सन्दर्भ : स्व. गिरिजा प्रसाद कोइरालाको ९८ औँ जन्म जयन्ती
यस्तो थियो गिरिजाप्रसाद कोइरालाको लाइफस्टाइल
निर्भीक, निडर नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको आज ९८ औँ जन्मजयन्ती हो । वि.सं १९८१ असार १८ गते जन्मिएका कोइराला २०४६ सालपछि २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका एकमात्र नेता हुन् ।
२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएसँगै उनी पहिलोपटक प्रधानमन्त्री बने । त्योसँगै उनले चारपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । २००३ सालमा नेपाल राष्ट्रिय कांग्रेस स्थापना भएसँगै राजनीतिक यात्रा सुरु गरेका कोइरालाको २०६६ साल चैत्र ७ गते निधन भएको थियो । गिरिजाले राजनीतिक जीवनमा थुप्रै तीतामीठा क्षण भोगे । राजदरवार हत्याकाण्डका बेला प्रधानमन्त्री रहेका कोइरालाले त्यतिबेला पनि विभिन्न आरोप प्रत्यारोप सहनुपरेको थियो ।
तर, युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र दोस्रो जनआन्दोलन सफल पार्न उनले निभाएको भूमिका नेपाली जनताको स्मरणमा अझै ताजा छ । त्यसो त एक राजनेताको छवि बनाएका कोइरालाको जीवनशैली कस्तो थियो ? यसबारेमा ६ वर्ष स्वकीय सचिवको जिम्मेवारी सम्हालेका र सानैबाट पारिवारिक रुपमा निकट रहेका बालकृष्ण दाहालले गिरिजाप्रसाद कोइरालाको लाइफस्टाइलका बारेमा यसरी बताए :
४ बजेभित्र उठिसक्ने
उहाँ बिहान ४ बजे भित्र उठिसक्नुहुन्थ्यो । नुहाएर फ्रेस भएपछि परिवारसँग बसेर चिया पिउनुहुन्थ्यो । कहिलेकाहीँ टिभी हेर्ने गर्नुहुन्थ्यो । साथै पार्टीका बारेमा सरसल्लाह गर्नुहुन्थ्यो । विशेषगरी ६ बजेदेखि राजनीतिक गतिविधिहरुमा संलग्न हुनुहुन्थ्यो । ७ देखि ८ बजेभित्र ब्रेकफास्ट लिनुहुन्थ्यो । राजनीतिक छलफलसँगै ११ देखि १२ बजेभित्र खाना खानुहुन्थ्यो । यदि कार्यक्रम पर्यो भने सकिएपछिमात्र खाना खानुहुन्थ्यो । पहिला मुख्य काम सकेर मात्रै अरु काम गर्ने उहाँको बानी थियो ।
घ्यू भात असाध्यै मन पराउनुहुन्थ्यो
उहाँलाई घ्यू भात साह्रै मनपर्थ्यो । बाहिरको खाना खासै मन पर्दैनथ्यो । त्यसैले, सकेसम्म घरमै आएर खानुहुन्थ्यो । खाना थोरै खाने गर्नुहुन्थ्यो । प्रायः खाइ रहनुहुन्थ्यो । खाना खाएपछि गुलियो खानेकुरा चाहिन्थ्यो । त्यसैले प्राय लस्सी खानुहुन्थ्यो । बेलुका ९ बजेभित्र खाना खाएर सुतिसक्नुहुन्थ्यो ।
कुटनीतिक नियोगका पार्टीमा कहिलेकहीँ जाँदा पेय पदार्थ वा चिया लिनुहुन्थ्यो । चिया बनाइदेउ भन्नुहुन्थ्यो । पहिला पार्टीमा चिया पाइँदैन थियो । त्यसैले कहिलेकाहीँ गाह्रो पर्थ्यो । उहाँको अर्को बानी भनेको जुनसुकै पार्टीमा जाँदा आफूसँग आएका चालक तथा सहयोगीलाई खुवाएर मात्र आफू खानुहुन्थ्यो । साथै, उहाँको दैनिकीको एउटा लय थियो ।
बिहान ४ बजे भित्र उठिसक्नुहुन्थ्यो । नुहाएर फ्रेस भएपछि परिवारसँग बसेर चिया पिउनुहुन्थ्यो । पत्रपत्रिका पढ्नुहुन्थ्यो ।
फर्मल ड्रेस साह्रै मनपर्ने
सफा चिटिक्क हुन रुचाउनुहुन्थ्यो । उहाँलाई फर्मल ड्रेस एकदमै मनपर्थ्यो । त्यसैले बिहानै उठेर दौरा सुरुवाल, कोट, टोपी लगाउनुहुन्थ्यो । कुर्ता, सुरुवाल पनि बेलाबेला लगाउनुभयो । पहिला (२०४६ पूर्व) सर्ट, पाइन्ट लगाएर हिँड्नुहुन्थ्यो । पछि दौरा, सुरुवाल लगाउन थाल्नुभयो । यसले जिम्मेवारी बोध गराउँछ । यो नेपालीको राष्ट्रिय पोशाक हो, यसलाई हामीले बचाउनुपर्छ भन्नुहुन्थ्यो ।
घुम्न मन पराउने
उहाँँलाई आफू नपुगेको ठाउँ घुम्न मन पर्थ्यो। त्यसैले कतै कार्यक्रममा गएको बेलामा आफूलाई जान मन लागेका ठाउँमा पुग्नुहुन्थ्यो । त्यहाँ जाँदा आम नागरिकका समस्या र गुनासो सुन्नुहुन्थ्यो । अनि ति गुनासालाई सम्बोधन पनि गर्नुहुन्थ्यो । उहाँमा आरामदायी जीवन बाँच्नुपर्छ भन्ने सोच थिएन । साधारण खानपान र लवाइखुवाइमै रमाउने उहाँको स्वभाव थियो ।
पार्टीमा जाँदा पनि धेरै समय बस्नुहुन्न थियो । मलाई पनि धेरैपटक उहाँले पार्टीमा सँगै लैजानुभयो । उहाँ बढीमा आधा घण्टा बस्नुहुन्थ्यो । बोलाएको ठाउँमा सकेसम्म पुग्ने उहाँको बानी थियो ।
युवापुस्तालाई हौसला दिने
प्रायः बिहान र साँझको समयमा सबै पुस्ताका नेताहरु उहाँलाई भेट्न आउँथे । सबैसँग कुराकानी गर्नुहुन्थ्यो । स्वास्थ्यले साथ दिएसम्म भेट्न आएकालाई उहाँले कहिल्यै फर्काउनु भएन । सकेसम्म सबैसँग कुरा गर्न मन पराउनुहुन्थ्यो ।
एकपटक राजा वीरेन्द्र र ऐश्वर्यासँगै बसेर मन पर्ने ठाउँको सन्दर्भमा कुराकानी भइरहेको थियो । त्यहाँ राजारानीले पेरिस रोज्नुभएको थियो । अनि राजारानीले तपाईं चाहिँ कहाँ रोज्नुहुन्छ नि भन्दा उहाँले विराटनगर रोज्नुभएको थियो ।
आन्दोलनको समयमा आन्दोलन कसरी गर्दा सफल भइन्छ भन्ने रणनीतिक कुरा युवाहरुलाई सिकाउनुहुन्थ्यो । समयअनुसार चल्नुपर्छ भन्नुहुन्थ्यो । हौसला दिनुहुन्थ्यो । आन्दोलनमा कोही घाइते भयो, वा केही समस्या पर्यो भने भेट्नलाई अस्पतालसम्म पुग्नुहुन्थ्यो । उपचारका लागि सहयोग गर्नुहुन्थ्यो । साथै, परिवारमा पनि उहाँको एकदमै राम्रो सम्बन्ध थियो ।
समाचार हेर्न र पढ्नमा रूची
उहाँ बिहान उठेर समाचारको ब्रिफिङ लिनुहुन्थ्यो । टेलिभिजनमा समाचार हेर्न मन पराउनुहुन्थ्यो । कहाँ के भइरहेको छ भन्ने चासो राख्नुहुन्थ्यो । साथै, पुस्तक पनि उत्तिकै पढ्नुहुन्थ्यो । जेलमा रहँदा पनि धेरै किताब पढेको सुनाउनुहुन्थ्यो ।
