English

‘मेरो बुवाले मलाई प्रश्न सोध्न सिकाउनुभयो त्यसले मलाई खगोलविद् बनायो’ (भिडियो पनि)



वैज्ञानिक डा. श्वेता शाह युरोपियन स्पेश एजेन्सीको सबैभन्दा ठूलो अन्तरिक्ष मिसन लिजामा कार्यरत खगोलविद् हुन् । उनी विगत ६ वर्षदेखि जर्मनीस्थित माक्स प्लांक इन्स्टिच्यूट फर ग्राभिटेशनल फिजिक्स, अल्बर्ट आइन्स्टाइन इन्स्टिच्यूटमा अनुसन्धान वैज्ञानिकका रुपमा कार्यरत छिन् मेरोलाइफस्टाइलका लागि शाहले रोजिता बुद्वाचार्यसँग आफ्नोे विज्ञानयात्राका बारे कुराकानी साझा गरिन्। कुराकानीको अंश :

लिजा भनेको के हो ? आम नागरिकका लागि यो किन उत्साहजनक छ ?

लिजा युरोपियन स्पेश एजेन्सीको सबैभन्दा उत्साहजनक अन्तरिक्ष मिसन हो । सन् २०१५ सम्म खगोलसम्बन्धी जति पनि वैज्ञानिक खोज अनुसन्धान भए, ती सबै विद्युत चुम्बकीय तरंग (प्रकाश) को प्रयोगबाट सम्भव भए तर अब हामी ब्रह्माण्ड बुझ्न गुरुत्वाकर्षण तरंग (ग्राभिटेशनल वेभ) को प्रयोग गर्छौं । चार सय वर्षअघि खगोलविद् ग्यालिलियो ग्यालिलीले आकाशमा टेलिस्कोप फर्काएर अध्ययन गरेजस्तै अब चाहिँ हामी अन्तरिक्षमा कान तेर्साएर ब्रह्माण्डलाई सुन्ने प्रयास गर्दैछौं । यसर्थ यो मिसन बिल्कुलै पृथक छ ।

जब कुनै पनि फरकफरक पिण्ड भएका दुईवटा आकाशीय पिण्डहरु एकअर्काको नजिक आकर्षित हुँदै एकआपसमा ठोक्किन्छन्, स्पेसटाइम रुपी तन्ना मज्जाले हल्लिन्छ । यो हल्लाइलाई मापन गर्ने उपकरणलाई ग्राभिटेशनल डिटेक्टर भनिन्छ र लिजाको मुख्य काम नै उक्त हल्लाइ खोज्ने हो । लिजा मिसनअन्तर्गत तीन वटा मुख्य अन्तरिक्षयानले त्रिकोणात्मक आकारमा पृथ्वीको पछिपछि पृथ्वीसँगै सूर्यको वरिपरि परिक्रमा गर्नेछन् । प्रत्येक अन्तरिक्षयान बीचको दूरी २५ लाख किलोमिटर हुनेछ । यसमा नासाको पनि सहकार्य रहनेछ ।

तपाईं यस मिसनमा कसरी आबद्ध हुनुभयो ?

सन् २००८ मा मैले नेदरल्याण्डस्‌स्थित लाइदेन युनिभर्सिटीबाट स्नातकोत्तर गरेपछि नेदरल्याण्डस्मै रहेको राडबाउड युनिभर्सिटीमा विद्यावारिधि गरें । लिजाले अवलोकन गर्ने आकाशीय पिण्डहरुमध्येको एउटा क्षेत्र ग्यालेक्सी बाइनरी हो जसमा जीवनको अन्तिम चरणमा रहेका ह्वाइट ड्वार्फ, न्यूट्रोन ताराहरु, तारकीय ब्ल्याक होलहरु एकअर्काको वरिपरि परिक्रमा गरिरहेका हुन्छन् । यस्तो आकाशीय पिण्डहरुलाई गुरुत्वाकर्षण तरंग र विद्युत चुम्बकीय तरंग दुवै माध्यमले अवलोकन गर्यौं भने वैज्ञानिक दृष्टिकोणबाट हामीले के सिक्न सक्छौं भन्ने विषयमा नै मेरो विद्यावारिधी केन्द्रित थियो । लिजासँगको मेरो पहिलो भेटघाट त्यही थियो ।

