English

फलामको बाकसमा फेला परेको इतिहास



२०७२ सालको भूकम्पमा निकै प्रभावित क्षेत्रमध्ये एक हो, हनुमानढोका दरवार परिसर । धेरैले अनुमान गरेका थिए, यो ऐतिहासिक क्षेत्र अब खण्डहर हुने भयो । तर, अनुमान विपरित हनुमानढोका दरवारले पुनर्जीवन पाएको छ । जीर्णोद्वारसँगै दरवारको ढुकुटी भवनमा प्राचीन एवम् मौलिक स्वरूपको गरगहना प्रदर्शनी शुरू भएको छ ।

२०६८ असार १३ गते हनुमानढोका दरवारस्थित न्हुच्छे चोक र फरासखानाबीचको भवन जीर्णोद्वार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्री फलामको बाकसमा पुरिएको अवस्थामा फेला परेका थिए ।

ती फेला परेका पुराना सामग्रीलाई सरसफाई गरी २०७२ सालको भूकम्पभन्दा अघि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो । प्रदर्शनीका लागि सोकेसहरू पनि तयार पारिएको थियो । तर २०७२ सालको भूकम्पमा हनुमानढोका क्षेत्रका भवनहरू क्षतिग्रस्त भए । सोकेसहरू राखिएको ठाँउ पनि क्षतिग्रस्त भएकोले त्यस सामग्री प्रदर्शनी गर्ने काम पनि रोकिएको हनुमानढोका दरबार हेरचाह अड्डाको सूचना अधिकृत मायादेवी अर्यालले बताइन् ।

ढुकुटी भवन नै किन रोजियो ?

हेरचाह अड्डाको सूचना अधिकृत अर्यालका अनुसार ढुकुटी भवन राणाकालमा बनेको भवन हो, जसलाई राणाहरूले ढुकुटीको रूपमा प्रयोग गर्थे । तर राजसंस्थाको अन्त्यपछि त्यो भवन खाली थियो । यो भवन स्वयम् पनि एक खुल्ला संग्रहालय जस्तो छ । यो भवनको तलको भागमा चिसो सोस्न हवासहरू राखिएको छतको भागहरू पनि अन्य भवनभन्दा अलि बेग्लै ओबल सेभको रहेको छ । भवन नै पनि एक आकर्षणको केन्द्र भएकोले यी पुराना सामग्रीको प्रदर्शनको लागि ढुकुटी भवन नै चयन गरियो ।

सतीप्रथासँग कसरी जोडियो संग्राहलय ?

पुराना गरगहना प्रदर्शनकै लागि खोलिएको संग्रहालय सम्भवतः नेपालभरमा यो नै एउटा हो । यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सतीप्रथामा उल्लेख भएका कुराहरूको प्रमाण यस संग्रहालयमा हेर्न पाइन्छ । राजराजेश्वरी देवी सती जाने बेलामा उनले वायु देवता र आकाश देवतालाई चढाएका गरगहना यस प्रदर्शनमा राखिएको छ । बहुमूल्य हीराको मुकुट, बनमाला, तुलसी पत्र माला, सुन तथा चाँदीको मुद्रा, देवताहरूलाई चढाइने गहनाहरू तथा अन्य विभिन्न सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।

१९७७ सालमा अन्त्य भएको सती प्रथाको बारेमा धेरैले पढेका र सुनेका छौँ, तर पछिल्लो पुस्ताका धेरैका लागि यो कुरा कथा जस्तो मात्र छ । यस्तोमा संग्रहालयमा राखिएको सती प्रथाको बेलामा चढाएका गहना भौतिक रूपले नै हेर्ने अवसर भावी पुस्ताले पनि प्राप्त गर्नेछन् । सती प्रथाको बारेमा प्रमाण दिने आधारको रूपमा ती गहनाहरू हुनेछन् ।

ऐतिहासिक महत्वका अन्य सामग्री

प्रदर्शनीमा अन्य विभिन्न महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्रीहरू पनि छन् । जस्तै–भगवानको चाँद, सिरफूल, भगवानको पाखुरामा लगाउने बाजु, कमरबन्द, सुनको मुकुट, कोहिनुर हीराको मुकुट, विभिन्न देववी देवताको मूर्ति, ढक तराजु, पुरानो पैसा तथा घडी पनि देख्न पाइन्छ ।

हनुमानढोका क्षेत्र विश्व सम्पदा सूचीमा परेको ठाउँ भएको हुनाले यहाँ स्वदेश तथा विदेशबाट विभिन्न दर्शकहरू घुम्न आउँछन् । अझ इतिहासको जानकारी राख्न चाहनेहरूको लागि हनुमानढोका दरबार क्षेत्र तथा यहाँ भएको भवनहरू नै पनि अध्ययनको लागि एउटा खुल्ला संग्राहलय हो ।
यहाँको भवनहरूमा गरिएको काष्ठकला, मूर्तिकला, तथा तेरकोटा आर्टको अध्ययनको लागि यो क्षेत्र एकदमै महत्वपूर्ण हुन सक्छ ।

२०६७ साल पुस १२ गते हनुमानढोका दरबार संग्रहालयमा परिणत गरियो । त्यसपछि आम दर्शकहरूले पनि हेर्न मिल्ने बनाइयो । यहाँको दुई चोकहरू मोहनकाली चोक र सुन्दरी चोकमा प्रताप मल्लको पालामा राखिएको शिलालेख छ, जहाँ प्रताप मल्ल राजा हुँदा नेपाल घुम्न आएका पादरी र हेनरी नाम गरेका विदेशी नेपाल घुम्न आएका थिए । उनीहरूसँग भेटवार्ताको प्रसंगका साथै अन्य देशहरूसँगको सम्बन्धको कुरा शिलालेखमा उल्लेख गरिएको छ ।

त्यहाँ एउटा सुनको धारा पनि छ । काठको चौकोसहरूमा पञ्चरक्षा र विष्णु धर्मका कथाहरू कुँदिएका छन् र स–सना मूर्तिहरू पनि छन् । सबैभन्दा महत्वूर्ण तथा एशियाकै नमूना भन्ने गरिएको एकदमै सजीव देखिने कालीया दमनको मूर्ति पनि छ । चार वटा टुक्राहरू जोडिएर बनेको त्यो मूर्तिमा हरिवंश पुराणमा उल्लेख गरिएअनुसार काली नागले भगवान कृष्णलाई काली नागले दमन तथा आक्रमण गर्न आएको दृश्य देखाइएको छ । हाल ती चोकहरू भने बन्द रहेका छन् ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन