कुटनीतिमा ‘बडी ल्याङ्ग्वेज’ को अर्थ के ?
यो सदावहार विषय हो, विश्व कुटनीतिको ‘एरिना’मा । वर्तमानमा झनै ‘बडी ल्याङ्ग्वेज’ चल्तीको भाषा बनेको छ । मुखले नबोल्ने । तर, हाउभाउले खुलस्त पार्ने । आफ्नै आँखाले देखेका त्यस्ता कतिपय दृश्य सम्झेर पनि मलाई ‘नोस्टाल्जिक’ बनाउँछ ।
कुरो, सन् १९९२ को सेप्टेम्वर १ देखि ६ तारिखसम्म इण्डोनेशियाको राजधानी जकार्तामा असंलग्न राष्ट्रहरुको १० औँ शिखर सम्मेलनको हो । सम्मेलनमा क्यूवाका तत्कालीन राष्ट्रपति फिदेल क्याष्ट्रो पनि भाग लिन आउनु भएको थियो ।
झण्डै ६ फिट ४ ईन्च अग्लो कदको भीमकाय शरीर । उस्तै सुहाउँदो दाह्री, त्यो पनि जंगी पोशाकमा । ‘पर्फेक्ट पर्सनालिटी’ झल्किरहेको थियो, क्यास्ट्रोको । उहाँ सम्मेलन भवनमा प्रवेश गर्दै गर्दा त्यहाँ जम्मा भएका आयोजक तथा विदेशी पाहुनाहरूमा ‘हिप्नोटिजम’ नै भएजस्तो भयो । कैयौँ मिनेटसम्म तालीको गड्गडाहटले उहाँलाई स्वागत गरियो । त्यति लामो समयसम्म ताली किन छुट्यो, तालीको पर्रा आम मानिसले त्यो दृश्यलाई सामान्य रूपमा नै लिन सक्छन् । तर कुटनीतिमा त्यो उच्चकोटीको भाषा थियो, स्वागतको नाममा प्रदर्शन भएको ।
क्यूवा लामो समयसम्म अमेरिकी प्रतिबन्धमा परेको देश हो । उसले दशकौँसम्म कडा प्रतिबन्ध झेल्न परेको थियो । चारै दिशा बन्द थिए, क्यूवाको । सम्पूर्ण कुरा आयात गर्ने देशमा कडा नाकाबन्दी लाग्दा कस्तो हुन्छ । छोटो समय नै सही, हामी पनि पटक–पटकका भुक्तभोगी हौं नाकाबन्दीको । त्यस्तो देशका राष्ट्रपतिको त्यस किसिमको स्वागत । सायद यसको अर्थ ‘ह्वाइट हाउस’ले जति अरु कसैले बुझेन होला ।
नेपालका तत्कालीन एकजना सरकार प्रमुखको भ्रमण पनि मेरो मानसपटलमा ताजा नै छ । सन् २००६ को जुन २ देखि ४ तारिखसम्म प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालावाट भारतको औपचारिक भ्रमण भएको थियो । त्यो वेला मैले परराष्ट्र मन्त्रालयको निमित्त शिष्टाचार महापालको जिम्मेवारी वहन गरिरहेको थिएँ । कार्यक्रमअनुसार नेपाली प्रतिनिधिमण्डल समयमै नयाँ दिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको थियो ।
साधारणतया कुनै पनि विदेशी प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा आउँदा त्यहाँको परराष्ट्र राज्यमन्त्रीको स्तरमा मात्रै एअरपोर्टमा स्वागत गरिने चलन थियो । तर, नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह आफै उपस्थित हुनुभयो । उहाँलाई एअरपोर्टमा देखेपछि उपस्थित सवैमा खुशीको लहर दौडियो । कतिपयलाई अचम्म नै लाग्यो । दुई प्रधानमन्त्रीहरू पनि जिउ कस्ने गरी आलिंगनको रूपमै टाँसिए ।
