अटोमोबाइल: आत्मनिर्भर बनाउने व्यवस्थित तुल्याउने (भिडियोसहित)
अटोमोबाइल व्यवसायीहरूको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा आज अर्थमन्त्री जनार्दन शर्मा केही उत्साही देखिए । देशभरीबाट जम्मा भएका अटोमोबाइल व्यवसायीलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्मा भन्दै थिए, ‘तपाईहरुले सवारी साधन आयात प्रतिस्थापन गर्नेगरी देशमै सवारी साधन उत्पादनका लागि जोड गर्नुहोस, विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने सवारी साधन उत्पादन गर्नुहोस ।’
‘सरकारका तर्फबाट ब्यवसायी-उद्योगीका लागि सहुलियत जग्गा उपलब्ध गराउनेदेखि के कस्ता छुटहरू आवश्यक पर्छ, त्यसका लागि सरकार तयार छ,’ मन्त्री शर्मा उत्साही सुनिए, ‘हामीकहाँ श्रमशक्ति छ, प्रविधि अब टाढाको कुरा रहेन, आवश्यक दक्ष जनशक्ति हामीकहाँ नै छन् र बजार पनि यहीँ छ ।’
मन्त्री शर्माले दिएको वक्तव्यको समर्थनमा होटल सोल्टीको मेघमल्हार हल एकै पटक तालीले गुन्जायमान सुनियो ।
आफूलाई अर्थशास्त्र नजानेको मन्त्री बताएका शर्माले त विल विजकदेखि बिजुलीमा छुट र राजश्वमा देखिएका समस्या लगायतका कुरामा परम्परागत मान्यता र झन्झट हटाउन आफू तयार रहेको बताएपछि अटोमोबाइल व्यावसायी फुरुङ्ग नहुने कुरै भएन ।
यो बेग्लै कुरा हो कि मन्त्री शर्माले आजको कार्यक्रममा जुन प्रतिबद्धता व्यक्त गरे, त्यसलाई पटक पटक पछ्याएर कार्यान्वयनको तहमा पुर्याउन झक्झक्याउनका लागि सक्षम नेतृत्व आवश्यक पर्छ । नाडाले भोलि बिहीबार यसैका लागि सक्षम नेतृत्व छानेर अटोमोबाइल व्यवसायलाई एक कदम माथि उकाल्न खोजिरहेको छ ।
आजदेखि शुरु भएको नाडाले जुन नयाँ नेतृत्व छान्ने छ, त्यसले के नेपालको अटोमोबाइल क्षेत्रलाई आत्मनिर्भर बनाउन सार्थक भूमिका खेल्न सक्ला ?
भोलि निर्वाचन कार्यक्रम समेत तोकिएको नाडाको साधारण सभामा करण चौधरी र ध्रुव थापाले अध्यक्षसहित आफ्नो छुट्टाछुट्टै प्यानल घोषणा गरेका छन् । निर्वाचनमार्फत १ जना अध्यक्ष र १७ जना सदस्य चुनिने छन् । विजेता सदस्यहरूबाटै फेरि पदाधिकारी चयन हुने छन् ।
नाडाको नयाँ नेतृत्वमा को ?
