English

‘माडीवासीको शिर निहुरिने काम गर्दिनँ’



३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तारा कुमारी काजी महतोले नेकपा एमालेको तर्फबाट माडी नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडीको उपमेयरमा निर्वाचित भएकी महतो अहिले मेयरको लागि चुनावी अभियानमा लागेकी छिन् ।

माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर उनले काम गरेकी छन् । माडीमा लोकप्रिय मानिने महतो, यहाँका आदिवासी, महिला, दलित, अल्पसङ्ख्यकलगायत माडीवासीको समस्या र पीडाको बारेमा जानकारी राख्छिन् ।

निर्वाचनसँग सम्बन्धित रहेर मेयरकी उम्मेदवार तारा कुमारी काजी महतोसँग कुलप्रसाद काफ्लेले गरेको कुराकानीको अंश :

निर्वाचनको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?

हामीले आफ्ना धारणाहरु सार्वजनिक गरेर प्रतिवद्धतापत्र तयार गरी जनताको घरघरमा गएका छौं । जनताका गुनासा र समस्या सुन्ने, आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने काम गरेका छौं । ठाउँठाउँमा कोणसभा गर्ने, माडीवासीसँग प्रत्यक्ष भेटघाट गर्दै निर्वाचनको अभियानलाई अगाडि बढाएका छौं ।माडीवासीलाई समृद्ध माडी कसरी बनाउने भन्ने चिन्ता छ । माडीको विकासको लागि विभिन्न सुझावहरु दिनुभएको छ । हाम्रा योजना र विगतमा गरेका कामका कारण माडीवासीको भरोसा हामीप्रति नै छ । माडीवासीले अगाडि बढ्ने हौसला दिनुभएको छ ।

उपमेयर भएर एक कार्यकाल पूरा गर्नुभयो । अहिले किन मेयर बन्ने आकांक्षा राख्नुभयो ?

अघिल्लो कार्यकालमा हाम्रो पार्टी नेकपा एमालेले मलाई उपमेयरमा उठ्ने अवसर दियो । म अत्यधिक मतले विजयी भएँ । म त्यतिबेलाको म्यान अफ दि इलेक्सन हो । उपमेयरको जिम्मेवारीमा रहेर काम गर्दा मैले धेरै कुराहरू सिकेँ । जनताका वास्तविक समस्याका साथै समग्र माडीका समस्यालाई गहिरिएर बुझ्ने मौका पाएँ । अहिले मलाई मेयर भएर काम गर्ने आँट आयो । माडीवासीबाट पनि हौसला र प्रेरणा पाएँ । त्यसैले माडीवासीकै आकांक्षा पूरा गर्नकै लागि पार्टीसँग समन्वय गरेर मैले मेयरमा उम्मेदवारी दिएको हो ।

उपप्रमुख भएर के–के काम गर्नुभयो त ?

न्याय सम्पादन, अनुगमन, अपांगताका हक हितका विषयहरुका साथै राजस्व परामर्श समितिको संयोजकमा रहेर मैले इमान्दारीसाथ जिम्मेवारी पूरा गरेँ । माडीबाट धेरै महिलाहरु ठोरी नाका हुँदै बेचबिखनको लागि भारत लाने गरेको थाहा पाएर नियन्त्रणमा अगाडि बढ्यौं । माडी नगरपालिकाबाट बाहिर जाने बगई नाकाबाट जाने बसहरुमा जाँच गर्न सहायता कक्ष बनाएर काम सुरु गर्‍यौं । यसरी काम गर्दा हरेक वर्ष लगभग ७ देखि १८ जनासम्म महिला, बालिका, किशोरीहरुलाई उद्धार गर्न सफल भयौं ।

यहाँका महिलाको स्वास्थ्य अवस्था दर्दनाक छ । तपाइँ उपमेयर हुँदा महिलाको स्वास्थ्यमा परिवर्तन गर्न सक्नुभयो ?

हामी निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौं । प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरेका छौं । सामान्य उपचारमा सरसल्लाह गर्न अहेब, अनमी र एक जना सहयोगी गरी तीन जना कर्मचारी कार्यरत छन् । बगौंडा अस्पतालमा महिलाहरु गर्भवती हुँदा वा सो क्रममा गर्नुपर्ने दुई वटा भिडियो एक्सरे निःशुल्क गरेका छौं । बगौडा अस्पतालसम्म सुत्केरी हुन आउन परे घरमा सवारी साधन छैन । एम्बुलेन्स चाहिए त्यो पनि निःशुल्क गरिएको छ । कतिपय सुत्केरी र शिशुमा पोषणको कमी देखियो । त्यसका लागि पोषणको कार्यक्रम गर्नुपर्छ भनेर हामीले पोषणका कार्यक्रम पनि गरेका छौं ।

पाँच वर्षसम्म माडी नगरपालिकामा के कस्ता विकास भए त ? विगतमा जनतासँग गरेको प्रतिवद्धता पूरा गरेजस्तो लाग्छ ?

