यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)
शरीरदान । यो शब्द सानो छ, तर यसको अर्थ भने धेरै लामो छ । शब्द सानो भएपनि यो निर्णय भने आफैँमा कठोर हो । सामान्य मानिसले यति ठूलो घोषणा गर्न पनि डराउँछ । तर यी सबका बीच संस्कृतिविद् तथा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले गत माघ ३० गते मृत्युपछि शरीर दानको घोषणा गरे । उनीसँगै उनकी धर्मपत्नी राधादेवी जोशीले पनि मृत्युपछि शरीर दानको घोषणा गरिन् । जोशी दम्पत्तीले ललितपुर महानगरको कार्यालयमा भएको एक कार्यक्रममा यस्तो घोषणा गरेका थिए । १०१ वर्षका जोशी र ९६ वर्षकी राधादेवीले गरेको यो घोषणाले केही हदसम्म धेरै मानिसहरूमा आत्मविश्वास थपिदिएको छ ।
प्रस्तुत छ, शरीर दान गर्ने उनै शताब्दी पुरुष जोशीसँग गरिएको कुराकानीको छोटो अंश – सं
शरीरदान गर्नुभएको कुरा आएको छ, खास कुरा के हो ?
कुरा के हो भने, त्यो किष्ट कलेज त्यहाँका डाइरेक्टर आएका थिए । उनीसँग कुरा गर्दा उनले भने, तपाई अब देशको ज्येष्ठ नागरिक, उमेरको हिसावले । त्यसैले तपाईलाई चीफ गेस्टको रूपमा निम्ता दिनुप-यो भनेर आएको हुँ । पछि त्यो अस्पतालमा जाँदा, जान त पहिला पनि गएको थिएँ, तर अहिले जाँदा धेरै राम्रो, बिल्डिङ्ग पनि ज्यादै राम्रो, छात्रावासहरू पनि अत्याधिक राम्रो, ट्रिटमेण्ट गर्ने ठाउँ पनि हरेक किसिमले राम्रो, त्यो स्थान खुल्ला पनि रहेछ र विद्यार्थीको चहलपहल पनि धेरै रहेछ ।
विद्यालयको कार्यक्रममा बोल्दा बोल्दै उपकारकै काम गर्ने अस्पताल, पैसा कमाउने मात्रै होइन, उपकारमा पनि त्यत्तिकै सक्रिय रहेको देखेँ । र, मलाई धेरै प्रभाव परेको हो । आइ वाज इन चाइना, चीनमा बस्दाखेरि मलाई असाध्यै मन परेको उनीहरूको जनजीवनमा प्रभावित भएँ । त्यो बेला माओत्सेतुंगदेखि लिएर अन्य चीनका व्यक्तिहरूबाट धेरै प्रभावित भएको थिएँ । उनीहरूमा मैले आफ्नो देशको निम्ति र आफ्नो जनताको निम्ति साथै अन्तर्राष्ट्रिय रूपमा पनि सहयोग गर्नुपर्छ भन्ने भावना देखेपछि म प्रभावित भएको थिएँ । त्यहीँबाट मैले यो मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको हुँ ।
यसको प्रयोग कसले गर्न सक्छ ?
किस्ट कलेजमा त्यो कार्यक्रममा जाँदा त्यहाँ धेरै विद्यार्थी रहेछन् । त्यहीबेला मैले भनेँ, मलाई शताब्दी पुरुष भन्छन्, यो मैले खोजेको त होइन, कसैले बनाइदिए । हुन त मलाई ९५ वर्षमै शताब्दी पुरुष बनाइयो तर अहिले १०१ वर्षको भएको छु, सबैले मलाई के खानुभयो र ? यति लामो आयु भयो भन्छन्, अब के खानु, । सधैँ मासुभात खाने पनि होइन, त्यही सामान्य त हो, दाल भात तरकारी, तर यो भन्दा पनि तपाईका विद्यार्थीलाई यसको रिसर्च गर्न लगाइदिनुुस् न । दुई, तीन जना लगाए भइहाल्छ भनेँ । उनीहरूमा अलिकति प्रभाव चाँहि पर्याे । यस्तै किसिमले दुईचार वटा कथा सुनाएको आधारमा, कुराकानी गर्दाखेरी अनि मलाई के आयो भने, यी विद्यार्थीहरूको निमित्त, के कहाँ छ, कस्तो छ, के भएको छ ? भन्ने बारेमा अध्ययन गरुन् भनेर मृत्युुपछि शरीर दान गर्ने निर्णय गरेको हो । यो विद्यार्थीहरूले अध्ययन गर्नका लागि प्रयोग गर्न सक्छन् ।
आजकै दिन (चैत २ मा) मात्र गोरखापत्र कि कुन पत्रिकाको फ्रन्ट पेजमै ट्रान्सप्लान्टकै विषयमा लेखेको रहेछ । ११ महिनाको बच्चाको मिर्गौला ट्रान्सप्लान्ट गरेको रहेछ, १२ घण्टा लगाएर, जसलाई ६० जना डाक्टरहरूको टोलीले गरेको रहेछ, आजकै न्यूूज । अनि बाउ चाँहिले, ३५ वर्षको बाउले छोरोलाई, आफ्नो लिभर दिएको छ । त्यो अहिले दुवै जना ठीक छु भनेको छ ।
