English

‘उपेन्द्र यादवका सबै निर्णय हामीले खारेज गरिसकेका छौं’



जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजनको डिलमा छ । आफ्नै मन्त्रीहरूलाई सरकारबाट हटाएर जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना गुटकालाई मन्त्री बनाएको भन्दै पार्टीमा चर्को विवाद पर्यो । जसपाको रथ हाँकिरहेका डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले अहिले अलग अलग रुपमा पार्टी अभ्यास गरिरहेका छन् । दुवै पक्षले आ–आफ्नो समूहको केन्द्रीय समितिको बैठक पनि बोलाए । वीरगंजमा बसेको यादव पक्षको बैठकले जसपा संघीय परिषद् अध्यक्ष डा.भट्टराईसहित नौजना नेताहरूलाई कारबाही गर्यो । कारबाहीमा पर्नेमा मन्त्रीबाट हटाइएका पार्टी नेता महेन्द्र राय यादव पनि छन् । यता काठमाडौंमा बसेको डा.भट्टराई समूहको बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा मन्त्री पदबाट गलहत्याइएका महेन्द्र राय यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

उपेन्द्र यादव पक्षले तपाईलाई पदमुक्त गरेको छ । अब तपाईहरूको रणनीति के हुन्छ ?

उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही प्रेस रिलिज जारी गरेर खारेज गरिसकेका छौं । अब पार्टी पुर्नगठन गर्छौ यसको तयारी पनि गरिसकेका छौं । साथै, थप छलफललाई पनि सँगै लगिरहेका छौं । हाम्रो पार्टीको विस्तारित बैठकले पार्टीको सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी कार्यकारीलाई दिएको छ । उहाँले परिस्थिति अध्ययन गरेर ठोस निर्णय लिनु हुने नै छ ।

पार्टीको कार्यकारी भनेको को ? बाबुराम भट्टराई ?

उहाँ मात्रै होइन । हामी ८–९ जना छौं ।

नयाँ पार्टी गठनको बारेमा पनि छलफल अघि बढाएको हो ?

त्यो प्रक्रिया पनि अगाडि बढ्न सक्छ । बढ्नु पनि पर्छ । पुर्नगठनको परिस्थिति हेरेर अघि बढ्छौँ । अहिले त हामी छलफलकै चरणमा छौं । हामीलाई पनि निर्वाचनमा जानु नै छ । यसका लागि एउटा पार्टी नबनाई त सम्भव नै भएन नी ।

तपाईहरूलाई उपेन्द्र यादवले पार्टीबाट मुक्त गर्ने तर सांसद पद भने यथावत रहने भनिरहेका छन् नी ?

उनले कहाँ के गरे, कसो गरे त्यो उहाँकै विषय हो । उहाँका सबै निर्णयलाई हामीले खारेज गरिसकेका छौं । हामीले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटीको छुट्टै बैठक बसेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाइसकेका छौं ।

तपाईहरूलाई बिरगंज बैठकको निम्तो आएन ?

निम्तो आयो आएन ठूलो कुरा होइन । बिरगंज बैठकअघि नै पार्टीको बैठकमा पनि हामीलाई बोलाइएको थिएन । संसदीय दलको बैठक बारे पनि हामीलाई कुनै जानकारी गराइएन । यसरी लगातार बैठकमा नबोलाउनुबाट के देखिन्छ भने पार्टीको विधि विधानभन्दा फरक र गलत भइरहेको छ । यही क्रममा बिरगंज बैठक पनि भयो । यासबारेमा हामीसँग कुनै छलफल भएको थिएन । हामीलाई बोलाइएको पनि थिएन ।

बिरगंज बैठकअघि पार्टीको मुख्यालयमा तीन जनाबीच छलफल हुनुपर्ने थियो त्यो भएन । दोस्रो, बैठक बसे पनि हामीलाई जानकारी दिइएन् । संसदीय दलको बैठकमा पनि कुनै जानकारी गराइएन् । यसरी एउटा समुहले एक पक्षीय ढंगले अघि बढेपछि हामी जाने अवस्था नै भएन । त्यसैको परिणाम स्वरुप हामीले पार्टीको विस्तारित बैठक बोलाएका हौँ ।

तपाईहरूले यता बैठक बोलाए पनि पार्टीको बहुमत केन्द्रीय सदस्य त बिरगंज गए नी ?

बहुमत सदस्य जता गए पनि उनीहरूले दिएको सन्देश महत्वपूर्ण छ । उनीहरु सबैको माग अझै पनि पार्टी एकताका लागि छलफल, वार्ता गर, पार्टी पुर्नसंरचना गर भन्ने छ । यो माग महत्वपूर्ण कुरा हो । संख्या ठूलो कुरा होइन ।

तपाईहरूले यता बैठक नबसेको भए वातावरण अर्कै बन्न पनि सक्थ्यो नी होइन ?

अनि बिरगंज बैठकमा नबोलाएका हामी केन्द्रीय सदस्यहरु कहाँ जाने त ? पार्टीबाट हामीलाई कुनै जानकारी नआएका साथीहरू एक ठाउँमा भेला हुनु त पर्यो । यही कारण जडिबुटी बैठक आह्वान गरिएको हो ।

भनेपछि उपेन्द्र यादवसँग मिलेरअघि बढ्ने ‘च्याप्टर क्लोज’ नै भइसकेको हो ?

हाम्रो तर्फबाट यो पार्टीलाई बचाउन म र साथीहरूले बैठकबाटै आह्वान गरेका छौं । पहिला पनि पार्टी बचाउन धेरै नै प्रयास गरेकै हो । यसरी पार्टी बचाउनुको एक मात्रै उदेश्य के थियो भने हामी जसपालाई एउटा वैकल्पिक शक्तिका रुपमा बनाउछौं भन्ने नै थियो । तर, उहाँहरुले पार्टी कमजोर बनाउने विभाजनको बाटोतर्फ लैजाने गरिरहनु भयो ।

तपाईले यत्रो काम गर्दा गर्दै पनि तपाईलाई साथ दिइरहेका साथीहरु बिरगंज बैठकमा गए नी !

हामी अहिले पनि एउटै दलमा छौं । साथीहरु कहाँ गए कता गए ठूलो कुरा होइन । उहाँहरुसँग अहिले पनि मेरो नियमित कुराकानी भइरहेको छ ।

पार्टी एकताको बारेमा उपेन्द्र यादवसँगै अहिले पनि कुरा हुन्छ ?

होइन । पार्टी एकता च्याप्टरको त उहाँहरुले ढोका बन्द गरिसक्नु भएको छ । हामीले बैठकबाट पार्टी एकताको लागि आह्वान गर्दा उहाँले बैठकबाट त्यसतर्फ अघि बढ्ने निर्णय गर्नुपथ्र्यो । त्यो भएन । उहाँले गर्नु भएको कामबाट नै हामीले नयाँ बाटो लिएका हौँ ।

समावेशी लोकतान्त्रिक पार्टी भनेर नयाँ दल गठन गर्दै हुनुहुन्छ रे हो ?

यो पार्टी त स्थानीय तह निर्वाचन ताका नै दर्ता भइसकेको छ । यसमा अहिलेसम्म कुनै प्रकारको छलफल भएको छैन । तर साउनको दोस्रो हप्तासम्ममा नयाँ घोषणा चाहि हुन्छ ।

यो पनि…
‘मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरियो’
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested