अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन १४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् ।
छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि बताए ।
शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको उनको भनाइ छ ।
‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ । पछिल्लो १३ दिनको मात्र फुटेज रहने र बाँकी आफैं मेटिँदै जाने अर्थ मन्त्रालयले बताएपछि नियोजित रुपमा डिलिट गरिएको आरोप पनि अर्थमन्त्री शर्मामाथि लागेको छ ।
यस विषयमा छानबिन गर्न बुधबार सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन गठन गरेका छन् ।
यही विषयलाई लिएर एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो ।