English

बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ६७ परिवारको निःशुल्क स्वास्थ्य बीमा



बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरेको छ । शनिबार अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारका करिव ३ सय जनाको अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको हो । अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईँले अर्जुनधारा नरपालिकास्थित खुदुनाबारीमा आयोजित कार्यक्रममा ती विपन्न, गरिब परिवारलाई स्वास्थ्य बीमाको कार्ड वितरण गरेका हुन् । कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले गरिब, आर्थिक अवस्था कमजोर भएका व्यक्ति बिमाको पहुँचमा पुग्न नसकेकाले अस्पतालले बीमा गरिदिएर स्वास्थ्य सेवा पाउने बताए ।

अस्पतालका अध्यक्ष प्रसाईँले सामाजिक उत्तरदायित्वअनुसार गरिब, विपन्न परिवारलाई आफूले निःशुल्क बिमा गरेको बताए । उनले गरिब, आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य बीमा गर्न नसकेका त्यस्ता नागरिकलाई बीमा गरेर स्वास्थ्यमा पहुँच पु¥याउन थालिएको समेत बताए । ६७ घरपरिवारका करिब ३०० व्यक्तिले वार्षिकरूपमा निःशुल्क रु एक लाख बराबरको स्वास्थ्योपचार पाउनेछन् ।

उनकाअनुसार यस वर्ष अस्पतालले गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका एक हजार परिवारलाई स्वास्थ्य बीमा निःशुल्क गरिदिने बताए । अर्जुनधारा नगरपालिका वडा नं २ का अध्यक्ष रघु खनालले अर्थावस्था कमजोर भएका व्यक्तिले बीमाको रकम तिर्न नसकेर स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको अवस्थामा अस्पतालले निःशुल्क बीमा गरिदिएर स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार व्यक्त गरे । बिमितले एक वर्षसम्म रु एक लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क अस्पतालबाट पाउनेछन् ।

अस्पतालका अध्यक्ष प्रसाईँले ती बिमितको वार्षिकरूपमा अस्पतालले नै नवीकरण गर्ने जानकारी दिए । एक घर परिवारमा रु तीन हजार ५०० मा बिमा गरे एक वर्षसम्म रु एक लाख बराबरको स्वास्थ्य सेवा पाइने गरिन्छ । सरकारले विसं २०७२ देखि कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । अहिले ७५ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भएको छ ।

अस्पतालले स्वास्थ्य बीमा गरिदिएपछि त्यहाँ स्थानीय उत्साहित भएका छन् । खुदुनाबारीकी बिष्णुमाया कुमाल बी एण्ड सी अस्पतालले आफ्नो परिवारको स्वास्थ्य बीमा गरिदिएकोमा निकै खुशी देखिन्थिन् । उनलाई यसअघि यस बीमाको बारेमा खासै थाहा रहेनछ । स्वास्थ्य बीमा गरेपछि परिवारका सदस्यको १ लाख रुपैयाँसम्म निःशुल्क स्वास्थ्य बीमा हुन्छ भन्ने थाहा पाएपछि उनी फुरुंग छिन् । ‘स्वास्थ्य बीमामात्र होइन हामीलाई कुनै पनि बीमाको बारेमा थाहा छैन,’ उनले भनिन्, ‘थाहा पाएपनि हामीसँग बीमा गर्ने हैसियत हाम्रो थिएन ।’ ३५ वर्षीया कुमालको ३ जना छोरछोरी छन् । बिहानबेलुकाको गुजारा टार्न श्रीमान मिस्त्री काम गर्छन् ।

यसैगरी, मनमाया थापा केही महिनाअघि गाउँमा आएको स्वास्थ्य शिविरमा गइन् । पाठेघरमा क्यान्सर हुन लागेको चिकित्सकले उनलाई सुनाए । त्यसपछि निकै आत्तिइन् निराश बनिन् । ‘अब क्यान्सर नै भएपनि के गर्नु आफूसँग उपचार गर्ने पैसा थिएन,’ उनी भन्छिन्, ‘अब त मेरो परिवारकै स्वास्थ्य बीमा भयो, त्यसैले क्यान्सरको पनि उपचार गराउँछु ।’

खुदुनाबारीकै इन्द्रा सुवा मधुमेह, युरिकएसिड, थाइरोइड, ब्लड प्रेसरबाट पीडित छिन् । बिहान बेलुका छाक टार्नै धौ–धौ पर्ने सुवालाई औषधिमुलो गर्ने खर्च जुटाउन गाह्रो छ । थुपै्र रोगको सिकार बनेकी उनलाई कतिबेला के हुने हो ठेगान छैन । यद्यपि, स्वास्थ्य बीमापछि भने आर्थिक अभावमा ज्यान गुमाउनु पर्दैन भन्ने ढुक्क भएको उनी बताउँछिन् । ‘मलाई लाग्न बाँकी रोग केही छैन,’ उनी भन्छिन्, ‘अब त रोग लागेपनि म सँग स्वास्थ्य बीमा छँदै छ नि ।’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन