English

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले भर्दैछ पहिलो व्यावसायिक उडान



गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतस्थित जजिरा एयरलाइन्सले पहिलो व्यावसायिक उडान गर्ने भएको छ । बुद्ध जयन्तीका अवसर पारेर उक्त एयरलाइन्सले कुवेतबाट आउने १७५ जना यात्रुलाई अवतरण गरेसँगै विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।

उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर पुन कुवेत प्रस्थान गर्ने कार्यसूची रहेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । यसैगरी विमानस्थललाई सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । यो सँगै लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । यो विमानस्थल सञ्चालनमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनीलाई विमानस्थलले अन्तर्राष्ट्रियजगतसँग सिधा हवाई सम्पर्क स्थापित गर्नेछ ।

करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि मात्र हुने महाप्रबन्धक दाहालले बताए ।

अन्तर्राष्ट्रियरूपमा व्यावसायिक उडान सुरु भएपछि जजिराले लुम्बिनीबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिए ।

विसं २०७१ को माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो । विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको छ । विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन् ।

तीन हजार मिटर लामो धावनमार्गसहित पाँच विमान पार्किङ क्षमता छ । एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्याङ्की, बगैँचाहरूलगायत आवश्यक संरचना तयार भएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन् । विमानस्थलको क्षमता प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब रु ३२ अर्ब पुगेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन

सोसोमबार नै प्रधानमन्त्री देउवाले लुम्बिनीमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ का अवसर पारेर प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्न लागेका हुन ।


उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए । केन्द्रको उद्घाटनपछि बुद्धपूर्णिमाको मूल समारोह कार्यक्रम यसै हलमा आयोजना हुनेछ । समारोहमा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् ।

ध्यानकेन्द्रमा एकैपटक पाँच हजार जना अटाउने छाता शैलीको हलको छाना गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिको जडान गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए। केन्द्रको चारैतिर पर्खाल लगाइएको छ भने पर्खालभित्र बुद्धका विभिन्न आकर्षक प्रतिमाहरू राखिएका छन् ।

योजना प्रमुख भट्टराईका अनुसार ७५० मिटर लम्बाइको कम्पाउन्ड वालको साढे सात/सात मिटर फरकमा ९७ बुद्धमूर्ति राखिएका छन् । उक्त सभाहल निर्माणमा पहिलो चरणमा ३३ करोड र दोस्रो चरणमा करिब २७ करोड खर्च भएको बताइएको छ । उक्त सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकि थिइन्।

यो पनि
क्यालिब्रेसन फ्लाइटले ल्यायो खुसीयाली
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन