नाडाको नयाँ नेतृत्वका लागि २,७८८ मत खस्यो
अटोमोबाइल व्यावसायीहरुको संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा करिव ९३ प्रतिशत मत खसेको छ । ३ हजार मतदातामध्ये २ हजार ७ सय ८८ ले मतदान गरेको नाडाका सचिव अनुपकुमार बरालले मेरो लाइफस्टाइललाई जानकारी दिए ।

निर्वाचन शान्त र भद्र तरिकाले सम्पन्न भएको र अब केही समयमै मतगणना सुरु हुने उनले जानकारी गराए । निर्वाचनलाई सफल बनाउन ७ वटै प्रदेशका नाडाका अध्यक्षहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुव थापाले अध्यक्षसहित आफ्नो बेग्लाबेग्लै प्यानल घोषणा गरेका थिए । निर्वाचनमार्फत १ जना अध्यक्षसहित १७ जना सदस्य चुनिने छन् । विजेता सदस्यहरूबाटै फेरि पदाधिकारी चयन हुने छन् ।
चौधरी हालको कार्यसमितिमा उपाध्यक्ष छन् भने थापा यसअघिका दुईवटा कार्यकालमा उपाध्यक्ष भैसकेका छन् ।

सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीको यो प्यानलमा सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठ, ज्योति ग्रुपका निर्देशक अभिक ज्योति, नारायणी अटो विजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बराल, रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलन बाबु मल्ल, अग्नि इन्कर्पोरेटेडका निर्देशक बरदान बस्नेत, आइएमई मोटर्सका निर्देशक निशान्त ढकाल, सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई र कपुरी ब्रदर्सका प्रबन्ध निर्देशक प्रकाश कपुरी निर्वाचनमा उत्रिएका थिए ।

यसैगरी, चौधरीकै प्यानलबाट कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, पंकज अग्रवाल, निलमणी पाठक, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ब्याट्री र लुब्रिकेन्ट्स व्यवसायमा आबद्ध छन् ।

फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष समेत रहेका ध्रुव थापाको यो प्यानलमा गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा, लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल, पद्मश्री ग्रुपका निर्देशक शुभाशिस थपलिया, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, लक्ष्मी ग्रुप अन्तर्गतकै एसएमएल इसुजु र टायर, ब्याट्री एबं लुब्रिकेन्ट डिभिजनका सेल्स एन्ड अप्रेसन निर्देशक कपिल शिवाकोटी, परिना इन्टरनेसनलका कार्यकारी निर्देशक दीपक आचार्य र टु ह्विलर रिकन्डिसन व्यावसायी संघका अध्यक्ष बिएन पाठकले उम्मेदवारी दिएका छन् ।

थापाको यो प्यानलमार्फत उम्मेदवारी दिएका यी सवारी साधनको कारोबारमा संलग्न व्यवसायी बाहेक स्पेयर पार्ट्स तथा कम्पोनेन्टको कारोबार गरिरहेका दिपेन्द्र कुमार मिश्रा, सगुन बिरसिं कंशाकार, रिद्धि कार्की, प्रकाश सिग्देल, नारायण प्रसाद पौडेल, नवराज भुसाल, सञ्जय कुमार खेतान, अमरज्योति रञ्जित र प्रदिपमान प्रधान समेत संलग्न छन् ।
निर्वाचनको मतपरिणाम राती १२ बजेसम्म आइसक्ने नाडाले जनाएको छ ।