मैले विज्ञानका कुरा त बुझें । तर मलाई त्यो वैज्ञानिक खोज पूरा गर्न आवश्यक उपकरण कसरी निर्माण गर्ने भन्ने जिज्ञासा थियो । त्यो बुझ्न मैले विद्यावारिधी सकेर करिब डेढ वर्षजत्ति पृथ्वीलाई अवलोकन गर्ने साटलाइट मिसनमा काम गरें । एकातिर मलाई खगोलविद्हरुले कस्तो खाले वैज्ञानिक खोजअनुसन्धान गर्न चाहन्छन् भन्ने राम्रोसँग थाहा थियो भने अर्कोतिर त्यस्तो खोजलाई सार्थक बनाउने वैज्ञानिक उपकरण निर्माण गर्ने चूनौतीपूर्ण क्षेत्र मेरो रुचीको विषय थियो । दुवैलाई संयोजन गर्दै म विगत ६ वर्षदेखि उपकरण वैज्ञानिकका रुपमा लिजा मिसनमा कार्यरत छु ।

नेपालमा रहँदा म वैज्ञानिक नै बन्छु भन्ने प्रेरणा कहाँबाट पाउनुभयो अनि कसरी वैज्ञानिक बन्ने यात्रा तय गर्नुभयो ?

म काठमाडौं छँदा लोडसेडिङ भइराख्थ्यो र मलाई भने आकाशमा चम्किरहेका ताराहरु देखेर ती किन कसरी चम्केका होलान् भन्ने लागिरहन्थ्यो । एकदिन मैले मेरो दाईको कोठामा ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’ भन्ने किताब भेटें, मेरो दाईलाई वहाँको साथीले पढ्न सापटी दिनुभएको किताब । जब मैले त्यो किताब पढ्न थालें, जति म अद्भूत ब्रह्माण्डको रहस्यमयी रुपले मोहित भएं त्यत्ति नै बढी वैज्ञानिक स्टेफन हकिङबाट अभिप्रेरित पनि भएं । शारीरिक रुपमा अक्षम भएपनि मानसिक रुपमा असाधारण क्षमता भएका स्टेफन हकिङको जीवनले मलाई निकै प्रभाव पार्यो र मैले एकदिन आफूले पनि ब्ल्याक होल, न्यूट्रोन ताराको अध्ययन गर्ने सपना देख्न थालें ।

मेरो बुवाआमा विशेष गरी मेरो बुवाले मलाई सधैं साथ र हौसला दिनुभयो । खासमा हरेक विषयमा पनि किन भनेर प्रश्न सोध्न सिकाउने मेरो बुवा नै हुनुहुन्छ । जब पनि म वहाँलाई यो किन यस्तो भएको ? वा यो किन यस्तो भएन ? भनेर सोध्थें, वहाँले मलाई उच्च सम्मानका साथ स्याबासी दिनुहुन्थ्यो । बुवाको हौसलाकै कारण म अमेरिकास्थित लिन्डेन हल स्कूलमा पूर्ण छात्रवृत्ति पाएर हाइस्कूल अध्ययन गर्न गएं । त्यसपछिका दिनहरुमा मैले धेरै राम्रा मेन्टरहरु पाएं र एकपछि अर्को पाइला चाल्दै यो यात्रा पूरा भयो ।

महत्वपूर्ण कुरा चाहिं मैले जीवनको एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्नुअघि आफूले चाहेको कुरा के हो भनी बुझ्न पर्याप्त समय लिएं । तर खगोल भौतिकशास्त्रबाट भने कहिले टाढा बस्न सकिनं ।

तपाईंको यात्रामा महिला भएकै कारणले कुनै विभेदको सामना गर्नुभएको छ ? यदि छ भने त्यो परिस्थितीबाट आफूलाई कसरी माथि उठाउँदै अघि बढ्नुभयो ?

नेपालमा मात्र होइन संसारको जुनसुकै ठाउँमा पनि विभेद हुने गरेको छ । मैले १८ वर्ष नेपालमा रहँदा, साढे पाँचवर्ष अमेरिकामा भौतिकशास्त्र र गणित अध्ययन गर्दा र त्यसपछि नेदरल्याण्डस् र अहिले जर्मनीमा रहँदा विभेद म देख्छु तर कस्तो खाले विभेद मुख्य प्रश्न हो । नेपालमा छँदा त आधारभूत सुरक्षा, अवसर र प्रोत्साहनकै कमी महशुस हुन्थ्यो । पश्चिमी देशहरुमा तुलनात्मक रुपमा चेतनास्तर धेरै नै माथि भएकाले लैङ्गिक पहिचानका आधारमा हुने प्रत्यक्ष विभेदहरु कम छन् तर अप्रत्यक्ष सूक्ष्म विभेदहरु चाहिं अझै पनि व्याप्त छ । मैले नेतृत्व तहमा पुग्न थुप्रै प्रोपोजलहरु लेखेको छु । प्रायजसो युरोपियन वा गोरो वर्णका व्यक्तिहरुले नै प्राथमिकता पाएको देख्छु । कतिबेला विभेद गर्नेहरुलाई पनि उनीहरुले विभेद गरिरहेका छन् भन्ने थाहा हुँदैन । मलाई लाग्छ यस्तो विषयमा हामीले प्रभावकारी ढंगले कुराकानी गर्नु जरुरी छ । कसरी विभेद भइरहेको छ थाहा दिनु जरुरी छ, चेतना जगाउनु जरुरी छ ।

तपाईंको नजरमा विश्व वैज्ञानिक जगतमा नेपाल र नेपाली वैज्ञानिक जगतको अवस्था कस्तो छ ?