भोलि निर्वाचन कार्यक्रम समेत तोकिएको नाडाको साधारण सभामा करण चौधरी र ध्रुव थापाले अध्यक्षसहित आफ्नो छुट्टाछुट्टै प्यानल घोषणा गरेका छन् । निर्वाचनमार्फत १ जना अध्यक्ष र १७ जना सदस्य चुनिने छन् । विजेता सदस्यहरूबाटै फेरि पदाधिकारी चयन हुने छन् ।
अन्तिम समय सम्म पनि सहमतिको सम्भावना हुने धेरैले आशा गरेका थिए । तर त्यो सम्भव भएन ।
नाडामा यसपालि चौधरी र थापाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो भन्दा पहिले सहमतिबाट नयाँ कार्यसमिति बन्ने गरेको इतिहास धेरै भए पनि अहिले भने प्रतिस्पर्धा हुने निश्चित भएको छ । चौधरी हालको कार्यसमितिमा उपाध्यक्ष छन् भने थापा यसअघिका दुईवटा कार्यकालमा उपाध्यक्ष भैसकेका छन् । यी दुबै जना व्यवसायी नाडामा लामो समयदेखि लागिपरेका र अनुभवी समेत भएका कारण यसपालि नेतृत्व चयन पहिलेभन्दा बढी नै प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
करण चौधरी आफ्नो टिममा अनुभव र जोशको उत्तम सम्मिश्रण भएको र आफूहरु विजयी भएमा अनुकूलता तथा प्रतिकूलता दुवै अवस्थामा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न सक्षम हुने बताउँछन् । उनले अटोमोबाइलका विभिन्न क्षेत्र र प्रादेशिक संरचनालाई समेत ख्याल गरी टिम बनेको बताए । उनी भन्छन्, ‘भर्खरै यो क्षेत्रमा लागेका युवादेखि लामो समय सम्मको अनुभवले खारिएका दक्ष व्यवसायीहरुको टिमले भविष्यमा नेपाली अटोमोबाइल क्षेत्रलाई नयाँ गन्तव्यमा पु¥याउन सक्षम हुनेछ ।’
अर्को प्यानलमार्फत अध्यक्षका उम्मेदवार ध्रुव थापाले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि कार्यका लागि पहल गर्ने बताएका छन् ।
नेपालको निजी क्षेत्रका संघ तथा संगठनहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वर्तमान र विगतमा पटक पटक नेतृत्वको बागडोर नाडाकै पूर्व अध्यक्षहरुले सम्हालिरहेको इतिहास छ । महासंघका हालका अध्यक्ष शेखर गोल्छा र अन्य पूर्वअध्यक्षहरु कुनै समय नाडाकै अध्यक्ष थिए । यसले गर्दा पनि नाडामा अबको नेतृत्वको बारेमा धेरैको चासो छ ।
देश संघीयतामा गएसँगै नाडाले समेत आफ्नो संगठन प्रदेश स्तरमा विस्तार गरिसकेको छ । अहिले नाडाको सातवटै प्रदेशमा संगठन विस्तार भैसकेको छ । जसका कारण सदस्य संख्या समेत बढेर ३२ सय हाराहारी पुगेको छ ।
यस्ता छन् दुवै प्यानलमा उम्मेदवार
सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको यो प्यानलमा सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठ, ज्योति ग्रुपका निर्देशक अभिक ज्योति, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बराल, रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलन बाबु मल्ल, अग्नि इन्कर्पोरेटेडका निर्देशक बरदान बस्नेत, आइएमई मोटर्सका निर्देशक निशान्त ढकाल, सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई र कपुरी ब्रदर्सका प्रबन्ध निर्देशक प्रकाश कपुरीले उम्मेदवारी दिएका छन् ।
चौधरीको प्यानलमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, पंकज अग्रवाल, निलमणी पाठक, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ब्याट्री र लुब्रिकेन्ट्स व्यवसायमा आबद्ध छन् ।
अटोमोबाइल उत्पादनको कारोबार गर्ने ५ वटा कम्पनी संलग्न हिमालय अर्गनाइजेसनका संस्थापक ध्रुव थापा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष समेत छन् । उनको यो प्यानलमा गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा, लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल, पद्मश्री ग्रुपका निर्देशक शुभाशिस थपलिया, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, लक्ष्मी ग्रुप अन्तर्गतकै एसएमएल इसुजु र टायर, ब्याट्री एबं लुब्रिकेन्ट डिभिजनका सेल्स एन्ड अप्रेसन निर्देशक कपिल शिवाकोटी, परिना इन्टरनेसनलका कार्यकारी निर्देशक दीपक आचार्य र टु ह्विलर रिकन्डिसन व्यावसायी संघका अध्यक्ष बिएन पाठकले उम्मेदवारी दिएका छन् ।
थापाको यो प्यानलमार्फत उम्मेदवारी दिएका यी सवारी साधनको कारोबारमा संलग्न व्यवसायी बाहेक स्पेयर पार्ट्स तथा कम्पोनेन्टको कारोबार गरिरहेका दिपेन्द्र कुमार मिश्रा, सगुन बिरसिं कंशाकार, रिद्धि कार्की, प्रकाश सिग्देल, नारायण प्रसाद पौडेल, नवराज भुसाल, सञ्जय कुमार खेतान, अमरज्योति रञ्जित र प्रदिपमान प्रधान समेत संलग्न छन् ।
देश संघीयतामा गएसँगै नाडाले समेत आफ्नो संगठन प्रदेश स्तरमा विस्तार गरिसकेको छ । अहिले नाडाको सातवटै प्रदेशमा संगठन विस्तार भैसकेको छ । जसका कारण सदस्य संख्या समेत बढेर ३२ सय हाराहारी पुगेको छ । यसअघि ८ सय हाराहारी व्यवसायीमात्र सदस्य रहेको नाडामा एकैपटक २ हजारभन्दा बढी सदस्य थप भएका कारण पनि यो साधारण सभा नाडाका लागि आफैमा एउटा नयाँ अनुभब हुने देखिएको छ । यो अधिबेशनमा देशभरीका ब्यावसायीले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् । जसका कारण नेतृत्व कसले हात पार्छ भनेर यसै भन्न सकिने अवस्था छैन ।
ठूला र प्रभाव जमाउन सक्ने व्यावसायिक संस्थाको निहीत स्वार्थमा बढी केन्द्रित भई काम गर्दै आइरहेको साना व्यवसायीले आरोप लगाउने गरेका छन् भने कतिपय ठूला कर्पोरेट हाउसले सरकारी निकायसँग उचित समन्वय गर्न नसकेको भनि नाडा नेतृत्वको आलोचना गर्ने गरेका छन्
व्यवसायी बीचमै नीतिगत मतभेद
देशभर छरिएर रहेका अटोमोबाइल व्यवसायीहरुको हक हितका लागि काम गर्ने उद्देश्य अनुरुप स्थापना भएको यो संस्थाले त्यसै अनुसार काम भने नगरेको भनेर बेलाबखत विवादमा समेत पर्ने गरेको पाइन्छ । ठूला र प्रभाव जमाउन सक्ने व्यावसायिक संस्थाको निहीत स्वार्थमा बढी केन्द्रित भई काम गर्दै आइरहेको साना व्यवसायीले आरोप लगाउने गरेका छन् भने कतिपय ठूला कर्पोरेट हाउसले सरकारी निकायसँग उचित समन्वय गर्न नसकेको भनि नाडा नेतृत्वको आलोचना गर्ने गरेका छन् ।
विशेष गरी सवारी साधन आयातकर्ता कम्पनीहरुको स्वार्थमा मात्र बढी केन्द्रीत भएको र स्पेयर पार्ट्स तथा कम्पोनेन्टको कारोबारमा संलग्न व्यवसायीहरुको आवाज नसुनिएको गुनासो समेत सुनिने गरेको थियो । यस पटकको चुनावमा यी सबै कुरा उठेका छन् । करण चौधरी प्यानलबाट सदस्य पदमा उठेका व्यवसायी राजनबाबु श्रेष्ठ भन्छन्, ‘हाम्रो लागि अटो व्यवसायमा संलग्न सबै व्यवसायीहरुको दर्जा एउटै रहेको छ । एक–अर्काको साथविना अटो व्यवसायको विकास असम्भव छ । त्यसैले यो ठुला घराना, साना घरानाको मतभेद भन्ने कुरा छैन ।’
हालको कार्यसमितिमा समेत रहेका र थापा प्यानलबाट निर्वाचन लडेका व्यवसायी दीपक अग्रवाल आफूहरु विजयी भएर नयाँ कार्यसमिति बनेमा संस्थागत स्वार्थलाई मात्र लक्ष्य लिएर अगाडि बढ्ने बताउँछन् । उनी भन्छन्, ‘हाल नाडामा विभिन्न समिति भए पनि यस्ता समितिसँग सम्बन्धित समस्या सुल्झाउनका लागि सरकारी निकायमा माग पत्र पेश गर्ने काम मात्र भएको छ । तर हामीले समाधान सहितको कार्यक्रम अन्य निकायमा पेश गर्ने र आवश्यक परेमा विशेषज्ञहरुको सल्लाह समेत लिन सक्छौ । यसका लागि स्पेशल टास्क फोर्स समेत बनाउने र कुनै विवाद नआओस् भन्ने कुरामा समेत सचेत हुने गरी हामी अगाडि बढ्ने छौ ।’
यस्तो अवस्थामा दुबै पक्षको उचित माग र एजेन्डालाई सम्बोधन गर्दै उनीहरुको हकहितमा केन्द्रित हुनुपर्ने नयाँ नेतृत्वमा दबाव सिर्जना भएको छ । त्यसैगरी सरकारी निकायसँग समन्वय गरी सडक सुरक्षा, सवारी सुरक्षा, ट्राफिक व्यवस्थापन र उपभोक्ताले उठाउँदै आएका कैयन मुद्दाहरुको सुनुवाईमा समेत समन्वयकारी भूमिका खेल्नुपर्ने देखिएको छ । यी र यस्ता चुनौतीहरुको सामना गर्न नयाँ नेतृत्व सफल भए नाडाको भूमिका आगामी दिनमा झनै बढेर जाने निश्चित छ ।
सरकारले निजी सवारी साधनलाई आवश्यकता होइन, विलाशीताको साधन मानेको छ । सरकारले यो मान्यतालाई परिवर्तन गराउनका लागि समय समयमा झकझक्याएको पनि पाइन्छ । तर पनि सरकारले यसलाई राजस्वको गतिलो स्रोतको रुपमा मात्र बुझेको पाइन्छ । सरकारले सवारी साधन संसारमा सबैभन्दा धेरै कर लगाएको छ
सरकारी नीतिमा समस्या
सरकारले निजी सवारी साधनलाई आवश्यकता होइन, विलाशीताको साधन मानेको छ । सरकारले यो मान्यतालाई परिवर्तन गराउनका लागि समय समयमा झकझक्याएको पनि पाइन्छ । तर पनि सरकारले यसलाई राजस्वको गतिलो स्रोतको रुपमा मात्र बुझेको पाइन्छ ।
सरकारले सवारी साधन संसारमा सबैभन्दा धेरै कर लगाएको छ । भन्सार महसुल, सवारी कर त ठीकै छ । स्वदेशमा उत्पादित वस्तुमा मात्रै लाग्ने अन्तःशुल्क पनि आयातित सवारीमा लगाएको छ । सवारी साधनको मूल्यमा २ सय ४० प्रतिशतभन्दा बढी कर लगाइएको छ । यसका कारण नै महंगो मूल्यमा नेपाली उपभोक्ताले सवारी साधन किन्नु पर्ने बाध्यता छ । त्यसैगरी सरकारले विभिन्न क्षमताका गाडी र मोटरसाइकलमा लाग्ने करको दर पनि अस्थिर रुपमा कहिले बढाउने र घटाउने गरेको पाइन्छ ।
त्यसैगरी नेपाल राष्ट्र बैंकले लिने नीतिले पनि व्यवसायलाई असर गरिरहेको हुन्छ । नयाँ सवारी साधन किन्दा शुरुमा तिर्ने डाउन पेमेन्ट कम गरी धेरै रकम बैंकहरुले लगानी गर्नुपर्ने माग व्यवसायीहरुले गर्ने भए पनि यो अस्थिर रहेको छ । हाल विद्युतीय सवारी साधनलाई ८० प्रतिशतसम्म र अन्य सवारीका लागि ५० प्रतिशत मात्र बैंकको लगानी स्विकार गरिएको छ ।
पछिल्लो समयमा चर्चामा रहेको विद्युतीय सवारीमा सरकारले एउटा वर्ष अन्तःशुल्क बढाउने र अर्को वर्ष फेरि घटाउने गरेको छ । यसले गर्दा व्यवसायीहरुमा पनि सवारी साधन भित्र्याउने वा नभित्र्याउने भन्नेमा अन्योल छ । नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि मन्त्रीहरुले आग्रह गर्ने भए पनि त्यसै अनुसार नीति निर्माणमा ध्यान दिएको पाइदैन ।