फुर्सद भयो कि विराटनगर
एउटा रोचक प्रसंग छ । एकपटक राजा वीरेन्द्र र ऐश्वर्यासँगै बसेर मन पर्ने ठाउँको सन्दर्भमा कुराकानी भइरहेको थियो । त्यहाँ राजारानीले पेरिस रोज्नुभएको थियो । अनि राजारानीले तपाईं चाहिँ कहाँ रोज्नुहुन्छ नि भन्दा उहाँले विराटनगर रोज्नुभएको थियो ।
त्यसैले विराटनगर उहाँलाई एकदमै मनपर्ने ठाउँ थियो । आफ्नो पूर्खौली ठाउँ भएर पनि होला । फुर्सद मिल्ने बित्तिकै विराटनगर गइहाल्नुहुन्थ्यो । सार्क सम्मेलनमा एकपटक भारत जानुभएको थियो । त्यतिबेला भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह आफैँ विमानस्थलसम्म लिन र पुर्याउन आउनुभएको थियो । यसरी प्रधानमन्त्री स्वयं नै लिन आउने प्रचलन छैन । जे होस् अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो छवि बनाउनुभएको थियो ।
कहिल्यै कसैलाई नराम्रो व्यवहार गर्नुभएन । उहाँको मिठास बोली थियो । सरल स्वभाव, सबैको राम्रो हेरविचार गर्ने । सबैलाई केही न केही जिम्मेवारी दिउँ भन्ने उहाँको सोच थियो ।
नम्र व्यवहार
उहाँले कहिल्यै कसैलाई नराम्रो व्यवहार गर्नुभएन । उहाँको मिठास बोली थियो । सरल स्वभाव, सबैको राम्रो हेरविचार गर्ने । सबैलाई केही न केही जिम्मेवारी दिउँ भन्ने उहाँको सोच थियो । यदि जिम्मेवारी पूरा गर्न नसके सिकाउनुहुन्थ्यो । कुनै मन्त्रीले काम गर्न नसकेको बेला यसरी गर भनेर उपाय बताइदिनुहुन्थ्यो । तर, मान्छेहरु उहाँ धेरै रिसाउनुहुन्छ भन्ने गर्थे । त्यसैले उहाँको कुरा सुन्ने बित्तिकै रिसाएको हो कि होइन थाहा पाइहाल्थे अनि त्यही अनुसार कुराकानी गर्थे ।
८ वर्ष जेल, ११ वर्षसम्म भारत पलायन
उहाँ अहिलेका चल्तीका नेताहरुको (अभिभावक) गुरु नै हो । २००३ बाट गृहनगर विराटनगरस्थित जुटमिलको श्रमिक नेताको रुपबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।
उहाँलाई सानैदेखि ठूलो चुनौति थियो । राणाकालदेखि लखेटिएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा छोरा हुनुहुन्थ्यो । भारतको बिहारस्थित सहर्षाको टेडी गाउँमा जन्मिनुभएको उहाँ २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गरेपछि जेल पर्नुभयो ।
२०२५ सालमा जेलबाट छुटेपछि ११ वर्ष भारतमा गएर बस्नुभयो । त्यसपछि २०३७ सालमा नेपाल फर्किएर उहाँ पञ्चायती व्यवस्था विरुद्धमा खडा हुनुभयो । २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलन र माओवादीको १० वर्षे जनयुद्धमा प्रमुख भूमिका निभाएपछि उहाँलाई जनताले झनै विश्वास गर्न थाले ।
तस्विरहरु : विकास रौनियार