आज विश्व सिमसार दिवस : यसकारण जोगिनुपर्छ सिमसार (फोटो फिचर)
सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ, नेपालमा पाहुँना बनेर केही समय बिताउन विदेशबाट थरिथरिका चराहरु आउँछन् । साइबेरियादेखि श्रीलंका अनि छिमेकी मुलुक भारत र चीन देखि रुससम्मका मुलुकबाट आउँने चराहरूको ठूलो बथान नेपाली आकाशमा उडेको तपाईले देखेको हुनुपर्छ । जाडो होस वा गर्मी दुवै याममा उनीहरु नेपालका तालतलैयामा भेटिन्छन् ।
विदेशबाट हजारौं माइल पार गरेर आउने पाहुँना चराहरुका लागिमात्र होइन, नेपालकै पशुपंक्षीदेखि जीवजन्तु तथा मानवजातिसम्मका लागि सिमसार किन महत्वपूर्ण छ भन्ने कुरा हामीले बुझेको धेरै भएको छैन ।
यो कुरा बुझ्नका लागि एकपटक रामसार पुगौँ ।
इरानको क्यास्पियन समुन्द्रीय तटमा अवस्थित छ, रामसार सहर । जहाँ आजभन्दा पाँच दशकअघि ऐतिहासिक विश्व सम्मेलन भयो । संसारभरिका सिमसार क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यका साथ भएको उक्त सम्मेलनले रामसार महासन्धिको अवधारणा ल्यायो । सम्मेलनको १६ वर्षपछि नेपालले उक्त महासन्धिमा हस्ताक्षर गर्यो । आफ्ना सिमसारहरुको संरक्षण गर्ने भनेर रामसार महासन्धिको सदस्य राष्ट्र भएको थियो, नेपाल ।
तपाईंलाई जिज्ञासा हुनसक्छ, यो सिमसार भनेको के रहेछ । पानी जमेको दलदले क्षेत्र जहाँ जल,जंगल, वनस्पति,पशुपंक्षी लगायतको प्रिय अनि उत्तिकै सुरक्षित आश्रय थलो नै सिमसार क्षेत्र हो ।
अन्तर्राष्ट्रिय महत्व बोकेका अति संवेदनशील, संकटापन्न र खतरामा रहेका जैविक प्रजातिलाई आश्रय प्रदान गर्ने सिमसारहरूलाई रामसारमा सूचिकृत गर्ने गरिन्छ । नेपालको कूल क्षेत्रफलमध्ये करिब ५ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।
हालसम्म नेपालका १० सिमसार क्षेत्र रामसारमा सूचिकृत छन् ।
नेपालले रामसारमा सूचीकृत भएका आफ्ना सिमसार क्षेत्रहरुको संरक्षण र ब्यवस्थापन गर्न जति जरुरी छ, त्यक्तिकै थप महत्वपूर्ण सिमसारहरुलाई रामसारमा सूचिकृत गर्नु आवश्यक छ ।
सिमसार क्षेत्रलाई किन संवेदनशिल ढङ्गले हेरिन्छ भने यसले दुर्लभ र लोपोन्मुख पशुपंक्षी, वनस्पति आदिकालागि जीवनशैलीको आधार दिन्छ । सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रको त्रिवेणी बन्छ । कतिसम्म भने जैविक विविधता कायम राख्न र जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई कमभन्दा कम गर्दै पर्यावरणीय सन्तुलन कायम गर्ने लगायत सिमसारका अनेकौं भूमिकाको वयान गरि साध्य छैन । सिमसार आफैमा अतुलनीय छ ।
यदि कसैले सिमसारलाई प्रकृतिको अनुपम उपहार भन्छ भने मान्नुहोस् उसले ठिक भनिरहेको छ ।
सुनसरीको कोशी टम्पु, चितवनको बिस हजारी, कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाइकुण्ड, डोल्पाको शे फोक्सुन्डो, मुगुको रारा, इलामको माइपोखरी, र पोखरा उपत्यका वरपरका तालतलैयामा यदि हामी पुगेका छौं भने सिमसारको महत्व किन रहेछ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । यिनै ताल हुन् जो रामसारमा समेत सूचिकृत छन् ।
हामीले थाहा पाइहाल्यौं, सिमसार जोगाउन ५० बर्षभन्दा बढी समयदेखि अनेकन प्रयासहरु भइरहेका छन् । यो स्थिती किन आयो त ? पछिल्लोसमय जलवायु परिवर्तनको असर सिमसार क्षेत्रमा परिरहेको छ । सिमसार क्षेत्रहरु सुक्दै गइरहेछन् । अनि, दुर्लभ र लोपोन्मुख पशुपंक्षी मात्र नभई वनस्पति समेत मासिएला कि भन्ने पिर त पर्ने नै भयो ।
भूमि अतिक्रमणका कारण पनि अति संवेदनशिल मानिएको सिमसार क्षेत्र जोखिममा पुगेको छ । प्रदूषणले पनि सिमसारलाई नै ठुङ्गेको छ । यसरी चौतर्फी प्रहार खेप्न विवश छ, सिमसार ।
त्यसो भए सिमसार संरक्षणको उपाय नहोला त ? अहिलेको टड्कारो प्रश्न हो यो । उपाय छ । तर यसका लागि सबैभन्दा पहिले पर्यावरणीय, सामाजिक र आर्थिक महत्वका आधारमा सिमसारको प्राथमिकीकरण आवश्यक छ । यसको एकिकृत संरक्षण तथा व्यवस्थापन गर्नुका साथै वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन र अतिक्रमणबाट जोगाउन जरुरी छ ।
सिमसारको दिगो संरक्षणका लागि यसको व्यवस्थापनमा स्थानीय समुदायको जिवीकोपार्जन पक्षलाई पनि जोड्न जरुरी छ । किनकी सिमसारको नजिक रहेको बस्तीका बासिन्दाले नै यसबाट प्रत्यक्ष लाभ लिने र प्रभावित पनि हुने भएकोले स्थानीय पहुँच अत्यावश्यक भइहाल्ने भयो । स्थानीय समुदाय र सरोकारवाला संघ संस्थाहरुलाई सिमसारमा अपनत्व लिन प्रोत्साहन गर्ने कुरा त झन बिर्सनै भएन ।
सिमसार मासियो भने सिमसारको जलाशयमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चखेवा चखेवीको चहलपहलबाट मन्त्रमुग्ध हुने पर्यटकलाई हामीले के देखाउने ? सिमसार नरहे मरुल जस्ता हाम्रा चराहरु कता भौतारिने ? आश्रय र आहारा खोज्दै अफ्रिकाबाट नेपाल आउँछन,जुरे कोइली । छिमेकी दक्षिण भारतको आकाशबाट उड्दै आउँछन्, मुरली चरा । श्रीलंकाबाट नेपाल आउँछन्,स्वर्ग चरी । नेपाल र यी चराहरुको साइनोको आधार हो–हाम्रा सिमसार ।
एक क्षण सोचौं त, हाम्रा सिमसार नै मासिए पाहुँना चराहरुले जीवनको आधार खोज्न कता–कता भौतारिनुपर्ने होला । अनि यो स्थितीमा सिमसारयुक्त हाम्रा भूमि मान्छे र जीवजन्तुका लागि स्वर्गथलो रहिरहला ? यो प्रश्नले हाम्रो उत्तर होइन, उत्तरदायित्व खोजेको छ ।
नेपालमा भएका सिमसार क्षेत्रको संरक्षण, सम्बर्धन अनि व्यवस्थापनमा विभिन्न निकायहरु कम्मर कसेर जुटेका छन् । नेपाल सरकार बन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय ताल संरक्षण विकास समिति, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतका सरोकारवालाहरुले एक आपसमा हातेमालो गर्दै सिमसार जोगाउन विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।
अब हामी सबैले पनि बुझ्न जरुरी छ–सिमसारको अस्तित्वमै हामी सबैको आश्रय रहेको छ ।
यसैले सिमसारलाई धन्यवाद ।
किनकी, सिमसार रहे धेरै कुरा रहन्छ ।
यसैले त भनियो–सुन्दर सिमसार, प्रकृतिको वरदान ।
आज विश्व सिमसार दिवस। संसारभर ‘सिमसार र पानी’ नारा दिएर मनाइँदै छ।
तस्बिरहरु : राइज मिडिया नेटवर्क
यो पनि…
सिमसारले फेर्छ जीवनकै काँचुली
सिमसार मासिएपछि सारसलाई सास्ती