त्यसैगरी नेपाली बजारमा भित्रिने सवारी साधनको प्रदूषण मापदण्ड वारेमा समेत काम हुन बाँकी छ । अन्य देशमा बीएस ६, युरो ६ आदि स्ट्यान्डर्ड लागू हुँदा नेपालमा भएको नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ लाई स्तरोन्नति गरी बनाइएको २०७५ को मापदण्ड समेत कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा युरो ४ स्ट्यान्डर्डका गाडी समेत भित्रिन सकेका छैनन् र यसका लागि तयारी गर्नुपर्ने बताइएको छ । त्यसैगरी २० वर्ष पुराना सवारी साधनलाई विस्थापन गर्ने नीति पनि अधुरै छ । यस्ता धेरै कुरामा अबको नाडा नेतृत्वले ध्यान दिनुपर्ने अवस्था छ।
नाडाले समय समयमा सरकारी अधिकारीहरुसँग भेटघाट गरी विभिन्न नीतिगत सुधारका लागि आग्रह गर्दै आएको पाइन्छ । बजेट प्रस्तुत हुनु भन्दा पहिले पनि विभिन्न सुझाव पेश गरेको पाइन्छ । यद्यपि ती सबै विषयको सुनुवाई प्रभावकारी हुन सकेको छैन । आगामी दिनमा यस्ता सबै कार्यमा हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने आवश्यकता देखिन्छ ।
नेपालमा सवारी साधन
अहिलेसम्म दर्तालाई आधार मान्ने हो भने नेपालमा झण्डै ४० लाख सवारी साधन रहेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अघिल्लो असारसम्म ३८ लाख ३६ हजार ५ सय सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ । यस अनुसार गत आर्थिक वर्षको संख्या जोड्दा झण्डै ४० लाख सवारी नेपालमा दर्ता भएका छन् । दर्ता भएका सवारी साधनमध्ये जम्मा १ दशमलब ४ प्रतिशतमात्र सार्वजनिक यातायात रहेका छन् । ७९ प्रतिशत दुई पांग्रे सवारी रहेका छन् ।
राजश्व र रोजगारीमा अब्बल
पहिलो पटक राणा प्रधानमन्त्री वीर शमशेरको पालामा वि.सं. १९५८ सालमा नेपालमा कार भित्रिएको थियो । त्यसपछि अन्य सवारी साधन समेत विस्तारै भित्रिन र बढ्न थालेका हुन् । यसरी बढ्दै गएको सवारी साधनलाई व्यवस्थापन गर्नका लागि समय समयमा भएका प्रयास भने अहिले सम्म पनि चित्त बुझ्दो भएको छैन ।
नाडाको स्थापना २०३२ सालमा भएको हो । नेपालमा अटोमोबाइल भित्र्याउने र यसको व्यवसायमा लागेकाहरुले यसको स्थापना गरेका हुन् । विशेष गरी निजी सवारी साधन भित्र्याउने व्यवसायीहरुले यसको सुरुवात गरेका थिए । पछि विस्तारै यससँग जोडिएका पार्ट्स र कम्पोनेन्ट लगायतका व्यवसायी पनि जोडिदै गए । सन् १९९८ अर्थात २०५५ तिर पहिलो पटक नाडा अटो शो आयोजना गरे पश्चात नाडाको भूमिका पनि फैलिदै गयो । अहिले पनि प्रत्येक वर्ष हुने गरेको सवारी साधन प्रदर्शनी नाडा अटो शो धेरैले सम्झिने गर्छन् । यद्यपि कोभिडका कारण अहिले अटो शो हुन सकेको छैन ।
नेपालको कुल राजस्वमा अटोमोबाइल क्षेत्रले मात्र २५ प्रतिशत भन्दा बढी योगदान पु¥याउदै आएको छ । १० लाख भन्दा बढी मानिसहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यही क्षेत्रमा रोजगारी पाएका छन् । नेपालको अटोमोबाइल व्यवसाय नेपालको विकास निर्माणसँग पनि जोडिएको छ । यसको विकास विना नेपालको विकासको कल्पना पनि गर्न सकिदैन । यसले गर्दा ठूलो संख्यामा रोजगारीको समेत सिर्जना गरेको छ । त्यसैले यो क्षेत्रको व्यवस्थापनको आधार तयार गर्नका लागि पनि अब आउने नाडा नेतृत्व सक्षम बन्नु आवश्यक छ ।
किनकी,अबको यात्रा अटोमोबाइल क्षेत्रलाई आत्मनिर्भर र व्यवस्थित बनाउनु पनि हो ।
भिडियोमा नाडाको ४५ औं साधारणसभा
यो पनि पढ्नुहोस् :
नाडाद्वारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला