पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेतेमाथि दुर्घटना भएको आशंका
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन ।
पोखराबाट १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।
म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।
अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।
बेपत्ता जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।
चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी हुन् ।
उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन । जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।
यो पनि…
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)