राइडिङ : जति मेहनत त्यति आम्दानी
कोरोना महामारीका बेलामा सबै क्षेत्र थला परे । कति बेरोजगार भए, कतिले भएको व्यवसायलाई पनि निरन्तरता दिन सकेनन् । बेरोजगार भएकालाई रोजगारीको अवसर जुरायो ‘राइड सेयरिङ एप–पठाओ’ ले ।
कसैले गरिरहेको पेशाले जीवनस्तर धान्न नसकेपछि राइडिङलाई नै पेशा बनाए । कसैले अर्को जागिर छाडेर राइडिङ पेशामा आए । कोही आफ्नो स्वास्थ्य गतिशिल राख्नका लागि यो पेशामा आए । स्कुटर,बाइक मार्फत यात्रुलाई गन्तब्यमा पुर्याउनका लागि नेपालमा शुरु भएको राइडिङ ब्यवसायमा धेरैको आकर्षण देखिन्छ ।
जस्तो कि सबित्रा खुलाल । एकपटक उनलाई सुनौँ ।
महामारी नियन्त्रणका लागि भएको लकडाउनले कपडा पसल संचालन गरि जिविकोपार्जन गर्ने ४४ वर्षीय सबित्राको व्यवसाय घाटामा गयो । त्यसपछि उनले व्यवसाय नगरी अरु कुनै काम गर्ने सोच बनाइन् । कामको खोजी गर्दै जाँदा उनी राइडिङसँग जोडिन पुगिन् । राइडिङ सुरु गरेको वर्ष दिन भएको सुनाउँछिन् । ‘टिकटकमा पठाओबारे जानकारी पाएँ, कम्पनीमा गएर बुझ्दा महिला दिदिबहिनी पनि राइडिङ गरेको थाहा पाएँ,’ उनले शुरुका दिनहरु सम्झिइन,‘आफुसँग स्कुटर र लाइसेन्स भएकोले राइडिङ सुरु गरेँ ।’
‘मदिराले मातेका सेवाग्राही टाँस्एिर बस्न खोज्नु हुन्छ ’
काठमाडौंको चर्को महङ्गीमा सबित्राले आफ्ना तीन छोराछोरीको लालनपालनको आर्थिक आधार राइडिङबाट प्राप्त हुने आम्दानी नै हो । राइडिङका क्रममा दिनभरी दर्जनौँ मान्छेसँग चिनजान हुन्छ । पक्की र कच्ची सडकमा सयौँ किलोमिटर पार गर्छिन । कहिलेकाँही रक्सी खाएका भेटिने, लोकेसन सही नराख्ने, लिन बोलाएर नजाने खाले सेवाग्रहीले दुख दिने सबित्राको तितो अनुभव छ । ‘कहिलेकही मदिरा खाएका सेवाग्राही भेटिनुहुन्छ, टाँस्सिएर बस्न खोज्नु हुन्छ, पर सर्नु है भनेपछि केही गर्दैनन्,’ उनले थपिन् ‘एक पटक ठमेलमा लिन गएपछि जाँदै जानु भएन, रद्ध गर्न पनि मान्नु भएन, अफिसमा फोन गरेर रद्ध गराएको थिएँ ।’
‘कहिलेकही मदिरा खाएका सेवाग्राही भेटिनुहुन्छ, टाँस्सिएर बस्न खोज्नु हुन्छ, पर सर्नु है भनेपछि केही गर्दैनन्,’ उनले थपिन् ‘एक पटक ठमेलमा लिन गएपछि जाँदै जानु भएन, रद्ध गर्न पनि मान्नु भएन, अफिसमा फोन गरेर रद्ध गराएको थिएँ ।’
राइडिङ पेसा गर्ने पुरुष भन्दा महिला संख्या न्युन छ । महिलाले राइड गरेको देख्दा कतिपय ब्यक्ति छक्क पर्छन । ‘महिलाले नि राइडिङ गर्दा रहेछन्, राम्रो राइडिङ गर्नुहुदो रहेछ, खुसी लाग्यो भन्छन्,’ उनको मुहार हँसिलो देखियो ।
दिनमा सातदेखी १५ जना सेवाग्राहीलाई गन्तब्यमा पुर्याउने गर्छिन । छोराछोरीलाई बिहानको खाना खुवाएर नौ बजे यात्रुलाई गन्तब्यमा पुर्याउन घरबाट निस्केकी सबित्रा साँझ पाँच बजे घर फर्किन्छिन् । ‘आम्दानीको स्रोत यही मात्र छ, खासै वचत गर्न सकिएको छैन,तर आफु र छोराछोरीको दैनिक गुजारा भने चलेकै छ,’ उनी सन्तोषी सुनिइन् ।
सरिता सुनवार पनि सबित्रा जस्तै आफ्नो व्यवसाय त्यागेर राइडिङमा आएकी हुन् । अन्य काम गर्दा अरुको नियन्त्रण, दबाब र नियमित समयजस्ता कुराबाट टाढा रहेर के काम गर्न सकिन्छ भनेर काम खोज्दै जाँदा राइडिङ छनौट गरेको बताउँछिन्,सरिता । ‘काम खोज्दै राइडिङबारे जानकारी पाएँ, बुझेर दुइतीन दिन ट्रायलकोलागि राइड गरेँ, पछि मन परेर यही नै काम गर्दैछु,’ सरिताले सुनाइन्,‘राइडिङ गर्दा आफू अनुकुल समय मिलाएर गर्न पाइने भएकाले सन्तुष्ट छु ।’
आफु अनुकुल समयमा खटेर मासिक ६० हजार आम्दानी हुने बताउँछिन्,सरिता । पार्ट टाइमको लागि राइडिङमा काम गर्दा राम्रो आम्दानी गर्न सकिने तर जीवन भरी यही पेसा गर्न भने नसकिने उनको अनुभव छ । ‘आफुले कति गर्न सकिन्छ, शारिरिक रुपले मान्छे कति बलियो छ, सोही अनुसार यो पेसा अपनाउन सकिन्छ,’ सरिताले सुनाइन्, ‘म ट्रिपको हिसाब भन्दा आफुले दिनमा कति पैसा कमाउँदा पुग्छ, सोही अनुसार राइड गर्छु ।’
‘लेडिजले पनि राइडिङ गर्छन र ?’
३० बर्षीय सरिताको व्यवसाय घाटामा गएपछि व्यावसायलाई फेरि माथि उठाउन विदेशीने सोच पनि नआएको होइन । तर बहिनी र छोरीको जिम्मेवारी एक्लैले बहन गरेकी सुनवार यहीँबाट जिविकोपार्जन गरेको सुनाउँछिन् । ‘व्यवसाय गर्दा ४०–४५ हजार रुपियाँ सटर भडा तिर्नु पर्छ, त्यो भन्दा यही काम गरेर जिविकोपार्जन गर्न सकिन्छ,’ उनले भनिन् ।
सरितालाई पनि राइडिङमा भेट्दा सेवाग्राही अचम्ममा पर्छन् । ‘लेडिजले पनि राइडिङ गर्छन र ?, पहिलो पटक देखेको मैले,’सेवाग्राहीले दिने प्रतिक्रिया सुनाउँदै सरिता मुस्कुराइन्, ‘घरबाट छोरी मान्छेले राइडिङ गर्छु भन्दा एकपटक अनुमति हुदैन होला है ।’
सरितालाई पनि राइडिङमा भेट्दा सेवाग्राही अचम्ममा पर्छन् । ‘लेडिजले पनि राइडिङ गर्छन र ?, पहिलो पटक देखेको मैले,’सेवाग्राहीले दिने प्रतिक्रिया सुनाउँदै सरिता मुस्कुराइन्, ‘घरबाट छोरी मान्छेले राइडिङ गर्छु भन्दा एकपटक अनुमति हुदैन होला है ।’
राइडिङ गर्दा धुलो, धुँवा, घाम, पानी सहनु पर्ने भएकाले यसलाई निन्तरता दिन गाह्रो हुने उनको अनुभव छ । उनले तत्कालका लागि यो पेसा गरे पनि भविष्यमा फेरी व्यावसायमा फर्किने बताउँछिन् । ‘तत्कालका लागि केही सोच बनाएको छैन तर पछि आफ्नै केही ब्यवसाय गर्छु ।’
११ वर्षको विदेश बसाइपछि राइडिङमा– उमेर ५३, ट्रिप नौ हजार
डेढ वर्ष देखि सडकमै दुई पाँग्रे सवारी साधन गुडाएर राम्रो आम्दानी गर्दै आएका मुकुन्दराज थापा पनि हुन् । ५३ वर्षीय मुकुन्द जापानमा आठ र दक्षिण कोरियामा तीन बर्ष बसे । विदेश बस्दा शारिरिक काम गर्नु पर्ने भएकाले नेपाल फर्किदा उनलाई कुर्सीमा बसेर गर्ने काम गर्न मानेन । ‘नेपालमै शारिरिक काम के छ भन्ने बुझ्दै जाँदा पठाओबारे जानकारी पाएँ र राइडिङ सुरु गरेँ,’ उनले सुनाए, ‘यो कार्यको सबै भन्दा राम्रो पक्ष आफु अनुकुल समय मिलाएर काम गर्न पाइन्छ ।’
बिहान पाँचेदेखि बेलुका आठ बजेसम्म रोडमै हुन्छन्,उनी । ‘म धेरै कमाउँछु वा टप फाइभमा पर्छु भनेर राइड नगरी दिनमा २५ ट्रिपभन्दा बढी गर्छु,’ थप्छन्, ‘हाल सम्म नौ हजारभन्दा बढी ट्रिप गरेको छु, सम्भवत यो नै सबै भन्दा बढी ट्रिप होला ।’
आफु, श्रीमती र छोराको दैनिक खर्च कटाएर मुकुन्दले राइडिङबाटै मासिक ४० देखि ५० हजार कमाउँछन् ।
राइडिङ आफैमा जोखिम हुन्छ, त्यसमा अझ अरुलाई सेवा दिँदा विचार पुर्याउनु पर्ने उनी बताउँछन् । ‘यो जोखिमपूर्ण पेसा हो,अगामी दिनमा योभन्दा राम्रो अवसर भएमा अन्य काम गर्ने,नभए यसलाई नै भविष्यमा निन्तरता दिन्छु,’ उनी भन्छन् ।
उमेरले पाको भएका मुकुन्द एक पटक उनको राइडिङमा बसेका सेवाग्राही फेरी पनि बस्न चाहन्छन् रे । भन्छन्, ‘मेरो मोटरसाइकल साधारण छ, एक पटक गन्तब्यमा पुर्याएका सेवाग्राही फेरी अनुरोध गर्नुहुन्छ तर म अनलाइनबाट नै राइड गर्ने भएकाले मिल्दैन ।’
सरकारी कामबाट अवकासपछि राइडिङमा
नेपाल प्रहरीको सई पदबाट अवकास भएका चद्रबहादुर श्रेष्ठ पोल्ट्री फार्म व्यावसाय सुरु गरे । लगभग तीन वर्ष यो कार्य चन्द्रले मोबाइल पसल संचालन गरे । तर यसमा बसीबसी काम हुने भएकोले चन्द्रलाई नसाको समस्याले शरिर दुख्ने, खाना नपच्ने, निन्द्रा नलाग्ने भयो । सोही समस्याबाट ग्रसित ५६ बर्षीय चन्द्रले यसबाट छुटकारा पाउनका लागि राइडिङ गरेको बताउँछन् । ‘बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म राइडिङ गर्छु,’ श्रेष्ठ भन्छन्, ‘उमेर धेरै भएपनि १४ घण्टा राइडिङ गरेको छु,स्वस्थ नै छु ।’
चन्द्र पनि अरु राइडर जस्तै खर्च कटाएर मासिक ४०–४५ हजार वचत गरेको सुनाउँछन् । ‘वर्ष दिन पुग्दै छ, यही कामबाट लगभग ६ लाख वचत छ’ उनले भने, ‘स्वास्थ्यका लागि यो काम गरेको वचत पनि राम्रो हुँदो रहेछ ।’
‘मेरो मोटरसाइकल साधारण छ, एक पटक गन्तब्यमा पुर्याएका सेवाग्राही फेरी अनुरोध गर्नुहुन्छ तर म अनलाइनबाट नै राइड गर्ने भएकाले मिल्दैन ।’
सुरुवाती दिनमा दैनिक १५/१७ ट्रिप गर्ने चन्द्रले आजभोलि २५/३० ट्रिप गर्न भ्याउँछन् । ‘हालसम्म ५ हजार ९ सय ५८ ट्रिप गरेको छु, मैले एक दिनमा सबै भन्दा धेरै ४३ ट्रिपसम्म गरेको छु,’ उनी मख्ख सुनिए ।
संक्रमणकालिन समय व्यवस्थापनमा सहयोग
सात महिनादेखि काठमाडौंको गल्ली–गल्लीमा मोटर साइकल गुडाउने ३७ वर्षीय मंगलबहादुर तामाङ होटेल व्यवसायमा कार्यरत थिए । तर महामारीको समयमा मंगलको व्यवसाय थला परेपछि राइडिङमा जोडिन पुगे । उनले दिनमा ३५ भन्दा बढी ट्रिप गर्छन् । ‘३५ भन्दा बढी नै हुन्छ, एक पटक ४३ ट्रिप पनि गरेको छु,’ मंगल मग्न भएर सुनाउँदै थिए, ‘दिनमा तीन हजार रुपियाँ कमाई हुन्छ, मासिक ६० हजार रुपियाँ पुग्छ ।’
काठमाडौँको महङ्गी, चर्को कोठा भाडा अनि पाँच जनाको परिवारलाई महामारीपछि यही पेसाले जोगाएको छ । ‘मेहनत गर्दा नेपालको सन्दर्भमा यसबाट एकदम राम्रो कमाइ हुन्छ,’ मंगल आशावादी सुनिए,‘संक्रमणकालीन समय व्यवस्थापन गर्न यसले सहयोग गरेको छ ।’
सोचे जस्तै सहज छैन,राइडिङ
चारपाँग्रे सवारी साधानभन्दा दुईपाँग्रे गाडी सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ । यसमा सुरक्षित रहनका लागि आफुले होसियारीपूर्वक सवारी गुडाउनु पर्ने हुन्छ । आफू सक्षम हुनुपर्ने, हालको समयमा कोरोना संक्रमणको त्रास रहेकाले आफु सुरक्षित भएर राइडिङ गर्नु पर्ने श्रेष्ठको भनाई छ ।
कच्चीबाटो र उकालो क्षेत्रमा स्कुटर गुडाउन समस्या हुने सबित्रा बताउँछिन् । ‘राइडिङ गर्दा ढाड दुख्ने,आँखा धुलो पार्ने लगायत समस्या खेप्नु पर्छ,’ सबित्राले भनिन् ।
चालकले आफ्नो कम्पनीको पहिरन लगाउँदा टयाक्सी र सार्वजनिक यातायातका चालकले हेपाहा प्रवृति गर्ने भएकाले डे«स नलगाएको सरिता बताउँछिन् ।
जोखिमको दृष्ठिकोणले सेकेन्ड–सेकेन्डमा चुनौती हुने मंगलको सुझाव छ । भन्छन, ‘दुई पाँग्रे सवारी पल्टिने सम्भवत बढी हुन्छ, यसमा होसियारीपूर्वक राइड गर्नुपर्छ ।’
‘राइडर छनौट गर्दा के कति अनुभव छ, हाउभाउ कस्तो छ, के खान्छ खादैन जस्ता कुरामा ध्यान दिनु पर्छ,’ मुकुन्द भन्छन्, ‘यि कुरामा ध्यान नदिँदा राइडरको छबि बिग्रिन्छ ।’
नयाँ सेवाग्राहीले लोकेसनको कारणले आफै रिसाउने तितो अनुभव सुनाउँदै मंगल सुनाउछन्,‘एक पटक बुद्धनगरको लोकेसन राखेर नक्साल बस्नु भएको थियो, उहाँलाई आधा घण्टा कुरेको थिँए ।’
सुरक्षित र व्यवस्थित बनाउन के गर्ने ?
बेरोजगार युवाले आफ्नो सवारी साधन भएमा सजिलै रोजगारी प्राप्त गर्न सकिने राइडरको अनुभव छ । यसबाट छोटो अवधीमा धेरै आम्दानी पनि हुने बताउँछन् । यसलाई व्यवस्थित बनाउन कानूनी रुपमा नीतिनियम निर्माण गर्नु पर्ने राइडरहरुको सुझाब छ ।
राइडिङलाई सुरिक्षित र व्यवस्थित बनाउनका लागि सरकारी निकायबाट नै व्यवस्थापन गर्नुपर्ने सरिताको सुझाव छ । यो पेशालाई व्यवस्थित बनाउन मोटर साइकलको ब्लुबुक र चालकको लाइसेन्स मात्र हेरेर नहुने मुकुन्दको भनाइ छ । ‘राइडर छनौट गर्दा के कति अनुभव छ, हाउभाउ कस्तो छ, के खान्छ खादैन जस्ता कुरामा ध्यान दिनु पर्छ,’ मुकुन्द भन्छन्, ‘यि कुरामा ध्यान नदिँदा राइडरको छबि बिग्रिन्छ ।’
नियमित रुपमा यही पेसा गर्ने र यही पेसाबाट जीवन गुजारा गर्नेलाई विशेष प्राथमिकता दिनु पर्ने चन्द्रको कथन छ ।
गज्जब भने मुकुन्दले । यस्तो भइदिए त राम्रै हुन्थ्यो । अनि ब्यावसायिक राइडरले पनि भन्ने थिए,‘आहा ! जिन्दगी ।’
छुटाउनु भयो कि ?
स्वरको जादुले सारा चकित
शारीरिक रुपमा अशक्त गंगाले मारेको छलाङ
प्रदुषित वायुले बिगार गर्ला, यसरी अपनाउन सकिन्छ सतर्कता
डिजेवाला दिदी गीत सुनाइदेउ
त्रिविका विद्यार्थीले यी अस्पतालबाट पाउँछन् ९० प्रतिशत छुट