English

६० रुपैयाँमै थपिथपि मासुभात

हामीले धम्की भन्दा पनि चुनौती सम्झिएका छौँ !


६० रुपैयाँमै अघाउन्जेल खाना खान पाइन्छ, त्यो पनि गुणस्तरिय ढंगले पकाएको मासुभात । यो भनिरहँदा तपाईलाई विश्वास नलाग्न सक्छ ? किनभने सादा खानाकै एक सय रुपैयाँ भन्दा बढी पर्न थालेको छ ।

अहिले स्थानिय रुपमा संचालमा रहेका अधिकांश होटलले सादा खाना १ सय २० र मासुभात खाँदा २ सय रुपैयाँ भन्दा बढी लिने गरेका छन् । तर अन्य स्थानिय होटलमा खाएको एक छाकको सादा खानाको पैसाले सामुदायिक भान्सामा दुई छाक मासु भात खान सकिन्छ, त्यो पनि थपिथपि ।

काठमाडौंको बसन्तपुर दरवार क्षेत्रबाट नजिकै परोपकार भीमसेन स्थान छ । त्यहिँ रहेको छ, ‘खाना सबैलाई, सामुदायिक भान्सा’ । यस सामुदायिक भान्सामा खाना खानको लागि हरेक दिन तीन सयको हाराहारीमा ग्राहक आउने गरेका छन् । सादा खाना खानेले त्यहाँ ५० रुपैयाँमा भरपेट खाना खान पाउछ । यदी मासुभात खानेले सादा खाना खानेहरुको भन्दा १० रुपैयाँ बढी ६० रुपैयाँ तिरे हुन्छ । यो मुल्यमा उसले अघाउन्जेल मासुभात खान पाउछ ।

पुस ९ गतेबाट सञ्चालनमा आएको यो गैह्र नाफा मुलक सामुदायिक भान्सा कोरानाका बेला लकडाउन भएपछि संचालनमा आएको हो । लकडाउनको बेलामा सर्वसाधारण मानिसहरुले होटेलमा खाना खान नपाएको समस्या देखेर यो आईडिया आएको भान्सा सञ्चालक कृष्णहरी भट्टराई बताउछन् । यो भान्सालाई भट्टराई र अर्का सञ्चालक नवराज मोक्तानले मिलेर सामुदायिक भान्साको रुपमा स्थापना गरेका हुन् ।

उनीहरुले लकडाउनका बेला काठमाडौंका विभिन्न स्थानमा निःशुल्क खाना तथा खाद्यान्न वितरण गर्दै आएका थिए । ‘काठमाडौं महानगरले तपाईहरुले सार्वजनिक स्थानमा यसरी खाना बितरण गर्नाले महानगरको लाजमर्दो अवस्था भयो, तपाईहरुले यी सार्वजनिक क्षेत्रमा यसरी खाना नबाँड्नुहोला, बरु कतै धर्मशाला बनाएर खाना खुवाउनु होस्, हामी सहयोग गर्छौं भन्नुभयो ।’ उनले भने, ‘एक किसिमले त्यो पनि ठिकै लाग्यो, त्यसपछि हामी दुई जनाले यो आइडिया निकालेर भान्सा चलाएका हौँ ।’

उनीहरूले साधारण मानिस र न्यून आय भएकाहरूलाई भनेर फरक फरक मूल्यसूची बनाएका छन् । लक्षित वर्गका लागि ५० रूपैयाँमा सादा खाना (भात, दाल, तरकारी, अचार र सलाद) र ६० रूपैयाँमा मासुभात खुवाउँछन् । लक्षित वर्गबाहेक अन्यले पनि त्यहाँ गएर खाना खान सक्ने सञ्चालक मोक्तानले बताए ।

सञ्चालक मोक्तानले भने, लक्षितवर्ग भन्दा अरु अर्थात् पैसा तिर्न सक्नेलाई सादा खाना सय रूपैयाँ र मासुभातलाई १ सय १० रुपैयाँ तोकेका छौँ, यसो गर्नुको उद्देश्य भनेको सामान्य मानिसबाट अलि बढीमा खाना खुवाउँदा आएको केही नाफा लक्षित वर्गको लागि होस् भन्ने हो ।

डेढ महिनादेखि त्यहाँ खाना खाँदै आएका विशाल बुढा होटल सफा सुग्घर, गुणस्तर र स्वादिष्टताले आफूलाई आकर्षित गरेको बताउँछन् । मिठो र यति सस्तोमा खाना खुवाएकोमा सामुदायिक भान्सा, मजदूरी गर्नेहरुका लागि आश्रयस्थल भन्दा कम नरहेको उनले बताए । उनी भन्छन्, ‘खै यस्तो राम्रो र सफा खाना खाइन्छ, मलाई त यो होटल विदेशीले चलाएको हो कि जस्तो लाग्छ ।’ यसो भनिरहँदा नजिकै रहेका सञ्चालक भट्टराई फिस्स हाँस्छन् र भन्छन् यो त हामीले नै चलाएका हौँ ।

बुढा जस्तै सञ्जय चौधरी पनि सामुदायिक भान्छाका नियमित ग्राहक बनेका छन् । कालिमाटी क्षेत्रमा भारी बोक्दै आएका उनी यति थोरैमा यति मिठो खाना खान पाउँदा कमाएको पैसा घरका लागि पनि बच्ने गरेको बताउँछन् ।
‘अन्य ठाउँमा सादा खानाकै सय रुपैयाँ भन्दा धेरै तिर्नुपर्छ, यहाँ त त्यही सय रूपैयाँले बिहान बेलुका नै खान खान पाइन्छ’ उनले भने ।

कुन बेलादेखि कति बजेसम्म खुल्छ

रेस्टुरेण्ट बिहान साढे ९ बजेदेखि साढे १२ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म मात्र खुल्छ । खाना बनाउनका लागि भने बिहान ६ बजेदेखि शुरु गर्ने गरेको सञ्चालक भट्टराईले बताए ।

अहिले ९ सय भन्दा बढीलाई सहुलियत खानाको लागि कुपन बाँडिएको छ । सहुलियत दरमा खाना खान पाउने वर्गमा दैनिक ज्यालादारी गर्ने मजदूर, भरिया, निर्माणसम्बन्धी काम गर्ने कामदार, फुटपाथ व्यापारी, सरसफाइमा खटिने कामदार लगायत ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्ति तथा न्यून आय भएका मानिसहरू रहेका छन् । विद्यार्थीहरूलाई समेत सहुलियतदरमा नै खाना खुवाइन्छ भट्टराईले बताए ।

त्यहाँ दैनिक खाना खाने न्यून आय भएकालाई सहुलियतको कुपन र साधारण मानिसहरूलाई साधारण कुपन नै बनाइएको छ । उक्त कुपन प्रयोग गरेर हरेक दिन सोही दरमा खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

६० रुपैयाँमै मासुभात, तर कसरी ?

सामुदायिक भान्सालाई हगिङ नेपाल नामक संस्थाले सहयोग गरिरहेको छ । शुरूवातमा स्थापना गर्दा पनि सोही संस्थाले सहयोग गरेको सञ्चालक भट्टराईले बताए । अहिले पनि व्यवसाय सञ्चालनको क्रममा आउने घाटालाई त्यहीँबाट पूर्ति हुँदै आएको छ । भट्टराई भन्छन्, ‘यो हामीले कुनै नाफा लिनका लागि खोलेका होइनौँ, त्यसैले हामी घाटा भयो भनेर सोच्दैनौँ, हाम्रो ध्यान मजदूरलाई मर्का नपर्ने गरेर कसरी गुणस्तरीय खाना खुवाउने भन्ने नै हुन्छ । हामीले मासिक ३ लाख जति आम्दानी गर्छौ, होटेल सञ्चालकमा आएको २ महिना भयो, ६ लाख खर्च भएको छ, दिनमा २२ हजारदेखि २५ हजारसम्म खर्च हुन्छ ।’

मोक्तान भने सामुदायिक भान्सा सञ्चालन गर्ने क्रममा आफ्नो सामाजिक कार्यको निरन्तरता र अर्कोतिर सेवालाई थप विस्तार गर्ने चुनौती रहेको बताउँछन् ।

नजिकका होटलले के भने

‘सामूदायिक भान्छाको नजिक रहेका होटलहरुले पहिला त आपत्ति जनाएका थिए । केहि व्यापारी र होटल व्यवसायीहरु आएर तपाईले गर्दा हाम्रो व्यवसाय चौपट भएको र आफू यहाँबाट सर्नुपर्ने अवस्था आएको बताए । त्यसलाई हामीले धम्की भन्दा पनि चुनौती सम्झिएका छौँ’ भट्टराईले भने ।

केहि व्यापारीहरु आएर, यहाँ आउनु भएको छ । सधैँ यस्तै गर्नुहोस्, छोडेर नजानुहोस् समेत भने । केहि व्यपारी र पसलहरुले भने विभिन्न खाद्य सामग्री ल्याएर सहयोग समेत गरिरहेको उनले बताए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।