सहरी जिब्रोमा रैथाने स्वाद
स्थानीय भान्छाका स्वादहरू सहरका रेष्टुरेन्टमा
आम बुझाईमा रैथाने खाना भन्नाले गाउँले खाना हो । पहिले यस्तो खानालाई बेवास्ता गरिन्थ्यो । तर सहरको चिल्लो पिरो खानाले मान्छे विरामी पर्न थालेपछि गाउँले खाना भनी हेला गरिने त्यस्तो खाना धेरैको रोजाइमा पर्न थालेको छ । सहरको रेस्टुरेन्टमा ढिडोले राज गर्दैछ । रैथाने खाना स्वस्थ्यकर हुन्छ । यसको मौलिक स्वाद हुन्छ ।
पूर्वको झापा जाँदा भक्का, थारू गाउँमा घोंघी र ढिक्री, मुस्ताङमा जाँदा थकाली खाना अनि रौतहट जाँदा कटिया नखाने को होला र ? यस्ता रैथाने खाना जाति, ठाउँ र संस्कृति अनुरूप फरक-फरक हुन्छन् । यी खाना अब काठमाडौंलगायत सहरका रेस्टुरेन्टमा छिर्दैछन् । आउनुहोस्, पहिला रैथाने खानाबारे जान्नुहोस् । अनि, रोज्जा खाना खाएर मुखको स्वाद फेर्नुहोस् ।
भक्का
झापाको राजवंशी जातिमा प्रचलित खानाको परिकार हो भक्का । तर यो अब पूर्वमा सबैको रोजाइको खाना भएको छ । चामलको पिठोबाट बनाइने यसको स्वाद हामीले काठमाडौँको पुरानो बानेश्वरमा रहेको रेष्टुरेन्टवाट पनि लिन सक्छौ । युवा व्यवसायी प्रदिप राईले रैथाने भक्काको स्वाद पस्किनका लागि तीन वर्षदेखि ‘भक्का हाउस’ सञ्चालन गरेका छन् ।
भक्का बनाउन सामान्य भाँडा, मोटो टाइचिन चामलको पिठो र सुतीको सेतो कपडा भए पुग्छ । एउटा भक्का पाक्न धेरै समय लाग्दैन ।
भक्का विशेषगरी जाडो छल्नका लागि चिसो याममा खाने प्रचलन छ । गाउँघरमा सादा भक्का खाने प्रचलन छ । व्यवसायी राईले चकलेट, स्विट, खुवा र सख्खर फ्लेबरको भक्का बनाएर नयाँ पुस्तालाई यसको स्वाद चखाइरहेका छन् ।
राईको भक्का हाउसमा प्लेन भक्काको प्रति भक्का ४० रुपियाँ र फ्लेबर भक्काको ६० रुपैयाँ पर्छ । भक्का व्यवसाय सञ्चालन गर्न थोरै लगानी भए पुग्ने तर व्यवस्थापनमा खर्च लाग्ने उनको भनाई छ ।
भक्का बनाउन सामान्य भाँडा, मोटो टाइचिन चामलको पिठो र सुतीको सेतो कपडा भए पुग्छ । उनका अनुसार एउटा भक्का पाक्न धेरै समय लाग्दैन । रैथाने खाना भएकाले ग्राहकहरू नयाँ स्वाद लिन भक्का हाउस खोजी–खोजी आउने गरेको उनी बताउँछन् ।
कटिया
काठमाडौँमा एकदमै नयाँ नाम हो, रैथाने खाना कटिया । यो खाना माटाको भाँडामा पकाइने मासुको एक परिकार हो । यो परिकार पहिले रौतहटको कतरिया क्षेत्रमा पकाएर लोकप्रिय हुनाले यसको नाम कटिया हुन गएको हो ।
व्यावसायी राज अर्याल लगायत पाँच जनाले सिनामंगल, काठमाडौंमा लेकाली किचन एण्ड कटिया हाउस सञ्चालनमा ल्याएका छन् । आफूले नै पहिलो पटक कटिया काठमाडौंमा भित्र्याएको उनको भनाइ छ । उनको रेस्टुरेन्टमा थकाली खाना, हाँसको छोयला, च्याङग्राको सुकुटी, बधियाँ कुखुराको मासु लगायत अरु विभिन्न थरिका परिकार पनि पाइन्छ । तर, ४० प्रतिशत ग्राहक कटियाको स्वाद लिनकै लागि रेस्टुरेन्टमा आउने गरेका छन् । मटन, भेज र चिकेन भेराइटीमा पाइने कटिया पाँच सयदेखि साढे सात सय प्रतिप्लेटसम्म पर्छ ।
लेकाली किचन एण्ड कटिया हाउसमा अग्र्यानिक रैथाने थकाली खाना पाइने अर्का सञ्चालक मधुसुदन ढकाल जनाउँछन् । पारिवारिक वातावरणका साथ स्पेशल बधिया, बट्टाई, कालिजको मासुलगायत ढिडो, मर्सी थकाली खाना सेट पनि पाइने उनी बताउँछन् ।
वाचिपा
राई समुदायको रैथाने खानाको परिकार हो, वाचिपा । कुखुरालाई राईहरूले ‘वाप्पा’ भन्ने भएकाले लोकल कुखुराको मासुबाट बनाइने परिकारलाई वाचिपा भनिन्छ ।
अहिले वाचिपाको स्वाद धेरैको जिब्रोमा झुण्डिई सकेकाले स्थानीय मात्र होइन, विदेशी ग्राहक समेत आइरहेका छन् । फ्राई राईसको प्रतिप्लेट २ सय ५० र ग्रेबी मासु वाचिपा खाना सेट ४ सय ५० रुपैयाँ पर्छ ।
खासमा वाचिपा कुखुराको भुत्ला डढाएर बनाइने धुलोलाई बुझिन्छ । यसको प्रयोग मसलाको रूपमा गरिन्छ । यही मसलाको प्रयोग गरी बनाइने लोकल कुखुराको मासुलाई वाचिपा भनिन्छ ।
यो खोटाङका राई समुदायको लोकप्रिय खानाको एक परिकार हो । स्थानीय खानालाई सबै समक्ष पुर्याउनका काठमाडौंको तिखेदेवलस्थित यलखिम रेस्टुरेन्ट सञ्चालनमा रहेको छ । यस रेस्टुरेन्टमा वाचिपाबाहेक राई समुदायको रैथाने खानाको विशेष परिकारको स्वाद लिन सकिन्छ ।
काठमाडौंबासीका लागि यो परिकार एकदमै नयाँ रहेको यलखिम रेस्टुरेन्टका म्यानेजर सन्तोष राई बताउँछन् । फ्राई राइस र ग्रेबी मासु गरी वाचिपा दुई तरिकाले पकाइन्छ । विगत तीन वर्षदेखि रैथाने वाचिपाको स्वाद दिई रहेको रेष्टुरेन्ट किराँती राजा ‘यलम्बर’को ‘यल’ र ‘खिम’ को अर्थ घर हुने भएकाले राजाको दरबार भनी ‘यलखिम’ रेस्टुरेन्ट नामकरण गरिएको उनले अथ्र्याए ।
अहिले वाचिपाको स्वाद धेरैको जिब्रोमा झुण्डिई सकेकाले स्थानीय मात्र होइन, विदेशी ग्राहक समेत आइरहेका छन् । फ्राई राईसको प्रतिप्लेट २ सय ५० र ग्रेबी मासु वाचिपा खाना सेट ४ सय ५० रुपैयाँ पर्छ । वाचिपा खाना जाडोमा एकदमै स्वस्थबर्द्धक हुनुका साथै सुत्केरीलाई यसको सुप फाइदाजनक मानिन्छ ।
घोंघी
थारू समुदायमा प्रचलित रैथाने खानामा घोंघी र ढिक्री मुख्य मानिन्छ । यही रैथाने खानाको व्यवसायिक कारोवार विगत तीन वर्षदेखि कीर्तिपुरमा बरघर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्, व्यवसायी सिताराम चौधरीले ।
घोेंघीबाट प्रशस्त मात्रमा भिटामिन पाइन्छ । यसले पाचन प्रणाली सुधार गर्नुका साथै हार्डजोर्नीको समस्या भएकालाई फलदायी हुन्छ ।
घोंघीलाई नेपालीमा शंखेकिरा भनिन्छ । घोंघी पोखरी, खोला, ताल र बर्खाको सिजनमा धानको खेतमा समेत पाइन्छ । यसलाई खोला, पोखरी, ताल र धानको खेतबाट ल्याएर एक दुई–पटक राम्ररी पखाल्ने । पखालेको घोंघी पानीमा छ देखि बाह्र घण्टा चामलको पिठो वा कनिका हालेर राख्नुपर्ने सञ्चालक चौधरी बताउँछन् । त्यसपछि सफा गरिएको घोंघीको चुच्चो काटेर पकाइन्छ । एक पटक उमालेर चुच्चो काटे अझ राम्रो ।
काठमाडौंमा घोंघीको स्वाद बाह्रमास लिन पाइन्छ । घोेंघीबाट प्रशस्त मात्रमा भिटामिन पाइन्छ । यसले पाचन प्रणाली सुधार गर्नुका साथै हार्डजोर्नीको समस्या भएकालाई फलदायी हुन्छ ।
ढिक्री
ढिक्री चामलको पिठोबाट बनाइने एक परिकार हो । पूर्वीय थारू समुदायले यसलाई बगिया भन्छन् । यो नेवारी परिकार योमरी जस्तै हुन्छ । यो परिकार थारू समुदायमा दशैं, तिहार र माघमा कुल देउताको पूजामा पनि प्रयोग गरिन्छ । माइत आएकी छोरीलाई विदाई गर्दा ढिक्रीको कोेशेली बनाएर पठाउने चलन छ । त्यसैले, ढिक्री खाजा मात्रै नभई थारू संस्कृतिको अभिन्न अंग पनि हो । योमरी गुलियो भएझैं ढिक्रीलाई पनि आफ्नो स्वाद अनुसार विभिन्न फ्लेबरमा बनाउन सकिन्छ । तर सामान्यतः ढिक्री सादा नै हुन्छ । यो घोंघीसंग खाँदा स्वादिष्ट मानिन्छ ।
सुटही अर्थात् सितुवा पनि घोंघी प्रजातिकै खाना हो । यसलाई खोला वा पोखरीबाट ल्याएर उमालेर भित्रको मासु फ्राई गरेर खाने गरिन्छ ।
बरघर रेस्टुरेन्टमा अन्दी चामलको भात, बयरको चट्नी, बरिया, सुटही, गंगटा रैथाने थारू आलु जस्ता अन्य मौलिक थारू परिकार पनि पाइन्छ । बरिया अन्दीको चामलको पिठोबाट सानो–सानो रोटी बनाई तेलमा तारिन्छ । सुटही अर्थात् सितुवा पनि घोंघी प्रजातिकै खाना हो । यसलाई खोला वा पोखरीबाट ल्याएर उमालेर भित्रको मासु फ्राई गरेर खाने गरिन्छ ।
यहाँ घोंघी, ढिक्री, अन्दीको भात, बरिया र थारू आलु प्रतिप्लेट एक सय र बयरको चट्नी प्रतिप्लेट तीस रुपैयाँ पर्ने सञ्चालक चौधरी बताउँछन् । यसैगरी गंगटा र सुटही प्रतिप्लेट तीन सयदेखि चार सयसम्म पर्छ । थारू खानाका लागि प्रयोग हुने सामग्री बर्दिया, सिरहा, सप्तरीलगायतका जिल्लाका अर्ग्यानिक उत्पादन ल्याएर बनाइने चौधरी जनाउँछन् ।