मालामा नउनिएका फूलहरू उन्दा
शिखा बुक्सले २०७८ सालमा डा. खगराज बरालको अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ बजारमा ल्याएको थियो । यस कृतिमा लेखकका व्यक्तिगत अनुभव, भोगाइका सन्दर्भमा अटाएका विभिन्न विषयहरू बीसवटा शीर्षकमा सँगालिएका छन् ।
यसअघि पनि लेखकका शैक्षिक, साहित्यिक र यस्तै अनुभूति सङ्ग्रहहरु प्रकाशित भइसकेका छन् । कृतिमा दैनिक जीवनका सामान्य घटनादेखि गहनतम् विषयवस्तुहरू, वैदिक दर्शनदेखि विज्ञानका नयाँ आयामहरू, विभिन्न प्राणी जगत र प्रकृतिका कुराहरू समेटिएका छन् । पुस्तकभित्र अटाएका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक गतिविधि, आध्यात्मिक चिन्तन, विज्ञानसम्मत प्रमाणित पुस्ट्याइँका कुराहरू, मानवीय भावना र प्रकृति प्रेमका कुराहरूले जो कोहीको मनलाई खिच्न सक्छ ।
पुस्तकभित्र रहेको पहिलो शीर्षक ‘आमाबाबुका कुरा’मा छोराछोरीले बा आमालाई पाल्ने कि बा आमासँग बस्ने भन्ने सन्दर्भ कोट्याएर अहिलेको नेपाली समाजमा हुर्कदै गएको पाल्ने भन्ने संस्कृतिप्रति असहमति जनाउँदै तर्क पेश गरिएको छ । ‘हिजो र भोलि’ मा समय परिवर्तनसँगै मानिसको जिउने क्रममा आएको फरकपनले अहिलेका बालबालिकामा हिजोका पुस्ताको मर्यादा, इतिहासको गर्वका कुरा, माटोको माया, स्वाबलम्बीपन , जिज्ञासुपन जस्ता समस्यालाई उपयुक्त किसिमले समाधान गर्ने कलाको विकास गराउनुपर्ने सन्देश दिइएको छ ।
यसका साथै दुःख, दर्द र अभावमा पनि समायोजन हुन सिक्दै संघर्षको बाटोमा हिड्न सकून् भन्ने कामना साथ निजात्मक अनुभूतिहरू बाँड्ने प्रयास गरिएको छ । ‘बिहेका कुरा’ मा बिहे भन्ने कुरा जैविक आवश्यकता मात्र नभई पारिवारिक, सामाजिक आवश्यकता पनि भएको, विवाहका संस्कार र परम्परा विज्ञानसम्मत भएको चर्चा गर्दै हर्मोनल प्रेमको सम्वन्धका बारेमा समेत उठान गरिएको छ ।
यो पनि…
अमेरिकाको झझल्को
‘खाना सबैका लागि’ मा बाल्यकालीन क्षणमा आमासँग भोक लाग्यो भनेर गनगन गर्दा आमाले सोधेको कहाँ लाग्यो भोक ? भन्ने प्रश्नको उत्तर अहिलेसम्म दिन नसकेको प्रसङ्ग जोड्दै विद्यालयमा प्रयोग गरिएको दिवा खाजा कार्यक्रमको उदाहरण प्रस्तुत गरिएको छ ।
एकादशीकोे चर्चाका सन्दर्भमा आफ्नो मनमा गढेको छाप कोट्याउँदै धर्मशास्त्र अनुसार पनि सबै भन्दा उत्तम दान अन्नलाई मानिएको उल्लेख गरिएको छ । विश्व जगत कोरोना भाइरसको आक्रमणमा परेका बखत त झन् भोजन दान र बाँडीचुडी खानुको महत्व धेरै रहेको कुरा उल्लेख गरिएको छ ।
‘बर, पिपल, समी र सुगा’ शीर्षकमा प्राविधिक शिक्षामा उल्लेख्य मिहिनेत र प्रगति गरिरहेको सुर्खेतको जनज्योति माध्यमिक विद्यालय बड्डीचौरको कार्यकुशलताको प्रसंशा गर्दै त्यस विद्यालयमा बर, पिपल र समी जस्ता झ्याम्मिने र हरियाली रहने बिरुवाको नर्सरी नै बनाएर गरिएको योगदानको चर्चा गरिएको छ ।
यो पनि…
यात्राको तरङ्गमा तैरिँदा
सुगाजस्ता चराचुरुङ्गीले बर, पिपल, समीका फल खाएर गरेको बिस्टा हुने बिउबाट बिरुवा उम्रने कुरा उनका लागि नयाँ ज्ञान प्राप्ति भएको उल्लेख गरिएको छ । ‘कृष्णसारका कष्ट’ शीर्षकमा सोझो प्रकृतिको मानिससँग नजिक हुन मन पराउने कृष्णसारको भूमिकालाई केलाउँदै उसको बाँच्न पाउँने अधिकारका बारेमा उल्लेख गरिएको छ ।
मानिससँग नजिक हुँदा होस् या जंगलमा रहदा होस् सधैँ खतरा नै खतरा मोलेर बाँच्न सिक्नुपर्ने कृष्णसारको बाध्यतालाई मार्मिक किसिमले मनछुने गरी प्रस्तुत गरिएको छ । ‘कुकुरका कुरा’ मा आफूलाई सभ्य र आधुनिक बन्न रुचाउने इच्छाले कुकुर पाल्ने, कुकुर डुलाउने तर उसको दिसा, पिसाब व्यवस्थापन गर्न नसक्ने व्यक्तिप्रति व्यङ्ग्य प्रहार गर्दै आफू र आफ्नो घर परिवारमा मात्र हैन सामाजिक वातावरण नै सफा राख्न प्रयत्नशील हुनुपर्छ भन्ने सन्देश दिइएको छ ।
‘मृगसँग बातचित’ मा केन्याको राजधानी नौरोबी भ्रमणमा रहँदा त्यहाँको नेसनल पार्कमा घुम्दा स्वैरकाल्पनिक हिसाबले मृगसँग कुरा गर्दा मृगले मान्छेका बारेमा बनाएको धारणा, बलवान् र शक्तिशाली सिंहजस्तो प्राणीलाई राजा बनाएको प्रसङ्ग, मृगले बाँच्नको लागि गरेको सङ्घर्ष, शिशु तथा बाल मृत्युदर, गर्भपतनका सन्दर्भमा गरिएका कुराहरूको बयानले पाठकहरूलाई प्रभावकारी ढङ्गले झक्झकाउन सक्छ ।
यो पनि…
‘आमा’
‘अतिथि आसनमा अलमल’ शीर्षकमा कुनै, कुनै कार्यक्रममा आतिथि कसलाई र कसरी बनाउने, उनीहरूको मर्यादाक्रम छुट्याएर कसरी सम्बोधन गर्ने भन्ने कुराको अलमललाई उदाहरण सहित उल्लेख गरिएको छ ।
‘विद्वान् र बुद्धिजीवी’ मा ज्ञान भन्दा अनुभव ठुलो, बुद्धिजीवीले विवेकको प्रयोग गरेर र विद्वान्ले ज्ञानको प्रयोग गरेर समस्या समाधान गर्न सक्नुपर्छ भन्नेकुराको उदाहरण प्रस्तुत गरिएको छ ।
‘के राम्रो के नराम्रो’ मा आफ्नो परिवेशअनुसार समाजमा विविध धर्म संस्कारको अभ्यास रहेको हुन्छ र के राम्रो के नराम्रो भन्ने कुरा ठाउँ र परिस्थितिअनुसार फरक पर्न सक्छ भन्दै सविस्तार पेश गरिएको छ । कतिपय संवेदनशील संस्कारलाई भने मानिसले हलुका रुपमा लिँदै आफ्नो स्वार्थपूर्तिका लागि सहमत जनाउने गलत प्रसङ्गलाई समेत सूक्ष्म तरिकाले टिप्पणी गरिएको छ ।
