जहाँका जनताले जन्माए, म त्यहीँको सेवामा हरबखत छु : किरण गुरुङ
आसन्न निर्वाचनमा नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभामा विजयी भएर गण्डकी प्रदेशको अर्थमन्त्रीसमेत बनेका गुरुङ यसपटक संघमा निर्वाचन लड्न लागेका हुन् । गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंशः
संघीय वन मन्त्री हुनुहुन्थ्यो, प्रदेश झरेर मुख्यमन्त्री बन्छु भन्ने थियो । तर, अर्थमन्त्री बन्नुभयो । के गरेँ भन्ने लागेर प्रतिनिधि सभामा उठ्नुभएको हो ?
मुख्यमन्त्री बन्ने भनेर नै त्यस बेला मैले उम्मेदवारी दिएको थिएँ । जनताले लोकप्रिय मत दिएर जिताउनुभयो । पछि पार्टीको आन्तरिक समस्या समाधान गर्ने हिसाबले मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । त्यो संस्थापक सरकार भएकाले हामीले जिरोबाट नै सरकार स्थापना र सञ्चालन गर्नुपर्ने भयो । कार्यान्वयन गर्नुपर्ने भयो । नीतिगत कुरा कानुनी कुराहरू सबै जिरोबाट नै हामीले आरम्भ गर्यौं । त्यसपछि हामीले आवधिक योजनाहरू पनि निर्माण गर्याैं । त्यसैको आधारमा हामीले विकास निर्माणका बजेट पेस गरेर कार्य प्रारम्भ गर्याैं । सङ्घीयताको जग हाल्ने ऐतिहासिक काम गरेका छौँ । हाम्रो नेतृत्वको सरकार सातै प्रदेशमा उत्कृष्ट थियो । यो प्रदेशको नामकरणदेखि अस्तित्व बचाउन र देखाउन थुप्रै ठाउँमा म आफैँ जुधेको छु । यो ऐतिहासिक कामका बाबजुद पनि मैले पूरा गर्नुपर्ने जनताका सपनाहरू छन्, त्यही पूरा गर्न चुनाव उठेको हुँ ।
यो प्रदेशकै जीवन, सभ्यता र संस्कृतिसँग गाँसिएको काली गण्डकीलाई डाइभर्सन गर्न हुँदैन भनेर आफ्नै सरकारसँग जुधेर रोकेको छु । त्यो काली गण्डकी डाइभर्सन हुँदा हामीबाट धेरै कुरा गुम्न सक्थे । प्रदेशको नामकरणमा दलहरुबीच नै द्वन्द्व थियो । मैले नै गण्डकी प्रदेश राख्नका लागि सार्वजनिक रूपमै विचार राखेँ, नेतृत्व गरेँ । गण्डकी नाम नै राख्ने गरी अन्त्यमा सबै सहमति जुट्यो । यो ऐतिहासिक थियो । पहिले अर्थमन्त्री भएर अनुत्पादक क्षेत्रमा हुने खर्चलाई रोकेको छु । स्वार्थ समूहबाट प्रहार हुँदा प्रदेशको आर्थिक अनुशासनलाई कायम गरेको छु । कृषि, पर्यटन, शिक्षा, पूर्वाधार हरेक क्षेत्रलाई प्राथमिकताको आधारमा बजेट विनियोजन गरेको छु । हो, यिनै कुराले म संघमा गएर सङ्घीयतालाई अझै बलियो बनाउनुपर्छ भनेर लागेको हुँ ।
अघिल्लो पाली मुख्यमन्त्रीको सपना पूरा हुन नसकेपछि यसपटक पूरा गर्न प्रदेशमै उम्मेदवार दिन सकिन्थ्यो होला, किन सङ्घतिर उक्लनुभएको ?
मुख्यमन्त्री बन्ने सपनाभन्दा पनि जनताको सेवा गर्ने ठूलो कुरा ठूलो हो । आर्थिक मामिला तथा योजना मन्त्री भइसकेपछि मुख्यमन्त्री नै बन्नुपर्छ भन्ने मलाई लागेन । अहिले प्रदेशबाट प्रतिनिधि सभामा उठ्नुको कारण भनेको सङ्घीयतालाई कसरी बलियो बनाउने भन्ने नै हो ।
हामीले प्रदेशको नेतृत्व गर्दा महसुस गर्याैं, सङ्घीयतालाई बलियो बनाउन, धेरैभन्दा जनताको घरदैलोमा विकास पुर्याउन सङ्घबाटै प्रयत्न गर्नुपर्छ । प्रतिनिधि सभामा जानुपर्छ, केन्द्रमा जानुपर्छ । प्रदेश र स्थानीय तहका समस्यालाई कसरी समाधान गर्ने, कस्तो नीति निर्माण गर्ने ? कस्तो योजना निर्माण गर्ने ? कसरी यसलाई समायोजन गरेर संघीय व्यवस्थालाई बलियो बनाउने भनेर नै म प्रतिनिधि सभाको उम्मेदवार बनेको हुँ । सङ्घीयतालाई बुझाउन पनि प्रतिनिधि सभामा जानुपर्ने देखियो ।
अघिल्लो चुनावमा नेकपा एमाले र माओवादीको गठबन्धन थियो । चुनाव जितेर अर्थमन्त्रीसमेत बन्नुभयो । अहिले तपाईंका विरुद्ध ५ दलीय गठबन्धन छ, चुनौती होला नि ?
मलाई चुनौती जनताका दुखहरू कसरी दूर गर्ने भन्ने हो । मेरो लागि चुनौती भ्रष्टाचार कसरी रोक्ने र सुशासन कायम गर्ने भन्ने हो । मेरो चुनौती जनतालाई कसरी सुखी र खुसी राख्ने भन्ने हो । जनताको सेवा गर्ने मान्छेलाई गठबन्धनको डर छैन । जनताले कसले काम गरेको छ, कसले यो देश र माटोका लागि पसिना सिँचिएको छ भन्ने चिनेका छन् । गठबन्धन पनि नाम मात्रैको गठबन्धन त हो ।
गठबन्धनमा रहेका राजनीतिक दलहरू जुन छन्, उनीहरूको न विचार मिल्छ न सोच नै । त्यसैले पनि एउटा पार्टी भएर एक ढिक्का भएर अगाडि बढ्ने जुन शक्ति प्राप्त हुन्छ, त्यो शक्ति गठबन्धनमा छैन । देख्दा गठबन्धन भए पनि उनीहरू बहुरूपी, बहु रङ, बहु धारमा विभाजित छन् । मप्रति जनताको विश्वास र सद्भाव छ । म बिना स्वार्थ राजनीतिमा लागेर कुनै दागसमेत नलागेको पात्र हुँ भन्ने कुरा जनताले नजिकबाट चिनेका छन् । मतदाताको सद्भाव, हौसला नै मेरो जीत हो ।
जनता सचेत छन् । साँच्चै असल मान्छे को हो ? असल पार्टी कुन हो ? असल पार्टीका पनि उम्मेदवार कहिलेकाहीँ गलत हुन सक्छन् । दुवैलाई उनीहरूले हेरिराखेका हुन्छन् । काँग्रेसले २८ वर्षसम्म गर्न नसकेका काम हामीले ३ वर्षमा गर्यौं । त्यसैले चुनौती छैन ।
योभन्दा अगाडि जिताएर पठाएकै हो, संघीय वनमन्त्री बनेकै हुन् तर, जितेर गइसकेपछि मतदातालाई हेर्नुभएन भन्छन् नि !
गाउँ फर्किएन भन्ने जनगुनासो छैन । केही प्रतिद्वन्द्वी राजनीतिक पार्टीहरूले लगाएको आरोप हो । यो विपक्षी पार्टीको फण्डा हो । म प्रदेशको अर्थमन्त्री भएर यो क्षेत्रमा अर्बौंको बजेट हालेको छु, अनि म गाउँ नफर्किएर को फर्कियो होला त ? विकासका योजना लिएर गाउँ गाउँ पुगेको छु, ती जनतालाई थाहा म जमिनमै छु भन्ने ।
४८ सालमा चुनाव जित्दा जम्मा ३ वर्ष कार्यकाल भयो । मध्यावधि चुनाव भयो । त्यतिबेला पनि पटक पटक आएको हुँ । कोही कसैसँग भेट हुन नपाएको पनि हुन सक्छ, वहाँहरूले चुनावको बाध्यता बुझिदिनुभएको छ ।
देशमा स्वतन्त्रका कुराहरू पनि आइराखेका छन्, जनताले नयाँ अनुहारको खोजिरहेको आवाज पनि आइरहन्छ, ४८ सालदेखि तपाईंलाई भोट किन हाल्ने भनेर विपक्षीले एजेन्डा बनाइरहेका छन्, के भन्नुहुन्छ ?
नयाँ अनुहार खोजेका होइन, काम नयाँ खोजेका हुन् । ४८ सालमा म उठेँ । त्यतिबेला राजनीतिक परिवर्तन नै मुख्य एजेन्डा थियो । त्यसपछि ६४ सालमा उठेँ । त्यतिबेला संविधान बनाउन उठेको हुँ । ७४ मा प्रदेशमा उठेर मन्त्री पनि भएँ । त्यतिबेला थुप्रै विकास निर्माणका काम थालनी गरेँ । त्यसैले अहिले पनि जनताको चाहना अनुहारको कुरा होइन, नयाँ काम, योजनाकै कुरा हो ।
तनहुँको यो क्षेत्रमा संयोगले दुवै जना पूर्व वनमन्त्री हुनुहुन्छ । तपाईंले नै भन्दा उहाँसँगको प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ?
