राष्ट्रिय बाघ सर्वेक्षण सुरु (फोटो फिचर)
वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गरेको हो ।
आजदेखि देशभर बाघ सर्वेक्षण सुरु भएको हो । वनमन्त्री यादवले चितवन–पर्सा कम्प्लेक्सबाट बाघ सर्वेक्षण सुरु गरेका हुन् । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ ।
चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा(लालाझाडी क्षेत्र गरी तीनवटा कम्प्लेक्स छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो । सर्वेक्षणका लागि सर्वेक्षकहरू आ–आफ्नो क्याम्पमा गइसकेका छन् । केही सर्वेक्षक भोलिसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।
अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने विश्वास
नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए ।
सन् २००९ मा नेपालमा १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो । प्रतिबद्धताअनुसार सन् २०२२ मा बाघको संख्या २५० पुग्नुपर्ने छ । नेपालमा सन् १०१३ मा १९८ र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको थियो ।
बाघ सर्वेक्षण उद्घाटन गर्दै वनमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा गर्ने विश्वास व्यक्त गरे । ‘सन् २०१८ मा भन्दा १५ वटा मात्रै बाघ बढाउन सक्यौँ भने पनि हाम्रो प्रतिबद्धता पुरा हुन्छ । विगतको संख्या हेर्दा हामी त्यो प्रतिबद्धता सहजै पुरा गर्न सक्छौँ भन्ने विश्वास छ’, उनले भने ।
बाघ लोपोन्मुख जातिको जनावरमा सूचीकृत भएको जनावर हो । विश्वमा नेपाललगायत १३ वटा देशमा मात्रै पाटे बाघ पाइन्छ ।
करिब एक हजार क्यामरा प्रयोग
बाघ सर्वेक्षणका लागि करिब एक हजारवटा स्वचालित मेसिन प्रयोग गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सयवटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘एक ठाउँमा एक जोडी क्यामरा राखिने हो । कम्तीमा १५ दिनसम्म क्यामरालाई एक ठाउँमा राखिन्छ’, उनले भने, ‘एक ठाउँमा सर्वेक्षण सकेपछि त्यही क्यामरा अन्यत्र पनि प्रयोग हुने भएकाले क्यामरा अपुग हुँदैन । मिलाएर प्रयोग गर्छौँ ।’
सर्वेक्षण गर्दा चितवन–पर्सा कम्प्लेक्सलाई तीनवटा, बाँके बर्दियालाई चारवटा र शुक्लाफाँटा–लालझाडीलाई एउटा ब्लक विभाजन गरिएको छ । ब्लकहरूलाई पनि दुई किमी लम्बाइ र दुई किमी चौडाइ भएका ग्रीडहरूमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमशः ८९५, ८१४ र २६० वटा ग्रीड छन् ।
चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्रहरु हेरी एक जोडी स्वचालित क्यामराहरु जडान गरिने छ । सर्वेक्षणका क्रममा चितवन(पर्सा कम्प्लेक्समा सात, बाँके बर्दियामा र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा तीन–तीनवटाका दरले हात्तीह परिचालित हुने छन् ।
बाघ सर्वेक्षण गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै १०६ जना प्राविधिक खटिएका छन् । उनीहरूलाई १७ र १८ मंसिरमा प्रयोगात्मक अभ्यास सिकाइसकिएको छ । बाघ सर्वेक्षण सम्पन्न गर्न तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सर्वेक्षणमा डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
बाघ सर्वेक्षणमा क्यामरा ट्रयाप, सन्टो कपास, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरी क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्वे विधि अपनाएर बाघ सर्वेक्षण गरिँदै छ । तीन महिनाभित्र बाघ सर्वेक्षणको काम सकिने अनुमान गरिएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा आगामी विश्व बाघ दिवस (२९ जुलाई)को दिनमा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागको योजना छ ।
यो पनि पढ्नुहोस्
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)