यो विषयमा मेरो सीमित बुझाइ मात्र छ, गहिरो अध्ययन गर्ने ठोस मौका पाएकी छैन । म देशबाहिर रहेर आफूलाई एक कुशल वैज्ञानिक बनाउन तिरै केन्द्रित थिएं । तर समयसमयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयमा कुनकुन विषयका विभागहरु खुले भनेर हेर्छु । मेरो विद्यावारिधी सकेर त्रिभुवन विश्वविद्यालयमा मेरो खोज र अनुभव साट्ने मौका पाएको थिएं । प्रा.डा. विनिल अर्यालले यो अवसर जुराइदिनुभएको थियो । खगोलशास्त्रप्रति उत्साहित विद्यार्थीहरु देख्दा म चकित परेँ । आम नागरिकका लागि उपलब्ध हबल स्पेश टेलिस्कोपजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मिसनहरुबाट संकलित तथ्यांकको प्रयोग गरी ती विद्यार्थीले विभिन्न खोज अनुसन्धान गरिरहेको थाहा पाएं । यस किसिमको ठोस सहभागिता देख्दा म ज्यादै प्रेरित भएकी थिएं ।

एउटा वैज्ञानिकले के काम गर्छ ? तपाईं खगोलविद् हुनुहुन्छ, खगोलशास्त्रको करियर स्कोप कस्तो छ ?

सामान्यतयाः अमेरिकामा स्नातकोत्तर र विद्यावारिधीबीच खासै अन्तर हुँदैन । स्नातक गरेपछि सीधै विद्यावारिधी गर्न मिल्छ तर युरोपतिर भने २ वर्षको स्नातकोत्तरपछि मात्रै विद्यावारिधी गर्न सकिन्छ । स्नातकोत्तरमा कुनै प्राध्यापकको मातहतमा रही एउटा ठूलो वा दुईवटा स–सानो रिसर्च प्रोजेक्ट गर्नुपर्ने हुन्छ । त्यतिबेला कसैले पनि नसोधेका प्रश्नहरु कसरी सोध्ने र ती प्रश्नहरुको उत्तर कसरी खोज्ने भन्ने सिकाइन्छ । आफ्नो परिकल्पना शक्ति तथा रचनात्मक सोचको उपयोग गरी कसैले नसोधेका प्रश्नहरु सोध्ने र काम गर्ने मानसिकताको विकास गरी ती प्रश्नहरुको उत्तर खोज्ने, एक वैज्ञानिकको चरित्रलाई यी दुई गुणले व्याख्या गर्छ भन्ने मेरो बुझाई हो । विद्यावारिधीमा हामी यही चरित्रको अभ्यास गर्छौं । त्यसपछि भने हामी स्वतन्त्र रुपमा ब्रह्माण्डसम्बन्धी रोचक प्रश्नहरुको उत्तर खोज्ने कार्य गर्छौं ।

करियर स्कोपको कुरा गर्दा विज्ञानका अन्य विधाहरुको तुलनामा खगोलशास्त्रमा एकदमै धेरै सम्भावनाहरु छन् । खगोलविद्हरुले आफ्नो प्रश्न हल गर्ने प्रतिभाको प्रयोग विभिन्न क्षेत्रमा गरिरहेका हुन्छन्,कन्सेल्टेन्सीदेखि इन्डष्ट्री हुँदै डाटा साइन्ससम्म । एउटा एकदमै उत्साहजनक क्षेत्र चाहिं अन्तरिक्ष विज्ञान हो ः सफ्टवेयर लेख्ने, अन्तरिक्ष मिसन डिजाइन गर्ने, परिक्षण गर्ने, खगोलविद्हरुको आवश्यकतालाई बुझ्ने र सोही अनुरुप काम गर्ने । मेरो विचारमा यस क्षेत्रमा अनगिन्ती सम्भावनाहरु छन् ।

तपाई जस्तै वैज्ञानिक बन्ने सपना देख्ने मजस्ता युवाहरुलाई के भन्न चाहनुहुन्छ । केही सफलताको मन्त्र छ कि ?

पहिलो कुरा, यस क्षेत्रमा हामी नेपालीहरु धेरै छैनौं । तपाईं आफैमा पृथक हुनुहुन्छ र तपाईंले आफ्नै फरक दृष्टिकोण प्रस्तुत गर्नुहुन्छ र यो निकै महत्वपूर्ण कुरा हो । नेपालको जस्तो जवाफ नखोजी खुरुखुरु मान्नैपर्ने सामाजिक व्यवस्थालाई सभ्य तरिकाले प्रश्न गर्ने र तोड्ने बानीको विकास गर्नुपर्छ । नेपालबाट बाहिर गएपछि धेरै चुनौतीहरुको सामना गर्नुपर्छ, त्यहाँ अर्कै स्तरको प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

मेरो हकमा पनि मेरो बुवाले किन भनेर प्रश्न सोध्ने बानीको विकास गराउनुभयो, त्यही किनले मलाई यहाँसम्म पुर्याएको हो । त्यो नभएको भए म यहाँ हुँदैनथिएं ।

शैक्षिक स्तरमा होस् वा सरकारी स्तरमा, खगोलशास्त्रलाई अझै धेरै प्रर्वद्धन गर्न तथा नयाँ नयाँ रिसर्च प्रोजेक्ट नेपाल भित्रयाउन के गर्नुपर्छ ? हामीले के गर्न सक्छौं ?

हाम्रो पुस्ताको युवाहरुको स्कुलिङ गुणस्तरीय छ । हामीले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय स्तरको तालिम प्राप्त गरेका छौं । मेरो विचारमा सबैभन्दा पहिलो काम भनेको अब हामीले आफूले सिकेका आफ्नो खोजअनुसन्धानसँग सम्बन्धित विषयहरु सेमिनार आयोजना गरेर वा विशेष कोर्स डिजाइन गरेर अध्यापन गर्न सुरु गर्नुपर्छ । अहिलेको समयमा नेपालबाट टाढा भएपनि अनलाइन अध्यापन गर्न सकिन्छ । खगोलशास्त्रमा भएका अथाहा सम्भावनाहरुसम्बन्धी जानकारी दिन र उत्प्रेरित गर्न पनि यो जरुरी छ ।

लिजासँग सम्बन्धित केही अपडेटहरु साट्नुहोस् न ? यो कहिले प्रक्षेपण हुँदैछ ?

युरोपियन स्पेश एजेन्सीको सबैभन्दा ठूलो, सबैभन्दा धेरै लगानी भएको र सबैभन्दा नौलो मिसनका रुपमा लिजाको प्रस्तावना सन् २०१७ मा स्वीकृत गरिएको थियो । सन् २०३४ मा प्रक्षेपण गर्ने लक्ष्य रहेता पनि लक्षित समयमा २–३ वर्ष थपिन सक्छ । स्वीकृत हुनुदेखि प्रक्षेपणसम्म विभिन्न तहगत कार्यहरु हुँन्छन् । अहिलेको चरणमा यस मिसनसँग सम्बन्धित प्राविधिक अध्ययन भइरहेको छ ।

अन्त्यमा, लिजाजस्तो वैज्ञानिक दृष्टिकोणले असाध्यै महत्वपूर्ण अन्तरिक्ष टेलिस्कोपले नेपालजस्तो देशलाई कस्तो खाले लाभ मिल्ला ?

यस विषयमा, म नेपालको बारे मात्र सोच्दिन, यसले सम्पूर्ण मानवजगतलाई नै कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने नै म सोच्छु । हुनतः यस किसिमको अन्तरिक्ष टेलिस्कोप निर्माणदेखि प्रक्षेपणसम्म हुने प्राविधिक खोज तथा अनुसन्धानले हाम्रो दैनिक जीवनमा प्रयुक्त प्रविधिलाई अपग्रेड त गर्छ नै तर महत्वपूर्ण कुरा यस्ता अन्तरिक्ष टेलिस्कोपले मानवजगतको उत्पत्तिदेखिका सम्पूर्ण इतिहास र बिग बेङदेखि ब्रह्माण्डको इतिहास अध्ययन गर्न मद्दत गर्छ ।

व्यवहारिक उपयोगिताको बारे सोच्दा, जब यस टेलिस्कोपले अन्तरिक्षको अवलोकन गरी तथ्यांक संकलन गर्न थाल्छ र संकलित तथ्यांक आमनागरिकले प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराइन्छ, त्यतिबेला यस विषयमा उत्सुक र अभिरुचि भएका विद्यार्थीले उक्त तथ्यांकको प्रयोग गरी नवीन खोजअनुसन्धान गर्न सक्छन् । तर म फेरि पनि भन्छु, म यस्तो वैज्ञानिक मिसनले सम्पूर्ण मानवजगत् र मानवतालाई नै के फाइदा पुर्याउला भन्ने सोच्छु ।

भिडियो :

यो पनि…
हामीलाई माया चाहिन्छ, मिसाइल होइन
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन