युवापुस्तामा यसकारण घट्दै छ आध्यात्मप्रति रुचि
आज संसारमा अधिकांश मानिसहरू, विशेषगरी युवापुस्ताहरूमा अध्यात्मप्रति एक प्रकारको एलर्जी रहेको पाइन्छ । यो किन भएको हो भने, आध्यात्मकितालाई त्यस हदसम्म कुरूप रूपमा प्रस्तुत गरिएको छ । मानिसहरूले अध्यात्म भनेको राम्रोसँग नखानु, सडकको छेउमा बसेर भिख माग्नु भन्ने बुझेका छन् । मानिसहरूको बुझाइमा आध्यात्मिकता भनेको दारूण जीवन बाँच्नु, आफैँलाई यातना दिनु अनि सर्वोपरि जीवन–विरोधी हुनु— जे गरेर हुन्छ, जीवनको आनन्द नलिनु अनि सम्भव भएसम्म हरेक तरिकाबाट पीडित बन्नु भन्ने रहेको छ ।
तपाईंको बाहिरी परिस्थितिसँग आध्यात्मिकताको कुनै सरोकार हुँदैन । तपाईं चाहे झुपडीमा बस्नुहोस् वा महलमा, तपाईं आध्यात्मिक हुन सक्नुहुन्छ । झुपडीमा बस्ने वा महलमा बस्ने कुरा तपाईंको रोजाइ हुन सक्छ अथवा सामाजिक र आर्थिक विवशता हुन सक्दछ । तपाईं आध्यात्मिक हुने कुरासित यसको कुनै सम्बन्ध हुँदैन ।
मूल जीवन नै आनन्दित हुन खोजिरहेको हुन्छ । यसो तपाईं आफ्नो जीवनलाई नियाल्नु होस्— तपाईं आफूलाई शिक्षित बनाउनु हुन्छ, तपाईं पैसा कमाउन चाहनुहुन्छ, तपाईं घर, परिवार, बच्चाहरू निर्माण गर्न चाहनुहुन्छ— यी सबैथोक तपाईं यसकारण चाहनुहुन्छ, किनकि यिनले कुनै न कुनै दिन आनन्द प्रदान गर्लान् भन्ने आशा लिएर बाँच्नुभएको छ ।
आध्यात्मिक हुनु भनेको अनुभवजन्य स्तरमा यो जान्नु हो कि “मेरो आनन्दको स्रोत म स्वयं हुँ” । यतिखेर, तपाईं यो विश्वास गरिरहनु भएको छ कि तपाईंको आनन्दको स्रोत कुनै वस्तु वा कोही व्यक्ति हो, त्यसैले तपाईं सधैँ तीबाट निर्देशित र निर्धारित रहनुहुन्छ । यदि तपाईंमा आफ्नो आनन्दको स्रोत आफू स्वयं हुँ भन्ने कुराको बोध र अनुभव भयो भने, के तपाईं जतिबेला पनि आनन्दित रहनुहुन्न थियो र ? यो कुनै विकल्प समेत होइन ।
वास्तवमा, मूल जीवन नै आनन्दित हुन खोजिरहेको हुन्छ । यसो तपाईं आफ्नो जीवनलाई नियाल्नु होस्— तपाईं आफूलाई शिक्षित बनाउनु हुन्छ, तपाईं पैसा कमाउन चाहनुहुन्छ, तपाईं घर, परिवार, बच्चाहरू निर्माण गर्न चाहनुहुन्छ— यी सबैथोक तपाईं यसकारण चाहनुहुन्छ, किनकि यिनले कुनै न कुनै दिन आनन्द प्रदान गर्लान् भन्ने आशा लिएर बाँच्नुभएको छ । तर यतिखेर, तपाईंले थुप्रै चीजहरूको चाङ लगाउनु भएको छ, अनि एउटै कुरा बिर्सिइएको छ— त्यो हो आनन्द ।
मानिसहरू किन दुःखी भएका छन् भने, उनीहरूमा जीवन के हो भन्ने बारेमा निकै गहिरो गलत बुझाइ रहेको छ । “हैन ! तर, मेरा श्रीमान्, मरी श्रीमति, मेरी सासू…” ठिक छ, सबैजना छन्, तर तपाईं स्वयं दुःखी हुन रोज्नुहुन्छ, किनकि तपाईंले दुःख–पीडामा लगानी गर्नुभएको छ । तपाईं यो सोच्नुहुन्छ कि दुःखी भयो भने, तपाईंले केही पाउनुहुनेछ । उदाहरणको लागि, तपाईंको परिवारमा कुनै सदस्यले यस्तो काम गर्छन्, जुन तपाईं उसले नगरिदियोस् भन्ने चाहनुहुन्छ । तब, तपाईं आफैँलाई दुःखी बनाउनु हुन्छ अनि केही नतिजा निस्किएला कि भन्ने आशामा उदास अनुहार लिएर हिँड्नुहुन्छ । केही पाउने नियतले तपाईं आफैँलाई दुःखी बनाउन इच्छुक हुनुहुन्छ ।
एकपटक जब तपाईं दुःखी बन्नुहुन्छ, तब तपाईंको हातमा स्वर्ग नै भएपनि त्यसको के अर्थ ? तर, यदि तपाईं आनन्दित व्यक्ति हुनुहुन्छ भने, तपाईंको हातमा केही पनि छैन भनेपनि के नै फरक पर्छ र ? यदि तपाईं साँच्चिकै आनन्दित हुनुहुन्छ भने, तपाईंसँग के छ वा के छैन, तपाईसँग कोको छन् वा कोको छैनन् भन्ने कुराले अर्थ राख्छ र ? कृपया यसलाई मनन गर्नुहोस्: यसलाई वा त्यसलाई आफ्नो बनाउनको निम्ति तपाईंमा जुन इच्छा र चाहना हुन्छ, हेरचाह र मायाको जुन भाव हुन्छ, यो किन हुन्छ भने, तपाईंमा त्यसबाट आनन्द प्राप्त हुनेछ भन्ने अपेक्षा रहेको हुन्छ ।
मानिसहरू सधैँ मलाई यो प्रश्न सोध्ने गर्छन्, “आध्यात्मिक र सांसारिक व्यक्तिबिच के भिन्नता हुन्छ ?” ठट्टाको रूपमा, म उनीहरूलाई यो भन्ने गर्छुः सांसारिक व्यक्तिले आफ्नो लागि खाना मात्रै जुटाउँछ । अरू सबै आनन्द, शान्ति, प्रेमको लागि उसले माग्नुपर्ने हुन्छ । आध्यात्मिक व्यक्तिले आफ्नो लागि सबैथोक जुटाउँछ— प्रेम, शान्ति र आनन्द । उसले खानाको लागि मात्र भिक्षा माग्छ, तर यदि उसले चाहने हो भने, उसले त्यो पनि जुटाउन सक्छ !