वनमन्त्रीका रूपमा पनि म सफल भएर नै फर्केको हो, मलाई कुनै दाग छैन । अर्थमन्त्री हुँदा पनि कानुन विपरीत कुनै काम गरिनँ । अहिलेको जुन मेरो प्रतिद्वन्द्वी हुनुहुन्छ, उहाँ फेरि यो क्षेत्रको पनि होइन । अहिले गठबन्धनको सरकार छ । त्यसो हुँदा वहाँले कति काम गर्नुभयो त यो क्षेत्रका लागि ? अहिले आएर पैसाको बलमा बोल्दै हिँड्नुभएको छ भनेर मतदाताको गुनासो सुन्छु । आमा समूहहरूलाई १० लाख, २० लाख, योजनाबारे २ करोड, ३ करोड अर्थात् ५० करोड, ६० करोड उहाँले भन्नुहोला । तर, यसरी भने पनि त्यसको कुनै अर्थ रहँदैन ।
बजेट नै बाँड्न सक्नुहुन्छ भने प्रतिनिधि सभामा किन उठ्नुपर्याे ? वहाँलाई सरकार किन चाहियो ? पैसाले विकास निर्माणका निम्ति यो दिन्छु, त्यो दिन्छु भन्ने हो भने हो भने त त्यो आवश्यकता नै पर्दैन । नत्र भने मलाई लाग्छ, जनताले कुन नाटक हो, कुन नौटङ्की हो भन्ने थाहा पाइहाल्छन् । त्यसले गर्दा वहाँ मेरो प्रतिस्पर्धीजस्तो पनि लाग्दैन ।
तर, गठबन्धन त ५ दलीय शक्तिसहित आएको छ नि !
त्यो गठबन्धन गठबन्धनजस्तो नै छैन । आफैँमा विभाजित छ । न सोच छ, न कार्यक्रम छ । त्यसले गर्दा पनि गठबन्धन बलियो अवस्थामा छैन । हिजो स्थानीय तहको नतिजामा पनि त उनीहरू नै बलियो थिए, तर पनि मैले जितेँ । त्यसैले त्यो गठबन्धन भए पनि बलियो अवस्थामा छैन । काङ्ग्रेसकै मान्छेहरूले पनि वहाँलाई ‘टुरिस्ट उम्मेदवार’ भन्छन् । भनेपछि यहाँको जनताले त स्वीकार गरेकै छैनन् । नेपाली काँग्रेसले नै स्वीकार गरेको छैन । गठबन्धनले स्वीकारेकै छैन ।
यो क्षेत्रमा गठबन्धनबाट कुनै योग्य उम्मेदवार नभएजस्तो, नेपाली काँग्रेसको सक्षम नेतै नभएजस्तो वहाँ जबरजस्ती आउनुभएको हो । त्यसले गर्दा पनि गठबन्धन त्यसमा पनि नेपाली काँग्रेसभित्रै रुष्ट छन् । अहिले झुक्काएर, नाटक गरेर, यतिउति पैसा दिन्छु भनेर भ्रममा राखेर वहाँले जति भोट ल्याउन सक्नुहुन्छ वहाँको भोट त्यति नै हो ।
एमालेभित्र पनि अन्तर विरोध छ, एकीकृत समाजवादी एमालेबाट फुटेर बनेको छ, गाह्रो हुँदैन ?
स्थानीय तहमा केही अन्तरविरोधहरु थिए । वडा सदस्यदेखि वडाध्यक्ष, मेयर उपमेयरसम्म धेरै उम्मेदवार, धेरै प्रत्याशी भएर त्यसबेला केही अन्त विरोधको अवस्था थियो । तर, अहिले त्यस्तो केही छैन । एमालेभित्र हामी कल्पना पनि गर्दैनौँ । हिजो पार्टी फुटाएर जाने एकीकृत समाजवादीका यो क्षेत्रका सबै फर्किइसके ।
बाँकी १, २ जना जो समाजवादी भनेर बसेका छन्, उनीहरूले पनि मलाई नै भोट हाल्छन् । हाम्रोमा सैद्धान्तिक भोट, राजनीतिक भोट र असन्तुष्टहरूको पनि भोट मलाई नै आउँछ । मेरा प्रतिद्वन्द्वी अहिले यहाँका चिल्ला बाटो देखाएर मैले बजेट हाल्न लगाएको भन्दै आएका छन् । उनलाई थाहै छैन, कुन बाटो प्रदेशको, कुन बाटो सङ्घको ? बजेट कसरी विनियोजन हुन्छ भन्ने थाहै छैन । पहिले जितेर पनि केही विकास गरेका होइनन्, त्यतिबेला पनि जम्मै भोट किनेर जितेका हुन् । अहिले पनि भोट किनेरै विजय प्राप्त गर्ने सपना देखेका छन् । तर, सपना अधुरो रहनेछ ।
यो पनि…
आखिर करिश्माले किन छानिन् एमाले ?
देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’