के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?
नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउने वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल हुन् । उनकै टिमको प्रयासमा ओम अस्पतालमा सन् २००६ मा नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्मिएको थियो । प्राकृतिक रुपमा बच्चा जन्माउन असफल भएकाहरुको लागि यो राम्रो विकल्प हो । तर, यसको बारेमा धेरैलाई अन्योल र दुविधा हुन सक्छ । त्यसैले टेस्ट ट्युब बेबी भनेको के हो ? यसको प्रक्रिया र खर्च लगायतका विषयमा डा. रिजालसँग गरिएको कुराकानीमा आधारित :
के हो टेस्ट ट्युब बेबी ?
टेस्ट ट्युब बेबीलाई अंग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । भिट्रो फर्टिलाईजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भिट्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकोले यस्तो प्रक्रियालाई इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ ।
यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्ट ट्युबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।
नेपालमा टेस्ट ट्युब बेबीको इतिहास
विदेशमा यो प्रक्रियाबाट बच्चा जन्मिएको २५ वर्षपछि यो नेपालमा भित्रिएको हो । ओम अस्पतालमा सन् २००६ मा पहिलो टेस्ट ट्युब बेबी जन्मिएको थियो । नेपालमा जन्मिएको पहिलो टेस्ट ट्युब बेबीको नाम ओममणी तामाङ हो । नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्माएको श्रेय मेरो टिमलाई दिइन्छ । सन् २००६ सालदेखि यता ओम अस्पतालमा मात्रै लगभग २ हजार टेस्ट ट्यूबबाट बच्चा जन्मिसकेका छन् ।
कस्ता दम्पत्तीले यस्तो सेवा लिन सक्छन् ?
अहिले धेरै व्यक्तिहरुले यसको सेवा लिइसकेका छन् । जुन दम्पत्तीहरुको विभिन्न कारणले सन्तान हुन सकेको छैन । उनीहरुको लागि यो प्रक्रिया एकदमै राम्रो हुन सक्छ । महिलाहरुको पाठेघर त ठिक छ । तर, नलीहरु बिग्रीएको छ, अण्डासयमा अण्डा बनेन, बने पनि बढेन, पाठेघरको नली बन्द भयो वा विभिन्न रोगहरुको कारणले झिल्ली पातलो भएमा टेस्ट ट्युब बेबी एउटा राम्रो उपाय हुन सक्छ ।
तर, अहिले टेस्ट टयुब बेबी बनाउने प्रक्रियाको दुरुपयोग पनि भएको छ । अन्य केही सामान्य समस्या भयो भने पनि टेस्ट टयुब बेबी प्रक्रिया गरिन्छ । राम्रोसँग जाँच गरेर अन्य सबै बाटोहरु बन्द हुन्छन् भने मात्र टेस्ट ट्युब गर्नुपर्छ ।
प्रकिया के हो ?
पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघरभित्रै बच्चा गर्भाधारण गरिन्छ । खासगरी महिलामा पाठेघरमा शुक्रकीट जाने दुबै डिम्बबाहिनी नली बन्द भएमा पुरुषको शुक्रकीट नै नबन्ने अवस्थामा अन्य पुरुषको शुक्रकीट र तीनै महिलाको डिम्बलाई गर्भाधान गराउन, कम शुक्रकीट बनेको अवस्थामा पनि थोरै शुक्रकीटलाई पनि सफा गरेर ट्युबमा राखेर भ्रुण तयार गरेर प्रत्यारोपण गरेर आमाको गर्भमा राखिन्छ ।
कति लाग्छ खर्च ?
नेपालमा टेस्ट टयुब बेबीको लागी ३ देखि ४ लाख रुपैंयाँ खर्च हुन्छ । जुन रकम सामान्य परिवारहरुको लागी महङ्गो हो । त्यसैले यो प्रक्रियालाई सस्तो बनाउन हामीले पहल गरिरहेका छौं । यो प्रकृया काठमाडाँै बाहिरका अन्य केही जिल्लाहरुमा पनि हुने गरेको छ । नेपाली मात्र नभई विदेशीहरु पनि टेस्ट ट्युब बेबीको लागि नेपाल आएका छन् ।