कुभिन्डे तालः डलर फल्ने नयाँ पर्यटकिय गन्तब्य
चारैतिर अग्ला पहाड । हरियो सल्लाघारी सुसाइरहेको सुनिन्छ । बीचमा नीलो र निर्मल ताल । हेर्दा मुटु जस्तो देखिन्छ । सरर्र हावा चलि रहने, हावाको वेगसँगै बग्ने लहरले कलात्मक दृश्य कोरिदिन्छ तालमा । कुभिन्डोजस्तो देखिने भएकाले यसको नाम यसको नाम कुभिन्डे भएको बताइए पनि टाढाबाट मुटुको आकार ताल देखिन्छ । प्रकृतिले अगाध माया गरेको यो ताल पानको पातजस्तो पनि देखिन्छ ।
नेपालगन्जबाट सुर्खेतको छिन्चु हुँदै भेरी नदीको तिरैतिरै अघि बढ्दा झन्डै तीन घण्टा लाग्छ कुभिण्डे तालमा पुग्न । नदीका अनगिन्ति स्थानमा ढढिया देखिन्छन् । अचेल ढढिया थाप्ने चलन घटदै गएको छ । पासा र सरालमा माछा मार्नेहरू बढी हुन्छन् ।
यो तालको किनारमा लस्करै डुंगा देखिन्छन् । नजिकै भैरवको मन्दिर छ । त्यहाँ ईश्वरको बास भएको विश्वास गरिन्छ । भैरवको शक्तिका कारण तालमा पात पर्ने बित्तिकै चराले टप्प टिपेर लान्छन् ।’
मन्दिर वरपरबाट झरेको पहिरोले ताल साँघुरिँदै र पुरिँदैछ । पानीको मुहानविहीन यो ताल २३ दशमलव ५३ हेक्टरमा फैलिएको छ । ८ सय ३४ मिटर लम्बाइ, ५ सय ३८ चौडाइ तथा ३४ मिटर गहिराइको यो ताल समुद्री सतहबाट ११ सय २० मिटरमाथि छ । यहाँ पर्याप्त पर्यटकीय संम्भावना रहे पनि प्रचारप्रसार शून्य छ । सल्यान सदरमुकामबाट करिब २३ किलोमिटर टाढा पर्ने यो तालसम्म पुग्ने पूर्वाधारको विकासप्रति कसैको ध्यान गएको छैन । वनगाड कुभिन्डे नगरपालिकामा पर्ने यो ताल क्षेत्र धार्मिक स्थल पनि हो । त्यसैले यो ताललाई प्रकृति र संस्कृतिको संगमस्थल पनि मानिन्छ ।
थोरै लगानीमा धेरै आर्थिक लाभ लिन सकिनेस्थानलाई कर्णाली प्रदेश सरकारले नयाँ पर्यटकिय गन्तब्यको रुपमा विकास थालेको छ । कुभिन्डे ताल कर्णाली प्रदेशको अर्को सुन खानी हो । यहाँ पर्यटक ल्याउन सकेमा डलर फल्छ । यसलाई अब यहाँका स्थानियले कसरी टिपेर समृद्ध हुन्छन् त्यो हेर्ने बेला आएको छ ।