त्यो नेपाली कुटनीतिका लागि दुर्लभ दृश्य नै थियो, जसको प्रत्यक्षदर्शी हुने मौका मिलेको थियो मलाई । भारतका प्रधानमन्त्री स्वयम् एयरपोर्ट आएर स्वागत गरिने कुरा हामीले काठमाडौवाट उड्दासम्म थाहा पाएका थिएनौँ । यो ‘सरप्राइज वेलकम’लाई नेपालप्रति भारतको आत्मीयताको प्रतीकजस्तै मानियो ।
तर, यसको अर्थ यत्तिमा सीमित थिएन । त्यसवेला गिरिजाप्रसाद कोइराला त्यस्तो सरकार प्रमुख हुनुहुन्थ्यो, जो देशमा गणतन्त्रको झण्डा गाडेर छिमेकीको आतिथ्य स्वीकार्न पहिलो पटक विदेश निस्कनु भएको थियो । र, त्यसको सोझो अर्थ थियो, गणतान्त्रिक नेपाललाई भारतको उच्च सम्मान । धेरैको विश्लेषण यही थियो । प्रधानमन्त्री डा. सिंहले एयरपोर्टमा स्वागत गरेर सायद यही सन्देश दिन चाहेका थिए ।
गिरिजाप्रसाद कोइरालापछि हाम्रा अर्का सरकार प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण ‘बडी ल्याङ्ग्वेज’का कारण निकै चर्चामा आयो । त्यसवेला पनि भारतमा उनै डा. मनमोहन सिंह प्रधानमन्त्री थिए ।
त्यसबेला डा. सिंहले हाम्रा प्रधानमन्त्रीलाई एयरपोर्टमा स्वागत गर्न त परको कुरा, पहिलो भेटमा अंगालो मारेको पनि निको मानेनन् । हाम्रा प्रधानमन्त्रीले कसिलो गरी उनलाई अंगालो मार्दा, उनी भने आफ्ना दुवै हात तुन्द्रुङ्ग झुण्ड्याएर उभिइरहे । प्रचण्डको कार्यकाललाई भारतले त्यसैगरी उदासिनता मात्र देखाएन, उनको बहिर्गमनको लागि ‘होस्टेमा हैंसे’ गरेको समेत आरोप लाग्यो ।
पछिल्लो पटक हाम्रा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत भ्रमणमा जाँदा त्यहाँका रक्षामन्त्री राजनाथ सिंहलाई गरेको नमस्कारको भिडियो/फोटो पनि भाइरल बन्यो । हात मिलाइ सकेपछि हातैमा ढोगिदिएको विषयलाई नेपालीले निको मानेनन् । परराष्ट्रमन्त्री आवश्यकताभन्दा बढी झुकेको निष्कर्ष निकालियो ।
कतिपयले परराष्ट्रमन्त्री ज्ञवालीको स्वभाव नै त्यस्तो हो भने पनि दण्डवत गर्नुको अर्थ कुटनीतिक बृत्तले सोभै ढंगले लगायो नै । आजका मितिमा आइपुग्दा ढोगाईको ‘रेस्पोन्स्’ नमिलेको पनि अर्थ लगाईंदैछ ।
माथिका यी उदाहरण प्रतिनिधि घटना मात्र हुन् । घटनाले दिने निष्कर्ष के हो भने कुटनीतिमा ‘बडी ल्याङ्ग्वेज’को अर्थ मुखले बोलेभन्दा बढी र गहिरो गरी लाग्ने गर्छ । यति हुँदाहुँदै पनि हाम्रो कुटनीति यस सम्बन्धमा कति सचेत छ त ? सायद यो हाम्रो परराष्ट्रले सामना नगरेको विषय हो कि !
‘ओपन सेक्रेट’ के हो भने संसारका विकसित देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरू ‘पर्फेक्ट बडी ल्याङवेज’ प्रदर्शन गर्न आफ्नो टीममा ‘एक्टिङ डाइरेक्टर’ समेत राख्ने गर्छन् ।
आजसम्म हाम्रो कुटनीतिक क्षेत्रमा प्रदर्शित ‘एक्टिभिटिज’ले हामी ‘बडी ल्याङ्ग्वेज’का सम्बन्धमा बेखवर छौ झैं लाग्छ ।