यसले त मलाई पनि प्रभाव पारिराख्यो । किनभने मेरो पनि प्लान मरेपछि पनि मेरो कुनै अङ्ग प्रत्यङ्गले कसैलाई काम दिन्छ, आँखाले काम दिन्छ, के दिन्छ, कसो दिन्छ भने त्यो पनि काम लागोस् । नभए मेरो चाँहि चिरफार गरेर यो मान्छे कसरी लङ्गलाइफ बाँच्यो, यसको फोक्सोमा कस्तो थियो, किड्नीको के थियो, किन किड्नी बिग्रेन यसको ? हार्ट कस्तो छ, दायाँबायाँ के छ, कस्तो छ भनेर अध्ययन गर्नलाई त काम लाग्छ । त्यही अध्ययन गर्नको लागि, स्पेशली मेडिकल साइन्सका विद्यार्थीहरूका निम्ति, उनीहरूले पनि नयाँ कुरा पत्ता लगाओस् न । अरुको सय वर्ष बाँचेको र मेरो सय वर्ष बाँचेको के फरक छ ? कोही रोगी होला, कोही के होला, मेरो त्यस्तो रोगसोग पनि केही छैन । राम्रै छ, बाँचिराखिएकै छ भनेँ मेरो जीवनको लामो आयुको रहस्य पनि केही त होला । त्यसैले, यसको रहस्य अध्ययन गर्न पाएमा पनि कमसेकम उनीहरूको मेडिकल साइन्सकै निमित्त, उनीहरूले नयाँ कुरा केही पत्ता लगाएर केही गरे भने त, विश्वका लागि जान्छ नि, मेडिकल साइन्समा जान्छ । त्यही होस्, विश्वका लागि केही होस् भनेर गरेको हो । त्यो इच्छाले गरेको हो ।
धार्मिक र सांस्कृतिक केही कारण छन् कि ?
धर्म संस्कृतिको निम्ति, देवी देवताको निम्ति, पुण्य कमाउनको निम्ति, संस्कारको निम्ति, समाजले के भन्ला, अरुले के भन्ला, यो चाँहि अब ठूलो हुन खोजेको, यताउति केही पनि होइन । त्यसको बारेमा सोचेको पनि छैन मैले । म मेरो आफ्नो संस्कार मान्ने मान्छे, आफ्नो रितिस्थितीको धर्म गरेर, पूजाआजा गरेर, जेजे गर्नुपर्छ गरेर आइरहेको मान्छे । मेरो निम्ति त्यस्तो केही छैन, त्यो नराम्रो काम गरेको दृष्टिले गरेको होइन, त्यो आफ्नो ठाउँमा छ, यथावत स्थानमा छ । अब यो चाँहि शरीर चाँहि त्यसै खरानी भएर जाने हुँदा तिनीहरूको अध्ययनको एउटा विषय, च्याप्टर अन हुन्छ । केही कुरा पत्ता लाग्यो भने एउटा नयाँ कुराको च्याप्टर हुन्छ । त्यसैले दिएको हो, यो एउटा च्यारिटेबल हो । यसमा कुनै धर्म दर्शनको बारेमा नराम्रो गर्न खोजेको होइन ।
आम मानिसलाई शरीर दानका विषयमा के सल्लाह दिन चाहनुहुन्छ ?
त्यो मैले दिने सल्लाह नै होइन, मैले यस्तै सल्लाह दिन लागेँ भने अल कन्सेप्टसन बिग्रिन्छ । प्रपोगाण्डा गरेको जस्तो हुन्छ । म किन यो प्रपोगाण्डा गर्नु । उदाहरण त बनिहालेँ, मैले आफैँले दिएपछि, दिइहालेँ, यो नै एउटा उदाहरण बनिहाल्यो । अब यसो गर्, उसो गर् भनेर किन भन्नु । अब तपाईले सोध्नुभयो भनेँ नत्र, अरुले यस्तो गर्, उस्तो गर् भन्दा, त्यो गर्याे भने त बिग्रिन्छ नि त । अर्काको कति परम्परादेखि गरिरहेको कुरामा शरीर दान दिने रे ठूलो मान्छे हुन खाजेको भन्ला, कसैले के भन्ला, त्यो भावना नै छैन, प्रपोगाण्डा जस्तो हुन्छ । यो भावना भयो भने इस पाइस्, त्यसले बिगार्छ । शरीर दान गर्ने मान्छे म, त्यो भन्दा म के कम, भन्ने अहम् भावना आउँछ । त्यसैले म चुप लागेर बसेको छु । तपाईले सोधेर मात्रै भनेको हो ।
शरीरको सदुपयोग कसरी हुन्छ भन्ने ठान्नुभएको छ ?
अब मरेकै छैन, मर्छु अब । अनि, थाहा होला । मरेपछि खबर गर्छ, खबर गरेपछि उनीहरू लिन आउँछ, उनीहरूले लगेपछि, उनीहरूको शवदाह गृह कता छ ? कहाँ राख्छ, त्यसपछि चाहिने बेलामा चिरफार गर्लान्, त्यसपछि आवश्यक अङ्ग, प्रत्यङ्ग कोही मान्छेलाई त्यहिबेला चाहिएको छ भने, दान गर्ला, प्रत्यारोपण गर्ला । नभए रहिरहन्छ । त्यो उनीहरूको काम हो । अहिले त बाँची राखिएको छ ।