लिंग पहिचान र गर्भपतनः समाज र संस्कार नै दोषी
लैगिंक बिभेद तथा लैगिंक हिंसामा जति नै वकालत गरे पनि समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टि एउटै भईसकेको छैन । ‘दुई सन्तान ईश्वरको वरदान’ चाहना अधिकांश दम्पतीको रहने गरेको पाईन्छ । तर ती दुई सन्तानमा छोराको अनिर्वायता भने छ ।
स्वास्थ्य क्षेत्रमा हरेक पाँच वर्षमा गरिने नेपाल जनसाख्यिक स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०१६ ले नेपालमा महिलाको प्रजनन २ दशमलब ३ मा रहेकोे देखाएको छ । सन् १९९६ मा यो दर ४ दशमलब ६ मा रहेकोमा २० वर्षमा यो दर घटेर २ दशमलब ३ मा सिमित भएको हो । यसले औसत नेपाली महिलाहरुले २ देखि ३ मात्र सन्तान जन्माउने गरेको स्पष्ट छ । तर ती २ सन्तानमा छोराको अनिवार्यता खोज्ने गरेको पाईन्छ ।
हुनत मेरो दुई सन्तान होस् र ती छोरा र छोरी दुवै हुन भन्ने चाहना गलत नहोला । तर २ छोरा भए ठिकै छ अनि २ छोरी भए एउटा छोरा त पाउनै प–यो नि भन्ने चलन घटेको छैन ।
प्रसुति गृह थापाथलीमा २०७० साल तिर बिदुर नगरपालिका नुवाकोटबाट आएकी ४० बर्षिया संध्या नेपाल (नाम परिवर्तन) को कथा मैले बिर्सन सकेको छैन । ४० बर्षको उमेरमा चौथो पटक गर्भवती भएकी संध्याको ३ छोरीहरु थिए । पहिलो छोरी १७ बर्ष पार गरेर एसएलसी दिई सकेकी थिईन भने कान्छी छोरीको उमेर पनि ११ बर्ष भईसकेको थियो । पहिलो पटक त्रिशुलीमा गर्भ परिक्षण तथा अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गर्दा छोरा रहेको भन्दिए पछि काठमाण्डौमा पुनः छोरा भने पछि अत्ति नै उत्साहित भएर गर्भको अवधिभर काठमाण्डौंमा नै भाडाको घरमा पुरै सर्तकताका साथ आफ्नो गर्भलाई सम्हालेकी थिईन् ।
हुनत गर्भावस्थामा सर्तक हुनु, सावधानी अपनाउनु राम्रो हो तर उनको सर्तकता आफ्नो लागि भन्दा पनि ३ छोरी पछि चौथो गर्भको छोराको लागि थियो । नियमित परिक्षणमा रहेको संध्याको प्रसुती गृहमा मैले शल्यक्रिया (सिजरियन) गरेर बच्चा देखाए पछि उनीमा आएको रोदन र तनाव मैले बिर्सेको छैन, कारण उनको त्यो बच्चा पनि छोरी नै थियो ।
पछिल्लो समयमा पहिलो गर्भ छोरी भएका दम्पतीहरुले दोस्रो गर्भको लिंग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ । गरिव, निमुखा तथा कमजोर बर्गका लागि यो नौलो भए पनि धनी र बौद्धिक बर्गका लागि यो सामान्य भई सकेको छ । अल्ट्रासाउण्ड गरेर लिंग पहिचान गर्नेे र गर्भपतन गराउन चाहना राख्ने धेरै हुन्छन् । नेपालमा झन्झटिलो भए वा सम्भव नभए पछि भारतको सिलगसढी, पुर्णिया, पटना, तथा गोरखपुर जानेहरुको संख्या कमी छैनन् ।
हाम्रो देशमा क्रोमोजोमको अध्ययनबाट गर्भको लिंग पहिचान गरेको नपाईए पनि अल्ट्रासाउण्डबाट लिंग पहिचान गरेका उदाहरणहरु प्रसस्त पाईन्छ । रेडियोलोजिष्ट डा. सिमान्त मेहता बताउछन् ‘गर्भमा रहेको बच्चाको लिंग पहिचान गर्नु गैरकानूनी मात्र होईन, अनैतिक पनि हो ।’ पन्ध्र हप्ता अर्थात साढे तीन महिनाको गर्भको लिंग पुर्ण रुपले वा सतप्रतिशत छुट्याउन सकिने हुन्छ । लिंग पहिचानले गर्भवती महिला तथा परिवारलाई मानसिक तनाव दिन सक्ने भएकोले बच्चाको गडबडीको बारेमा उल्लेख गरे पनि ‘लिंग’ भन्न नहुने उनको तर्क थियो । तर अहिले शिक्षित तथा सम्पन्न परिवारहरुले ‘वेवी सोवर’ गर्ने तथा अन्य धेरै वाहाना बनाएर लिंग पहिचान गर्न दवाव दिने गरेको डा.मेहताले बताए ।
गर्भवतीहरुलाई पटक पटक भिडियो एक्सरे अर्थात अल्ट्रासाउण्ड गर्नु पर्ने हुन्छ । समान्यतया गर्भ रहेको पहिलो तीन महिनाभित्र नै पनि एउटा भिडियो एक्सरे गरिन्छ । यसले गर्भ पाठेघर भित्र नै रहेको हो या होईन मात्र बताउदैन पछि गएर समयमा नै प्रसब भएन भने कति दिन पर्खने निर्णय बनाउन पनि मद्दत गर्ने हुन्छ । गर्भ रहेको पत्ता लगाउन, गर्भको अबधि तथा कति वटा बच्चा (जुम्ल्याहा, तिम्ल्याहा) रहेको हो थाहा पाउन पनि अल्ट्रासाउण्ड गर्नु पर्ने हुन्छ । बच्चाको बृद्धि, सालनालको अवस्था र रहेको ठाउँ पत्ता लगाउन, गर्भमा रहेको पानी (एम्नोटिम फ्लुड) को मापन गर्न पनि यसले मद्दत गर्छ । गर्भमा नै बच्चामा रहेको अपांगता वा असक्तता पत्ता लगाउन अल्ट्रासाउण्ड ले मद्दत गर्ने हुन्छ । आमा, बच्चा र प्रसब गराउने चिकित्सकको लागि पनि अल्ट्रासाउण्ड महत्वपुर्ण मानिन्छ । गर्भको बच्चाको अवस्था मात्र देखाउने नभई गर्भको ब्यवस्थापन तथा उपयुक्त र उच्चतम सेवा दिनको लागि गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्नु पर्नेमा दुईमत नहोला । तर अल्ट्रासाउण्ड गरेर लिंग पहिचान गर्नु उपयुक्त नहोला ।
नेपालमा १२ हप्तासम्मको जुनसुकै गर्भ सुचिकृत संस्थामा गर्भपतन गराउन पाउने अधिकार गर्भवती महिलामा रहे पनि लिंग पहिचान गरेर गर्भपतन गराउन नपाउने स्पष्ट कानुन रहेको छ । तर यसका बिपरित लिंग पहिचान गरेर गर्भपतन गराउने केहि चिकित्सकहरुको नाममा नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत पर्ने गरेको सुनेका छौ । चिकित्सकहरुलाई आर्थिक प्रलोभन देखाएर वा समाजिक अप्ठयाराहरु देखाएर लिङ्ग पहिचान गर्न लगाउने र गर्भपतन रोज्ने समाजले यसको सम्पुर्ण दोष चिकित्सकहरुलाई दिने गरेको पाईन्छ ।
लिंग पहिचान गराउन तथा गर्भपतन गराउन किन बाध्य छन् ? यस तर्फ कसैले सोच्न सकेको छैन । छोरी नचाहेको अवस्थामा छोरी जन्माउनु पर्दा सुत्केरी आमाले भोगेका समाजिक तथा मानसिक पिडा र उनका ती अबोध बालिका माथि गरिने र्दुब्यवहारलाई कसरी हटाउने ? अब पनि यसको सामाधान नगर्ने हो भने यस्ता गर्भपतन रोक्न पक्कै सकिदैन । गर्भमा रहेको सन्तानको अधिकार सुनिश्चित गर्न गर्भपतनमा रोक लगाएर मात्र पुग्छ कि पुग्दैन ?
नेपालका योग्य एवं दक्ष चिकित्सकहरुले यो सेवा नदिए भारतमा रहेका अनाधिकृत केन्द्रहरुमा तथा हाम्रै मुलुकका असुरक्षित स्थानहरुमा नेपाली दम्पतीहरु नलुटिने ग्यारेन्टि कसरी गर्ने ? सबभन्दा महत्वपुर्ण तथ्य त छोरी जति सबै गर्भपतन गर्दै जाने हो भने समाजिक सन्तुलन कसरी कायम रहला ? यस्ता धेरै प्रश्नहरु हामी माझ रहेको छ । छोरा पाउनै पर्ने कुसंस्कार र यस्ता समाजिक मान्यताको विरुद्धमा सबै बर्ग सचेत र गम्भिर हुन आवश्यक छ ।