार्यले बताइन् ।
छोरी मात्रै जन्माएका आमा सङ्गठित भएमा परिवार र समाजबाट आउने दबाबविरुद्ध आवाज उठाउन सजिलो हुने हुनाले समूह गठन गरिएको दुई छोरीका आमा महराले बताइन् । मञ्चमा प्रत्येक महिना बैठक बसेर आमाहरूका गुनासा र समस्याका बोरमा छलफल हुन्छ । छोरी छोराभन्दा कम छैनन् र सन्तान बराबरी हुन् भन्ने सन्देश दिइने र लिङ्ग पहिचान गरेर गर्भपतन गर्नुहुँदैन भन्नेबारेमा छलफल हुने गरेको अधिवक्ता महराले बताइन् । “आमाहरू नै सक्रिय भएर छोराछोरीमा विभेद गर्नुहुँदैन भन्ने ज्ञान बाँड्न थालेका छौँ”, उनले भनिन् । पढेलेखेकाहरूले पनि छोरा र छोरीमाथि विभेद गर्दा छोरीहरू जन्मिन नपाउँदै गर्भमा मर्ने गरेको अवस्था थियो । गर्भमा भ्रूण राख्ने आमाहरू अब परिवार वा समाजमा आउने विभिन्न खालका आरोप र अपमान सामना गर्न सक्ने भएका छन् ।
छोरी मात्रै भएका परिवारलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले सङ्गठित रूपमा आवाज उठाउँदा सुनुवाइ हुने देखेर मञ्च स्थापना गरिएको संस्थाकि सचिव सुविता आचार्यले बताइन् । संस्थाको स्थापनापछि कुनै सदस्यलाई समस्या परेका बेला सबै मिलेर आआफ्ना क्षेत्रबाट सहयोग गर्ने गरेको र लैङ्गिक समानताका विषयमा बेलाबेलामा कक्षा पनि सञ्चालन गर्ने गरिएको दुई छोरीकी आमा उनले बताइन् ।
वरिष्ठ स्टाफ नर्स राधा पौडेल भन्छिन्, “छोराको चाहनामा पटक पटक गर्भपतन गर्ने महिलाको सङ्ख्या दिनदिनै बढेको छ, पटक पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । पाठेघरमा घाउ हुने, अत्यधिक रक्तस्राव हुने र पाठेघर पातलो भएर तल झर्ने जस्ता गम्भीर समस्या लिएर महिलाहरू स्वास्थ्य संस्थामा आउने गरेका छन् । धेरै महिलाले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर परिवारको दबाबमा परी गर्भपतन गराउने गरेका छन् ।” छोरालाई प्राथमिकता दिँदा छोरीहरू गर्भमै मारिने गरेकामा पौडेलले चिन्ता व्यक्त गर्नुभयो गरिन् “महिलाहरू आफ्नो स्वास्थ्य जोखिममा राखेर जीवन मरणको अवस्थामा पुग्ने गरेका छन्”, पौडेलले भनिन् ।
एक ठाउँमा भिडियो एक्स-रे गर्ने र अर्का ठाउँमा गएर गर्भपतन गर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ दाङका डा अमित लामगादे बताउँछन् । सङ्घमा सेवा लिन आउनेहरूले गर्भ पहिचान गरेको कुरा लुकाउने गरेको उनको भनाइ छ । अनिच्छित गर्भ रहेमा आफूखुसी औषधि किनेर खाँदा सन्तान आधा निस्कने र आधा भित्रै रहेर रगतका धारा बगाउँदै अवस्थामा सङ्घमा आउने गरेको उनले बताए । उनका अनुसार पटक पटक गर्भपतन गर्दा पाठेघरमा घाउ हुने, सङ्क्रमण हुने र निरन्तर रक्तस्राव हुने जस्ता जोखिम लिएर परिवार नियोजन कार्यालयमा महिलाहरू आउने गरेका छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले गर्भवतीलाई गर्भको लिङ्ग पहिचान गर्न त्रास देखाई वा करकाप गरी, धम्की दिई वा ललाइफकाई प्रलोभन वा अनुचित प्रभाव र झुक्यानमा पारी, जोर जुलुम गरेर दबाबमा पार्न नहुने व्यवस्था गरेको छ ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देलले गर्भमा भएको सन्तानको लिङ्ग पहिचान गरेर गर्भपतन गरेको कुनै पनि घटनाको उजुरी आफूकहाँ नपरेको जानकारी दिइन् । उनका अनुसार व्यक्तिगत गोपनीयता हो या कुन कारण हो, यस्ता घटना समितिमा आएको छैन । उपमहानगरपालिकामा रहेका टोल समिति र आमा समूहलाई लैङ्गिक समानतासम्बन्धी तालिम दिने गरिएको उनले बताइन् । “छोरा र छोरीका बिचमा विभेद गर्नुहुँदैन र छोरीलाई पनि छोरासरह समान अवसर दिनुपर्छ भन्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौंँ”, न्यायिक समितिका संयोजक सिग्देलले भनिन् । आफू उपप्रमुख भएको चार वर्षमा लिङ्ग पहिचान गरेर गर्भपतन गरेको घटना समितिमा दर्ता नभएका कारण यससम्बन्धी कुनै नीति कार्यक्रम र योजना नबनाइएको उनको भनाइ छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले गर्भवतीलाई गर्भको लिङ्ग पहिचान गर्न त्रास देखाई वा करकाप गरी, धम्की दिई वा ललाइफकाई प्रलोभन वा अनुचित प्रभाव र झुक्यानमा पारी, जोर जुलुम गरेर दबाबमा पार्न नहुने व्यवस्था गरेको छ । यदि यस्तो गरेमा मुलुकी अपराध संहिता २०७४ ले गर्भको अवधिअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय र रु १० हजारदेखि रु ५० हजारसम्मको जरिवाना तोकेको छ ।
मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट दाङमा आर्थिक वर्ष २०७७/०७८मा २० वर्षमुनिका २९३ जनाले सुरक्षित गर्भपतन गरेका छन् । तीमध्ये १३२ महिलाले औषधिबाट गर्भपतन गरेको तथा १६१ जनाले औजारको प्रयोग गरेको जनाइएको छ । बीस वर्षमाथिका दुई हजार ५३ जनाले सुरक्षित गर्भपतन गरेका छन् । तिनमध्ये एक हजार १७२ ले औषधिबाट गर्भपतन गरेको तथा ८८१ जनाले औजार प्रयोग गरेका छन् । यसरी एक वर्षमा दुई हजार ३४६ जनाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
चार वर्षका अवधिमा परिवार नियोजन सङ्घका सम्पर्कमा आई गर्भपतन गराउने दुई हजार ७८६ छन् । त्यीमध्ये औजारको प्रयोग गर्नेमा एक हजार १९० तथा औषधि प्रयोग गर्ने एक हजार ५९६ छन् । परिवार नियोजन सङ्घ दाङमा चालु आव २०७७÷०७८ मा ४८७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमध्ये बीस वर्षमुनिका ३५ र २० वर्षमाथिका ४५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको प्रबन्धक वसन्त खनालले जानकारी दिए । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा चार वर्षसम्मका बालक १३ लाख १४ हजार ९५७ तथा बालिका १२ लाख ५३ हजार ६ छन् ।