‘अपरिचित परिचित भएपछि’ मा कहिल्यै नथाक्ने र नहार्ने दृष्टिविहिन शिक्षक एवं गायक डिबी सरको सङ्घर्षको उत्प्रेरक कथासँगै मिर्गौला रोगसँग हारेको क्षणले भने पाठकलाई अत्यन्त संवदनशील बनाउँछ ।
यो पनि…
उत्तर कोरिया, मैले जे देखेँ
यसैगरी ‘तीनओटा पोर्टको रहर’ मा कर्मचारी तन्त्रभित्र वहानाबाजी र बेथितिको माखेसाङ्लोले कसरी राज गरेको छ भन्ने कुरा जल्दोबल्दो समस्याका रूपमा व्यक्त गरिएको छ । ‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’ मा प्रो. जोन डेभिड स्निडरले शैक्षिक सुधारका लागि प्रस्तुत गरेका सरल र सुबोध्य उदाहरणहरूबाट सहीरूपमा लक्ष्य प्राप्त गर्न सकिने सन्दर्भलाई सूक्ष्मरूपमा उतारिएको पाइन्छ ।
यसरी शिक्षणका सन्दर्भमा राम्रा अभ्यासलाई प्रयोग गर्ने विभिन्न शिक्षालयहरूका प्रयोगात्मक प्रसङ्गहरूलाई उदाहरणका रूपमा सम्झिने प्रयास गरिएको छ ।
‘बालीको बास’ शीर्षकमा झन्डै नेपालजस्तै वर्ण व्यवस्था रहेको, हिन्दु धर्मका गणेश, विष्णु जस्ता भगवानका मूर्तिहरू घरअगाडि राखिएको, करिब नब्बे प्रतिशत हिन्दुहरू रहेको बालीमा धार्मिक सहिष्णुता भएको चर्चा गरिएको छ । वन बिरालोलाई कफिकादाना खुवाउने र उसको दिसाबाट आएको दानालाई प्रसोधन गरी बुमबुम कफि बनाइएको प्रसङ्ग पनि बाली भ्रमण नगर्नेहरूका लागि रोचक लाग्न सक्छ ।
यो पनि…
मात्तिएको त्यो लाहुरे
‘फिलिपिन्सको सङ्घीयता’ मा सोह्रौँ शताब्दीमा स्पेनको उपनिवेश रहेको र बिसौं शताब्दीको शुरूमा अमेरिकी उपनिवेश भएको फिलिपिन्सको पूर्ण स्वतन्त्रता प्राप्तिका रोचक घटनासँगै संङ्घीयता लागू भएपश्चात् गरिएका विभिन्न अभ्यासहरूलाई सिलसिलेवार रूपमा प्रस्तुत गरिएको छ ।
‘संसद विघटनदेखि संसद विघटनसम्म’ मा २०५१ साल असार २६ गतेदेखि २०७८ सालसम्म संसद विघटन भएको प्रसङ्गसँगै देशमा पटक–पटक राजनीतिक अन्यौलता र अस्थिरताको माहौलले निम्त्याएको दुःखद् घटनाको स्मरण गरिएको देखिन्छ । यसका साथै आफ्नो २६ वर्षको जागिरे जीवनमा २६ पटक नै प्रधानमन्त्री फेरिएको रमाइलो प्रसङ्गसँगै राजनीतिक अस्थिरतामा देश जकडिएकोमा दुःख व्यक्त गरिएको छ ।
‘नेपालको शिक्षामा मेकालेको मनोमानी’ शीर्षकमा दक्षिण एसियाको शिक्षा पद्दतिमा पलाएको उपनिवेशवाद, अर्काको भरमा मात्र बाँच्ने प्रवृत्ति, सिपमूलक र गरिखाने शिक्षामा आएको ह्रास र परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
साथै, मेकालेको शिक्षाबाट राष्ट्रमा कसरी प्रभाव परेको छ भन्ने उदाहरणसमेत व्यक्त गरिएको छ । यसक्रममा परम्परागत रुपमा प्राचीन गुरूकुल शिक्षा पद्दतिको पनि चर्चा गरिएको छ । ‘वैदिक दर्शनः गुरुकुलीय शिक्षाको आधार’ मा वैदिक कालबाट सुरू भएको विकास क्रमको जानकारी दिंदै सिकाइ कसरी प्राप्त हुन्छ, ध्यान योग, स्वचिन्तनबाट कसरी ज्ञान, सिप र दृष्टिकोणको विकास हुन्छ भन्ने कुराहरूका बारेमा सूक्ष्म चर्चा गरिएको छ ।
यो पनि…
प्लीज पारमिता
अन्तिम शीर्षक ‘अदावी’ मा वैदिक कालमा चर्चा गरिएका अदावीका उदाहरणसहित हालका केही महान् व्यक्तिहरूका प्रसङ्गहरू जोड्र्दैै महान्, त्यागी र दानी पात्रहरूले अनावश्यक कुराहरूमा दावी नगर्ने हुँदा नै खुशी र सुखी भएको भाव व्यक्त गरिएको छ । कुनै पनि काममा थौरै योगदान गर्दा धेरै दावी गर्ने, योगदान नै नपु¥याएका ठाउँमा पनि पूर्ण योगदान छ भनी मोलमोलाइजा गर्ने स्वार्थी प्रवृत्तिप्रति दुःख व्यक्त गर्दै लेखकले समाजको सिर्जना गलत किसिमले हुन खोजेकोमा चिन्ता व्यक्त गरेका छन् ।
लेखकले जीवन भोग्ने क्रममा बाल्यकालिन उतारचढावको सम्झनासगै शैक्षिक, प्रशासनिक क्षेत्रमा बिताएका क्षणहरूलाई अनुभवजन्य प्रभावकारी किसिमले फराकिलो दृष्टिकोण राखेर यस कृर्तिमा समेटेका छन् । साथै समाजमा हालसम्म नउनिएका किसिम–किसिमका फूलहरूलाई मालामा उन्ने प्रयास गरेका छन् ।
उनी यस कृतिमा जनजीवनका सामान्य भोगाइदेखि गहनतम् अनुभवहरूलाई सरल र सुबोध्य किसिमले पाठकसामु पस्किन सफल भएका छन् । कृति अध्ययन गर्दै जाँदा कौतहलता जाग्नु र नयाँ अनुभव हासिल गर्न पढिरहन मन लाग्नु यस पुस्तकको विशेष विशेषता रहेको छ । पुस्तकमा उल्लेख भएका घटना, परिघटनाहरू अध्ययन गर्दा कुनै विषयवस्तुको बढाइचढाइ नगरी , कुनै व्यक्ति र संस्थालाई नफुक्र्याइ वास्तविकतामा आधारित विचारहरू प्रस्फुटन भएको पाउन सकिन्छ । प्रत्येक शीर्षकहरू अध्ययन गर्दा बनावटका हिसाबले केही शीर्षक लामा र केही छोटा देखिन्छन् ।
यो पनि…
अन्तिम भेट
कुनै शीर्षकमा कथाजन्य किसिमले, कतै यात्रा संस्मरण जन्य किसिमले त कतै आत्मापरक निवन्ध जस्तो गरी अनुभूतिहरूलाई पस्किएको देखिन्छ । पढ्दै जाँदा पाठक कुन विधामा प्रवेश गरिरहेको छ भनेर झुक्किन पनि सक्छ । यसरी लेखकले विधागत समिश्रण गरी नयाँ शैलीको प्रयोग गरेर गैर आख्यान मूलक अनुभूति प्रकाशित गराएका छन् ।
जे होस् लेखकले यथार्थपरक भोगाइको जानकारी दिने घटनाहरू प्रस्तुत गर्दै समाज परिवर्तनका लागि कृतिलाई पठनीय बनाउने प्रयास गरेका छन् । अन्य यस्तै खाले सकारात्मक चिन्तन र सकारात्मक परिवर्तनका लागि बस्र्यौनि नयाँ कृतिहरू आइरहून् भन्ने शुभकामना व्यक्त गर्दछु ।