निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
देश पूर्ण बन्दाबन्दीको अवस्थामा छ । मानिसहरु घरभित्रै बस्न बाध्य छन् । त्यसो त यतिबेला आम मानिसको साथी सामाजिक सञ्जाल बनेको छ । नेपालमा विशेषगरी, फेसबुक, युट्युब, टिकटक, ट्विटर, ह्वाट्सएप, भाइबर लगायतको प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।
त्यसैले, यससम्बन्धि अपराधका घटनाहरु पनि बढ्दै गएको पाइन्छ । साइबर अपराधका घटनाहरु त सामान्य अवस्थामा पनि सुनिँदै आएको हो । तर, निषेधाज्ञाको अवधिमा यो झनै बढेको साइबर ब्युरो नेपालका प्रमुख डिआईजी राम कृपाल साह बताउँछन् ।
‘यो बेला मानहानी हुने तरिकाले सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरु दुरुपयोग भएको पाइएको छ,’ उनी भन्छन्, ‘अमर्यादित कार्य गर्ने, चरित्रहत्या गर्ने उद्धेश्य, व्यक्तिगत स्वार्थ पूरा गर्न, आफवाह फैलाउन अश्लिल तस्बिर र भिडियो बनाउने, प्रकाशन गर्ने गरेको पाइएको छ ।’
निषेधाज्ञाको समयमा दिनमै ३० वटासम्म साइबर अपराधका जाहेरी ब्युरोमा आउने गरेको साह बताउँछन् । निषेधाज्ञा सुरु भएपछि ब्युरोमा एक सयको हाराहारीमा साइबर अपराधको घटना दर्ता भएका छन् ।
‘दैनिक ६ देखि ३० वटासम्म जाहेरी आउँछन् नजिक भएकाहरु ५–६ जना त ब्युरोमै आउँछन् आउन नसक्नेले इमेल पठाउँछन्’ साह भन्छन्, ‘आएका जाहेरीहरु सबै दर्ता हुँदैनन्, कतिपय जाहेरी फोनकलबाटै सुल्झाउने पनि गरेका छौँ ।’
ब्युरोमा पछिल्लो समय फेसबुक ह्याक भयो भन्दै उजुरी हाल्नेको संख्या ह्वात्तै बढेको छ । जसमार्फत आफन्त तथा साथीभाईहरुलाई अश्लिल कुराहरु पठाइएको, पैसा मागेको, लगायतका घटना छन् ।
यसैगरी, कतिपयले फेसबुकमै गरिएको कुराकानीको आधारमा भेटघाट गर्ने र छिट्टै नजिक भइहाल्ने जस्ता कुराले पनि साइबर अपराध बढाउन बल पुर्याइरहेको साह बताउँछन् ।
‘यसले कतिको घरबार बिग्रिएको छ भने कसैले आत्महत्या पनि गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘समाजिक सञ्जाल ७० प्र्रतिशत मान्छेले प्रयोग गर्न नजानेर अरुलाई फेसबुक, म्यासेन्सर खोल्न लगाउने गरेका छन्, यसरी नजानीनजानी प्रयोग गर्दा समाजिक सञ्जालको आइडी, पासवार्ड अरुसँग हुने र अपराधिक घटना बढ्ने गरेको छ ।’
साइबर अपराधका घटना सबै उमेरसमूहमा भएको तथ्यांकले देखाउँछ । युवाअवस्थाका मानिसहरुले साथीको संगतले अपराध गरेको भेटिएको छ । २० देखि ५० वर्ष उमेर समूहका मान्छेहरु अहिले साइबर अपराधका घटनामा संलग्न पाइएको साहले बताए ।
साइबर अपराधबाट कसरी जेगिने ?
– इमेल वा सामाजिक सञ्जालको पासवर्ड सजिलो नराख्ने । सकेसम्म आफूले सम्झन सक्ने तर बलियो पासवर्ड राख्नुपर्छ ।
– सामाजिक सञ्जालमा अश्लिल, फोटो, भिडियो, म्यासेज देख्नासाथ कमेन्ट शेयर वा लाइक नगर्ने ।
– आफ्नो तस्विर कसैले अश्लिल हर्कत देखिने गरि शेयर गरेको पाइएमा तत्काल प्रहरीमा खबर गर्ने ।
– साथी वा प्रेमी, प्रमिकाहरुसँग व्यक्तिगत गोप्य तस्विरहरु सामाजिक सञ्जालबाट लिने वा दिने नगर्ने ।
– जुनसुकै कम्प्युटर वा मोबाइलबाट ईमेल र सामाजिक सञ्जाल लग इन नगर्ने ।
– ईमेल र सामाजिक सञ्जालका पासवर्ड मनमिल्ने साथी वा प्रेमी प्रेमिकालाई नदिने ।
– सामाजिक सञ्जालको अप्सनमा पासवर्ड रिकभरी गर्न आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर नै प्रयोग गर्ने ।
– नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने । साथै, नचिनेको मान्छेले पठाएको म्यासेज मा प्रतिक्रिया नदिने ।
– साइबर अपराधको पीडित हुँदा रिपोर्ट गर्न जानु अघि त्यस्ता सामग्रीको स्क्रिन सट र व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर जाहेरी दिनुपर्छ ।
साइबर अपराधीलाई के हुन्छ कारबाही ?
विद्युतीय कारोबार ऐन २०६३ परिच्छेद ९ ले कम्प्युटर सम्बन्धी कसूर एवं दण्ड सँजायको सम्बन्धमा कसूरको मात्रा र प्रकृति हेरी न्यूनतम ६ महिनादेखि ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना व्यवस्था गरेको छ । यसका लागि पीडितले ३५ दिनभित्रमा नजिकको प्रहरी कार्यालयमा उजूरी गर्नुपर्ने ।