English

सुनसान नयाँ बसपार्क, मासिक २ करोड ५० लाख नोक्सान



दुई महिना लामो निषेधाज्ञापछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन । देशैभरका भाडाका बस आउने र जाने नेपालको एक मात्र राष्ट्रिय बसपार्क गोँगबुस्थित नयाँ बसपार्क उपत्यका बाहिरका सवारीसाधन उपत्यकाभित्र प्रवेश गर्न नपाउँदा सुनसान बनेको हो ।

नयाँ बसपार्कमा देशभरका ६५ भन्दा बढी जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन दैनिक आवतजावत गर्दै आएपनि कोरोना संक्रमणका कारण उक्त कार्य रोकिँदै आएको छ । कोरोना संक्रमणकै कारण यातायात बन्द हुँदा नयाँ बसपार्कमा मासिक २ करोड ५० लाख रुपैयाँ नोक्सान हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रा.लिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लाका यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

प्रा.लि.का अध्यक्ष इञ्जिनियर दीपक कुँवर निषेधाज्ञाका कारण लामो समय बन्द हुँदा नयाँ बसपार्कलाई मासिक करोडौँ नोक्सान भएको स्वीकार गर्छन् । गत वर्ष पहिलो चरणको कोरोना संक्रमणको समयमा झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्क यस वर्ष दुई महिनाभन्दा धेरै समय बन्द भइसकेको छ । डेढ वर्षको समयमा आठ महिना पूर्णरूपमा र बाँकी समय आंशिक बन्द हुँदा नयाँ बसपार्कमा २० करोडभन्दा बढी नोक्सानी भएको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले जनाएको छ ।

ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ रुपैयाँ खर्च हुँदै आएको छ । यस्तै, नयाँ बसपार्क सञ्चालनबापत काठमाडौँ महानगरपालिकालाई समेत वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ । सुरुका दिनमा जथाभावीरूपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको छ ।

नेपालको एक मात्र राष्ट्रिय बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बसपार्क बनाउने लक्ष्य राखिए पनि धेरै समय बन्द हुँदा समस्या परेको अध्यक्ष कुँवरको भनाई छ । यस्तै, कोरोनाका कारण नयाँ बसपार्क बन्द हुँदा वरपरको क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको छ । झण्डै १ हजार होटल तथा रेष्टुराँ रहेको सो क्षेत्रमा कोरोनाका कारण अधिकांश होटल बन्द छन् । नयाँ बसपार्कमा झण्डै ५० वटा दोहोरी साँझ सञ्चालनमा छन् ।

होटल व्यवसायी महासंघ नेपालका सचिव एवं नयाँ बसपार्कमा गोरखा लिगलिग होटलका सञ्चालक नारायण गुरुङ लामो दूरीका सवारी साधन सञ्चालन नहुँदा मारमा परेको बताउँछन् । ‘लामो समय बन्दाबन्दी हुँदा बैंकको किस्ता र होटल भाडा तिर्न समस्या भएको छ, सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पछ्याउँदै होटल व्यवसाय सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने । सरकारले असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारी साधन सञ्चालन गर्न पाउने गरी खुला गरे पनि सडकमा भने यथेष्ट मात्रामा सवारी साधन अझै चल्न सकेको छैन ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन