तीजको दरमा के खाने के नखाने ?
हिन्दु धर्मावलम्बी महिलाहरूको महान् चाड तीजको आज अघिल्लो दिन अर्थात् दर खाने दिन । तीजको दिन पानीसमेत नखाई व्रत बस्ने भएकाले आज विभिन्न परिकार बनाएर दरको रूपमा खाइन्छ । यद्यपि, यसरी अघिल्लो दिन विविध परिकार टन्न खाएर भोलिपल्ट पानीसमेत नखाई व्रत बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्छ । दर खाने दिनमा के खाने ? के नखाने ?
के खाने त ?
– दर खाँदा घरमै बनाएको खानेकुरा खानुपर्छ ।
– दरमा चिल्लो र पिरो कम भएको खानेकुरा समावेश गर्नुपर्छ ।
– मांसाहारीले थोरै मासु खाने र शाकाहारीले दूध र दूधजन्य परिकारहरू पनि थोरै मात्रामा मात्र खानुपर्छ ।
– दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु उत्तम हुन्छ ।
– हिन्दु संस्कारअनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समय समयमा व्रत बस्नु स्वास्थ्यको उपयुक्त मानिन्छ । तर, पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्छ ।
कस्ता खानेकुरा नखाने ?
– दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पिरो खानेकुरा खानुहुँदैन ।
– दर खाने दिन बजारमा पाइने विभिन्न रङका मिठाइ पनि खाने चलन छ । तर, यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुन सक्छ । त्यसैले बजारबाट रङ्ग प्रयोग भएका मिठाइ नखाने ।
– व्रतको दिन आडिलो हुन्छ भनेर घिउ तथा बोसो भएका पदार्थ सेवन गर्ने चलन छ । चिल्लो पदार्थ, बोसोबाट बढी शक्ति पाइने भएकाले धेरै चिल्लो पदार्थ तथा पिरो, अमिलो अनि मसलेदार खानाले एसिडिटी बढ्ने एवं पेट पोल्ने हुन्छ ।
– साथै, मासु खानेहरूले अघिल्लो दिन धेरै मात्रामा माछा मासु खाने र शाकाहारीले धेरै दुग्धजन्य परिकार खान्छन् । जस कारण अपच हुन सक्छ । त्यसैले दर खाने दिनमा धेरै माछा मासु र दुग्धजन्य परिकार खानु हुँदैन ।
यो पनि…
जानौं ध्यानका लागि हात मुद्राहरू
ध्यान गर्दा नियम पालना गरौं