कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
दोस्रो लहरको कोरोनाले सबै क्षेत्र प्रभावित भएको छ । होटल व्यवसाय र पर्यटन क्षेत्र पनि यसबाट अछुतो छैनन् । यी दुई क्षेत्र चलायमान नहुँदा नेपालको अर्थतन्त्रमा गम्भीर असर पुग्ने देखिन्छ । नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा २ दशमलव ६ प्रतिशत यस क्षेत्रले योगदान पुर्याएको छ । पूर्ण रुपले ठप्प भएको यस क्षेत्रलाई उकास्न निकै समय लाग्ने देखिन्छ ।
पर्यटन क्षेत्रमा मासिक १० अर्बको क्षति भएको नेपाल पर्यटन बोर्डका सह– प्रवक्ता मणिराज लामिछाने बताउँछन् । पर्यटन क्षेत्रमा १० लाख जनशक्ति निर्भर रहेका छन् । हालको अवस्थामा ७ लाख बेरोजगार छन् भने ३ लाख जनशक्तिले काम पाएका छन् । यसरी हेर्दा कोरोना महामारीमा पर्यटन क्षेत्रमा प्रत्यक्ष संलग्न भएकाहरु ८० प्रतिशत बेरोजगार छन् । ‘फाइभ स्टार’ होटेलमा ५ सय जनाले गर्ने काममा हालको परिस्थितिमा १५ देखि २० जना मात्रै कामदर राखेर काम भएको लामिछानेको भनाई छ ।
गत वर्षदेखि निजी र सरकारी कर्मचारीलाई कम्तिमा ८ दिनको घुम्ने वातावरण मिलाउने माग बोर्डको थियो । सरकारले धेरै वर्षको मागपछि आर्थिक वर्ष २०७८–०८९ को बजेटमा पर्यटन र उद्योगलाई समावेश गरेको छ । ‘यो वर्ष सरकारी तहमा लागू भयो’, उनी भन्छन्, ‘सरकारी कर्मचारी साढे चार लाख छन्, एक जनाले मात्र १० हजार खर्च गरे पनि ४ देखि ५ अर्ब रुपैयाँ राज्यको कोषमा आउँछ ।’
पर्यटन क्षेत्रलाई उठाउनका लागि बोर्डले रणनीति बनाइरहेको छ । श्रीलंका, मलदिभ्स, दुबई लगायत राष्ट्रले ‘भ्याक्सिन टुरिजम’ भनेर सुरु गरेका छन् । यसमा खोप पनि लगाउन पाउने, सात आठ दिन घुम्न पनि पाउने, क्वारेन्टाइनमा बस्न पर्ने लगायतका प्याकेज छ । पर्यटन बोर्डले पनि विश्वप्यापीरुपमा टुरिजम ट्रेण्डलाई नियालिरहेको लामिछानेको बताउँछन् ।
ठमेलका होटललाई सरकारको वाइपास !
काठमाडौँको ठमेलको व्यवसायले पर्यटन क्षेत्रलाई ठूलो योगदान पुर्याएको छ । जारी निषेधाज्ञाका कारणले यो क्षेत्रको व्यापार तथा व्यवसाय चौपट भएको छ । चार वटा अन्तराष्ट्रिय उडान खुल्ला छन् र बाहिरबाट आउनेहरुका लागि सरकारले होटेल क्वारेनटाइन व्यवस्था गरेको छ । तर, ठमेल क्षेत्रमा भएको होटेललाई क्वारेन्टाइन सरकारले क्वारेन्टाइन बनाउन नसकेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोलको गुनासो छ ।
‘पहिलो लकडाउनमा ४० हजार भारतीय पर्यटक आउँदा १८ हजार ठमेलमा राख्यो, अहिले दिएको होटेल क्वारेन्टइनका लागि उपयुक्त छ जस्तो लाग्दैन ’ उनी भन्छन्, ‘होटेल क्वारेन्टइन दिँदा सरकारले ठमेल छुट्याएर नदिनुपर्ने थियो, सरकारले ठमेललाई पनि क्वारेन्टइनका लागि दिनु पर्ने हाम्रो माग हो ।’ ठमेलका होटेलहरुलाई पनि होटेल क्वारेन्टाइन बनाउँनका लागि पर्यटन विभागमा गएको तर कुनै सुनवाइ नभएको उनको भनाई छ ।
सञ्चालनका लागि ‘टेक अवे’को अवधारणा ल्याएको छ । तर, सबै कार्यालयहरु बन्द रहेकोले यसले गति लिन नसकेको डंगोल बताउँछन् । यतिबेला ठमेलका होटलहरु २० प्रतिशत जनशक्तिले मात्रै काम गरेका छन् भने ८० प्रतिशत बेरोजगार छन् ।
निषेधाज्ञा भएको डेढ महिना बितिसक्दा केही खुकुलो हुन्छ कि भन्ने आशामा १ सय ६० कर्मचारीलाई पूर्ण पारिश्रमिक दिएको लर्ड अफ दी ड्रिंक्स (एलओडी) डान्स एण्ड नाइट क्लबका सीईओ रविन श्रेष्ठ बताउँछ । उनी भन्छन्, ‘अझै महिना दिन यही परिस्थिति रहेमा कर्मचारीको ५० प्रतिशत परीश्रमिक काटिने छ ।’
कोरोनाले के–कति क्षति गर्यो अनुसन्धान गर्न बाँकी
त्यसो त समग्रमा यतिबेला होटल तथा पर्यटन व्यवसाय ठप्प छन् । कोरोनाको दोस्रो लहरले यस क्षेत्रमा के कति असर गर्यो भन्ने अनुसन्धान हुन बाँकी रहेको पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसी बताउँछन् । ‘पर्यटन क्षेत्रमा कोरोनाको असरबारे अनुसन्धान नभएकाले उकास्न के गर्ने ? भन्ने विषयमा विभागले अहिलेसम्म कुनै योजना बनाएको छैन’, उनले भने, ‘यसले कति प्रभावित पारेको छ भन्ने तथ्य पत्ता लगाएपछि हामी योजना बनाउने छौँ ।’