मानविय प्रेमले नयाँ दृष्टि र नयाँ ज्योति दिन्छ
मानविय स्वतन्त्र समाज मानव मर्यादाभित्र रहेको स्वतन्त्र व्यक्ति र सार्वभौम मानिस बन्नका लागि समाजको विचार, समाजको बनौट, देशको परिस्थिति, परिवेश मानिसबाट मानिसलाई अलग गर्ने मानसिक, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक दासताको आचार, व्यवहार, रहनसहन कस्तो छ त्यसले नै दिशा निर्देश गर्दछ । मानव–अस्मिता, मानवको गरिमा स्पर्स गरेको देश, समाज भए मात्र सबै किसिमको स्वतन्त्रतासहित सार्वभौम मानिसको कल्पना गर्न सकिन्छ । मानविय प्रेमले मानवलाई नयाँ दृष्टि र नयाँ ज्योति दिन्छ ।
म हुर्केको समाज, मेरो देशका राजनीतिक अवस्था,आर्थिक असमानताले सगरमाथा छोएको बेला, संवेदनहिन परिवारवादमा हुर्केको सांस्कृतिक, सामाजिक, र राजनीतिक चरित्रका कारण लाख कोशिसका बाबजुद सार्बभौम मानिस बन्न दिएको छैन । अहंकार, इष्र्या, द्वेष, आफन्तवादको साँघुरो घेरामा मन मस्तिष्कमा जरा गाढेर दास बनाएको छ । उम्किन खोजे एक्लो त्यो पनि समाजमा अटाउन नसक्ने हुँदो रहेछ । एक्लो प्रयासलाई संघवादी, समूहबादी, दुनिया जिर्ण जिर्ण बनाउने सामाजिक व्यवस्था कायम छ । लड्नु त कसैले छ नै जसले स्वतन्त्र समाज, स्वतन्त्र व्यक्ति, सार्वभौम मानिसको अवधारणा लिएर ।
मार्क्सले स्वतन्त्रता खोजे मजदुरको अधिनायकत्वको सामाजिक राजनीतिक व्यवस्था बुद्धले तृष्णा र दुःखको संंसार भनेर परिवर्तनका लागि निर्वाणको माध्यमबाट खोज्न खोजे संसार लगभग उस्तै रह्यो । माओले चिनियालाई सार्वभौम,स्वतन्त्र राष्ट्रको पहिचान दिंदै साम्राज्यरुपी राष्ट्रहरुलाई पराजय गरी पहिचान दिए । सांस्कृतिक क्रान्तिको नाममा लालमोहरले विश्व न्यायप्रेमीमा शंकाको घर बसायो र नरसंहार पनि थुप्रै भयो । नायकहरु सधै एकरुपतामा हिड्दैनन् भन्ने उनी नै काफी छ ।
यो पनि…
वाम एकता किन र कसका लागि ?
सन् २०१० को नोवेल पुरस्कार विजेता लियुझियाओवो चीनका नागरिक हुन् । त्यहाँ उनले लोकतन्त्रको आवाज उठाएका थिए । तर लोकतन्त्रको आवाज उठाउँदा भनेका थिए मेरो शत्रु छैन, मसंग घृणा छैन । कडा सुरक्षाबीच अस्पतालमा उपचाररत् रहेकैबेला क्यान्सरबाट उनको मृत्यु भएको थियो । इराक, अफगानिस्तानमाथी आक्रमण गर्ने अमेरीकी लगायतको लोकतन्त्र पनि तिनै राष्ट्रको स्वार्थसँग गाँसिएको लोकतन्त्रको परिभाषा हो । चीन सहमत छ,छैन लियूसँग त्यो चीनको सरोकारको विषय हो । लियूको आफ्नै पाराको लोकतन्त्रको परिभाषा छ । लोकतन्त्र भनेको चुनाव जित्नु, सरकार बनाउने, घोषणा पत्रको घोषणा पत्र पक्कै होइन । लोकतन्त्रले स्वतन्त्र समाज छाडा भयो भन्न खोजिएको होइन ।
मानविय मर्यादाभित्र रहेको प्रकृतिप्रेमी समाज बन्न कति सहयोग गर्यो, के दिशा निर्देश गर्यो ? त्यसका नायकत्वको आचरण र व्यवहारले के देखाएको छ ? त्यो पनि खोज्नु पर्ने महत्वपूर्ण बिषय हो । त्यो स्वतन्त्र समाजमा बस्ने स्वतन्त्र व्यक्ति जिवनको बुझाई, जिवनको भोगाईमा सहयोग,सद्भाव,प्रेमभाव वातावरणमा हुर्किन कति लोकतन्त्रले सहयोग गर्यो र बाटो देखायो ? यो पनि उत्तिकै महत्वपूण सवाल हो । सार्वभौम मानिस भोट दिन मात्र,बोल्नेमात्रले सार्वभौम बन्दैन उसका निश्चित अधिकार कार्यान्वयन हुनुपर्छ । सेता कागजमा लेखेर केही हुँदैन ।
दलतन्त्र नै बहुदलीय लोकतन्त्र हो । दलतन्त्रलाई मुठ्ठीमा कसेर राख्ने दलका नेताहरु नै कागमा लेखिएको कुरा कागजमै राख्न तल्लिन छन् । नत्र उनीहरुको विरासत जोगिदैन । स्वतन्त्र समाज, स्वतन्त्र मानिस, सार्वभौम मानिस भएमा दास नहुने हुँदा राजनीति मार्फतको रोटी सेकाई नहुने हुँदा, दलतन्त्रका नायकहरु नै उक्त समाज निर्माण गर्ने मुख्य बाधक बनेका छन् । उनीहरुलाई साथ त छँदै छ, सामन्ती सोच साहु–महाजनहरुको सद्भावमा उनीहरु बाँचेका छन् । हाम्रो लोकतन्त्रको त्रासदी के पनि छ भने सही र ठिक व्यक्ति सामुन्ने आउने बित्तिकै उसका पछाडी, पार्टी, दल, सत्ता, पढेलेखेका व्यक्तिहरु हाथ धोएर पछाडी लाग्छन् । उसको पतनको खाडल खनिन्छ ।
लोकतन्त्रको बिरुद्ध होइन, बहुल समाजको बिरुद्ध होइन,पार्टी प्रणाली विरुद्ध होइन होला हर्क साम्पाङ्गहरुको जेहाद, नेतृत्व पंक्तीप्रति र दास मनोवृत्तिमाथी स्वतन्त्र अभिव्यक्ति र व्यवहार हो । तर स्वतन्त्रको नाममा भित्रि तेल ठोकेको बाँधाहरुको पनि स्वतन्त्र नाटक मञ्चन भैरहेको छ । ईश्वरीय सत्ताबाट कलियुगमा राजनीति चल्दैन, जनताको नियतिको परिवर्तन सूत्रपात राजनीतिबाटै हुन्छ । यो पनि सत्य हो, राजनीति सत्ताको माध्यमबाट चलेको हुन्छ । राजनीति मुर्दा हुदैन । मरेछ भने फेरी अर्को राजनीतिको जन्म हुन्छ । भोटको राजनीति कति महत्वपूर्ण हुन्छ भने कलकत्तामा बंगलादेशी तसलीमा नसरीनको मुस्लिम समुदायको पर्दाप्रथा र पुरातनपन्थीको विरुद्ध लेखे वापत निर्वासित भएर बसेकी थिइन । तिब्बतको धर्मगुरु भनिने दलाई लामालाई स्वागत गरी बसोबासको व्यवस्था मिलाउने भारत सरकार र पश्चिम बंगालको माक्र्सवादी सरकारले भारतबाट खेद्यो तसलिमा नसरीनलाई । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिने देशले खेद्यो–कम्युनिष्टहरुले खेदेको कारण भारत र बंगालको मुस्लिम भोटका लागि । हुन त आदर्शको कुरो हुन्छ लोकतन्त्रमा म मेरो लागि स्वतन्त्रता, समानता, सम्मानको माग गर्छु भने अर्काको लागि सोही विषयमा कति लोकतन्त्रवादी छु भन्ने कुरा पनि असली लोकतन्त्रले खोजेको हुन्छ ।
विचार र कर्मको स्वतन्त्रता, जिन्दगीको विकास र समृद्धिको एक मात्र शर्त हो । जहाँ त्यो स्वतन्त्रता हुदैन त्यहाँ मनुष्य, नश्ल र राष्ट्रको पतनको दिशा तिर जान्छ ।
लोकतन्त्रको नेतृत्व अहंकारी, दम्भी, कोटरीको, गुटको मात्र भएमा लोकतन्त्र र जीवनमा दुवैमा समस्या आउछ । अहंकार लोकतन्त्रको ठूलो समस्या हो । अहंकारले मन असुद्ध हुन्छ, बुद्धि अस्पष्ट हुन्छ, सकारात्मक पक्ष धुमिल हुन्छ भन्छन् तत्वज्ञानीहरु । अहंकार शक्तिशाली हुन्छ, यसले वदला मात्र लिन खोज्छ, प्रतिशोधमा आनन्दीत हुन्छ । अहंकारको कुशल व्यवस्थापन भएन भने जिन्दगी र लोकमा जटिलता आउछ । त्यही जटिलतामाथी अहंकार मुस्कुराउछ र आफुलाई महान भन्छ । विश्वको राजनीति परिदृश्यमा अहंकारी राजनेताहरुको कोलाहल रुपमा भरिएको भिड छ ।
लोकतन्त्रको बाटो गलत भए गर्भमै मर्छ, जन्मिए पनि लुलो, लंङ्गडो, पक्षघाती हुन्छ । असली लोकतन्त्र मानविय जिवनका लागि एक तिर्थ यात्रा हो । लोकतन्त्रको नकाब पहिरिएर राजनीतिले जब सपना देखाउँछ प्रेमको, करुणाको, समरसताको, सुन्दर सार्थक जिवनको । तर जब विपनामा राजनीति हिँड्छ क्रुर यमराजझै बनेको जीवन्त इतिहास भोगेका थियौ, भोगेका छौ र भोगिरहेका छौ । चाहिएको सार्थक जीवन्त स्वतन्त्र समाज, स्वतन्त्र व्यक्ति, सत्यरुपी सार्वभौम मानिस र समरसतामाको बाँचेको राष्ट्र तर वर्तमान हेर्दा म पनि मौन साक्षी भएकोले उत्तिकै दोषी छु, जति नेतृत्व दोषी छन् । प्रायश्चित गर्ने क्रममा छौ कि छैनौ ? छु, छुइन मभित्र त्यसको ज्वालामुखी फुटीरहेका छन् ? फुट्नु पनि सायद परिवर्तनको दिशा होला ।
भारतका प्रख्यात हिन्दु सन्त विवेकानन्दको भनाइ राख्दै बिट मार्न चाहन्छु । उनले भनेका छन्, ‘विचार र कर्मको स्वतन्त्रता, जिन्दगीको विकास र समृद्धिको एक मात्र शर्त हो । जहाँ त्यो स्वतन्त्रता हुदैन त्यहाँ मनुष्य, नश्ल र राष्ट्रको पतनको दिशा तिर जान्छ ।’
पार्टीको दास, नेताको दास, विचारको दासताले पार्टिको क्याडर धेरै होलान्, नेताको दासले नेता देवताभै पूजिएलान,विचारको दासले जिवनको इन्द्रेणीलाई खण्डहर बनाउछ । विचारको बहुलताभित्र डुबुल्की लगाउदै सकारात्मक कर्मको व्यवहारले मर्यादित स्वतन्त्र मानिसभै जिन्दगीको विकास र समृद्धिको मानविय स्वतन्त्रताको शर्तलाई पूरा गर्छ ।
यो पनि…
मान्छेले बाँचेको आजको परिवेश
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप