‘शंखरापुरमा जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ’
स्थानीय निर्वाचनको रौनक अझै सकिएको छैन । थुप्रै स्थानमा मतगणना जारी छ । जहाँ जति मतगणना भए त्यहाँ मूलधारका राजनीतिक दलकै दबदबा छ । तर, राजधानीकै एक कुनामा रहेको नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उदायो । त्यो नगरपालिका हो – शंखरापुर । जहाँ राप्रपाका रमेश नापित नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
४ हजार ७ सय मतसहित नगरप्रमुखमा विजेता बनेका नापितका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठ ४ हजार २ सय २ मतमै सिमित भए ।
सधैं मुलधारका राजनीतिक दलको दबदबा रहेको शंखरापुरको पासा पल्टाउन नापितलाई सहज भने थिएन । यो कुरा २०७४ को निर्वाचनको अंकगणितले पनि प्रष्ट पार्छ । उक्त निर्वाचनमा एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८ सय ६९ मतसहित विजयी भएका थिए । त्यसबेला राप्रपाले २ वटा वडासहित २ हजार ४ सय ६१ मत पाएको थियो । अहिले झण्डै दोब्बर मत बढाएर नापित नगर प्रमुख बने ।
हामीले अघिल्लो निर्वाचनमा २ वटा वडा जित्यौं र विकासमा नमुना वडा बनायौं । अब नगरलाई नमुना बनाउन राप्रपा नै चाहिने रहेछ भन्ने सोचेर नगरबासीले हामीलाई जिताउनुभयो ।
मुलधारका राजनीतक दलका उम्मेदवार छोडेर नापितलाई नै किन रोजे शंखरापुरबासीले ? नापित भन्छन्, ‘हामीले अघिल्लो निर्वाचनमा २ वटा वडा जित्यौं र विकासमा नमुना वडा बनायौं । अब नगरलाई नमुना बनाउन राप्रपा नै चाहिने रहेछ भन्ने सोचेर नगरबासीले हामीलाई जिताउनुभयो ।’
अबको ५ वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगारलगायतका क्षेत्रमा विकास गरी शंखरापुरलाई समृद्ध बनाउने योजना नापितको छ । ‘यसअघि निर्वाचित जनप्रतिनिधिबाट जनताले जे अपेक्षा गरेका थिए त्यो अनुसारको काम भएन भन्ने जनगुनासो छ,’ उनी भन्छन्, ‘अब जनअपेक्षअनुसार काम हुनेछ ।’
अब प्रत्येक नगरवासीको निःशुल्क स्वास्थ्य बिमा गर्नेछौं, जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ ।
नगरप्रमुखका रुपमा पदभार ग्रहण गरेसँगै नापितले खानेपानीको समस्या समाधानका निम्ति ‘एक घर एक धारा’ निर्माण गर्ने निर्णय गरिसकेका छन् । साथै, ६० वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नापित बताउँछन् । ‘अब प्रत्येक नगरवासीको निःशुल्क स्वास्थ्य बिमा गर्नेछौं,’ उनी भन्छन्, ‘जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ ।’
को हुन् रमेश नापित ?
२०४७ बाट राप्रपामा लागेका नापित पूर्व मन्त्री स्वर्गीय जोगमेहर श्रेष्ठका चेला हुन् । श्रेष्ठको हातबाट राप्रपाको सदस्यता लिएका नापित राप्रपाको काठमाडौं जिल्ला सदस्य हुँदै केही महिनाअघि सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए ।
२०२८ मा काठमाडौंको साँखुमा जन्मिएका नापित २०७४ को प्रदेश तहका निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्बर २, प्रदेश ‘ख’ मा राप्रपाको तर्फबाट प्रदेश उम्मेदवार बनेका थिए । त्यतिबेला उनले ४ हजार ३ सय मतसहित पराजित भएका नापितलाई यसपाली शंखरापुरबासीले आफ्नो नगरप्रमुख रोजेका छन् ।
यो पनि…
‘अब धनगढीले कसैको कार्यकर्ता पाल्नुपर्दैन, न्यायपूर्ण विकास हुन्छ’
‘अब धरान उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहितमा समर्पित हुनेछ’