लेखकलाई नै थाहा छैन पुस्तक दिवस
पोखरामा विगत ६ वर्षदेखि र्यान्डम रिडर्स सोसाइटीले पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाउदै आएको छ । सोसाइटीका अनुसार पठन संस्कृति बढाउन तथा आफूलाई मन परेका कृति अन्य साथीलाई पढ्न हौसला दिन पनि पुस्तक उपहार कार्यक्रम आयोजना गरिन्छ । तर कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष लकडाउन गरेकाले र यस वर्ष पनि माहोल नरहेकाले २३ अप्रिलमा परेको पुस्तक दिवस मनाउन असम्भव भयो ।
दिवस मनाउन असम्भव भएको कुरा त एकातिर छ । तर, यहाँ कतिपय लेखकलाई नै पुस्तक दिवसको बारेमा थाहा नभएको सोसाइटीका अध्यक्ष केशवशरण लामिछाने बताउँछन् ।
दिवस मनाउन असम्भव भएको कुरा एकातिर छ । तर, यहाँ कतिपय लेखकलाई नै पुस्तक दिवसको बारेमा थाहा नभएको सोसाइटीका अध्यक्ष केशवशरण लामिछाने बताउँछन् । ‘यहाँ दिग्गज लेखकहरूलाई पनि पुस्तक दिवसको बारेमा थाहा छैन । विगतमा पुस्तक साटासाट गरेर पुस्तक दिवसलाई सार्थक बनाउन लागि परेका हौं । तर लगातार दुई वर्ष कोरोनाले यो दिवस ओझेलमा पारिदियो,’ लामिछाने भन्छन्, ‘अहिले कोरोना कहरले पुस्तकभन्दा पहिलो प्राथमिकता चामल परेको छ । त्यसैले, लेखनकर्ममा लाग्नेहरूलाई पनि यो दिवसको लेनादेना छैन ।’
विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस हो । सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता चर्चित लेखकको निधन भएको थियो । सोही सम्मानमा अप्रिल २३ लाई यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकबाट विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो । विश्वभरका लेखकहरूलाई प्रेरित गर्न, लेखनलाई उत्साहित गर्न र लेखकहरूको सम्मानस्वरुप यो दिवस मनाउन प्रस्ताव गरिएको थियो ।
त्यसैगरी, नेपाल बाल साहित्य समाजले शुक्रबार पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसको अवसरमा ‘नेपालमा बालपुस्तक’ विषयक् जुम छलफलको आयोजना गर्यो । कार्यक्रममा थारू, अवधी, भोजपुरी, नेपाल, तामाङ लगायत विभिन्न भाषामा बालपुस्तकको अवस्थाबारे चर्चा गरियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ अमर गिरी पुस्तकका लागि दिवस पर्खिनु नपर्ने बताउँछन् । उनी अघिल्लो लकडाउनको पुरापूर अवधि पुस्तक खोतल्दै बिताएको बताउँछन् । लेखक मधुसूदन पाण्डेले अघिल्लो लकडाउनमा छ्यालब्याल रहेको पुस्तक मिलाउन फुर्सद पाएको संस्मरण गर्छन् । उनले पुनः लकडाउनको अवस्था आए आफ्ना र्याकका पुस्तकको धुलो सफाचट हुने बताए ।
अप्रिल २३ लाई यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकबाट विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो ।
२३ अप्रिल विश्व पुस्तक दिवससँगै प्रतिलिपि अधिकार दिवस पनि हो । लेखकको अनुमति विना दोस्रो संस्करण उल्लेख नगरेर पुस्तक पुनप्रकाशन गर्दा लेखकहरू ठगिएका छन् । प्रमाणको अभावमा उनीहरूले क्षतिपूर्ति दावी गर्न सक्दैनन् । उता अनुमति विना गीतको धुन कपि गरिएको, शब्द नै चोरिएको प्रसंग पनि नेपाली सङ्गीत बजारमा सुनिन्छ ।
विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरूले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । तर नेपालको सन्दर्भमा लेखकले अरुले लेखेका पुस्तकको अध्ययन नगर्ने र पुस्तक सम्पादनसमेत नगरी बजारमा ल्याउने गरेका कारण राम्रा पुस्तक आउन सकेका छैनन् ।
पुस्तक प्रकाशनसम्बन्धी नीति छैन
नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । जसको अभावमा बेला बेला कतिपय पुस्तकहरु विवादमा समेत पर्ने गरेका छन् । पुस्तकमा प्रयुक्त भाषाशैलीको बारेमा २०७५ मा सरस्वती प्रतीक्षाको ‘नथिया’ र विवेक ओझाको उपन्यास ‘ऐलानी’ का विरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन परेको थियो । ती दुवै आख्यानकारले उपन्यासमार्फत वादी समुदायको आत्मसम्मानमा ठेस पु¥याएको आरोप लागेको थियो । सर्वाेच्च अदालतले दुवै कृतिलाई अर्काे संस्करणमा सच्याउनु पर्ने आदेश दिइसकेको छ ।
नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । जसको अभावमा बेला बेला कतिपय पुस्तकहरु विवादमा समेत पर्ने गरेका छन् ।
संसारमा सबैभन्दा पढन्ते आइल्याण्डबासी
संसारमा सबैभन्दा धेरै पुस्तक पढन्ते आइल्याण्डका नागरिकलाई मानिन्छ । उनीहरू मौसमका कारण घरभित्र बसेर समय कटाउन पनि पुस्तक पढ्ने गर्छन् ।
संसारमा हरेक पाँच जनामा एक जनामात्र पुस्तकप्रेमी रहेको अनुमान गरिन्छ । यसले पनि पाठक घट्दै गएको अनुमान गर्न सकिन्छ । अहिले संसारभरी कुल पुस्तकको बिक्री ७५ प्रतिशत अनलाइन र २५ प्रतिशत पुस्तक पसलहरूबाट हुने गर्दछ । द टेलिग्राफका अनुसार संसारमा अहिलेसम्म सबैभन्दा बढी पढिएको पुस्तक ‘बाइबल’, ‘क्वेसन्स फ्रम चेयरम्यान माओ त्से तुङ’, ‘ह्यारी पोर्टर’ र ‘डे सिभिलटेट मोरम पुएरिलिउम लिबेल्लुस’ (ल्याटिन १५३०) हो ।
पन्ध्रौं शताब्दीमा महान पेन्टर तथा वैज्ञानिक लियोनार्दाे दा भिन्चीद्वारा लेखिएको ‘कोडेक्स लेस्टर’ सबैभन्दा महँगो पुस्तक मानिन्छ । सन् १९९४ मा भएको लिलामीमा यो पुस्तक ३.०८ करोड डलरमा विक्री भएको थियो । यो नै आजसम्मको सबैभन्दा बढी मूल्य विक्री भएको पुस्तक हो । यसलाई संसारका सबैभन्दा धनी व्यक्ति विल गेट्सले किनेका थिए ।