हामी नगरपालिकामा निर्वाचित भएर आएपछि धेरै विकासका कामहरू भएका छन् । बाटाहरु चौडा भएका छन् । पुलहरु निर्माण भएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले माडीमा चार लेनको सडक र ११ वटा पुल बनाउन बजेट दिएको थियो । अहिले काम धमाधम भइरहेको छ । यो बीचमा विद्यालयहरूको स्तरोन्नति गरिएको छ । कृषि र पर्यटनमा आशालाग्दो परिवर्तन देखिएको छ ।

सुकुम्वासीहरुको स्थायी बसोवासको लागि पहल भइरहेको छ । यी कामहरू अगाडि बढाउन नेकपा एमालेको नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारले धेरै सहयोग गरेको छ । यहाँहरुलाई थाहै छ । माडीमा रामअयोध्याधाम बनाउने भनेर पनि ठूलो चर्चा भयो । केही काम पनि भए । कतिपय काम हुनसकेनन् । अब अगाडि बढाउनुपर्छ । हामीले विगतमा प्रतिवद्धता जनाएअनुसार समृद्ध माडी बनाउनको लागि धेरै काम बाँकी छन् । मेयरमा निर्वाचित भएर सहमति र सहकार्यले तिनै कामहरु पूरा गर्ने अठोटका साथ अगाडि बढेकी छु ।

पाँच वर्ष तपाइँले उपमेयर रहेर काम गरिरहँदा आम मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन सके जस्तो लाग्छ ?

हामीले माडी नगरपालिकामा अर्गानिक कृषि फर्म सञ्चालन गरेका छौं । वडा नंं. ८ मा प्रदेशकै नमुनाको रुपमा एउटा सामूहिक खेती सञ्चालन गरेका छौं । मगर, थारु, बोटे, दुरालगायतका होमस्टेहरू सञ्चालन गरेर ति समुदायका मानिसहरुलाई आयआर्जनसँग जोडेर काम गरेका छौं । होमस्टेहरूले जीवनमा परिवर्तन ल्याएको छ । माडीवासीमा शैक्षिक चेतना बढेको छ । कृषि कार्यमा परिवर्तन आएको छ । तर पनि यो पूर्ण होइन । अझै धेरै काम गर्न बाँकी छन् ।

एमालेले तपाईँलाई नै माडी नगरपालिकाको मेयरको उम्मेदवार किन बनाएको होला ?

म नै उम्मेदवार हुनुपर्छ भनेर मैले पार्टीलाई कहिल्यै दबाब दिइनँ । मैले कसैलाई तेरो मेरो नभनी काम गरेँ । कसैलाई पनि कुनै विभेद नगरी काम गरेँ । मेरो अनुभव, इमान्दारिता र लगनशीलतालाई मूल्याङ्कन गरेर नै पार्टीले मलाई अगाडि बढाएको होला भन्ने मलाई लागेको छ ।

माडी नगरपालिकाको नेतृत्वमा निर्वाचित हुने के आधार छन् तपाईसँग ?

निर्वाचित हुने प्रमुख आधार नै आदरणीय मतदाताप्रति मैले गरेको सेवा हो । म हर समय जनताको माझमा रहेँ । उहाँहरूको सुखदुःखमा साथमै भएँ । मैले विगतमा माडीवासीको शिर झुक्ने कुनै काम गरिन् । मेरो विगतको अनुभव, जनतामा गएर काम गर्ने कार्यशैली, समृद्ध माडी बनाउने योजना, माडीवासी जनताले दिएको माया, प्रेरणा र हौसला, सबैसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धताका कारण म मेयरमा निर्वाचित हुने प्रशस्त आधारहरु छन् । हाम्रो पार्टी र राप्रपाको बीचमा माडीमा तालमेल गरेर गएका छौं । त्यो पनि जितको एउटा आधार हो ।

मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । हामीसँग प्रतिस्पर्धा गर्ने गठबन्धनले महिलालाई उपेक्षा गरेको छ । माडीका १४ हजार ५ सय ६२ महिला मतदाताको अपमान गरिएको छ । प्रमुख, उपप्रमुखमा महिलालाई अगाडि ल्याएको छैन । महिलाप्रति यस्तो दृष्टिकोण राख्ने दलका उम्मेदवारलाई यहाँका माडीका महिलाले किन मत दिने ? माडीवासी जनताको आशा, भरोसा र माया मप्रति नै देखिएको छ । त्यसैले माडीवासी जनताले मलाई अवसर दिनेछन् भन्नेमा म ढुक्क छु ।

अहिले गठबन्धनबाट मेयरमा कुनै चौधरी उम्मेदवार नभएकोले सजिलो छ भन्ने तपाइँ र तपाइँको पार्टीको आंकलन हो ?

यो जात विशेषको मात्रै विषय होइन । हाम्रो देश नै सबै जातजातिको साझा थलो हो । सबै जात जातिको संस्कृतिमा नै नेपाली संस्कृति विकसित हुन्छ । सबै जातजातिलाई सम्मान गर्दै संरक्षण र सम्वर्धन गर्नु हाम्रो कर्तव्य हो । मेरो जित्ने आधार भनेकै माडीका जनता हुन् । सबै जात जाति, धर्म समुदाय, क्षेत्र, बर्ग र लिङ्गका जनता नै मेरो जितका आधार हुन् । म थारु समुदायमा जन्मिएको एक छोरी हुँ । त्यस समुदायले मप्रति माया गर्नु त स्वाभाविक नै मान्नुपर्छ नि ।

समृद्ध माडी बनाउनको लागि के कस्ता योजना लिएर अगाडि बढ्नुभएको छ त ?

माडी भौगोलिक, सामाजिक, धार्मिक, राजनैतिक दृष्टिकोणले महत्वपूर्ण स्थल हो । यहाँ विकासका सम्भावनाहरू धेरै छन् । माडीका जनता र जमिनको सुरक्षा प्रमुख विषय हो । निकुञ्जसँगको द्वन्द्व हटाएर जनताको हितमा काम गर्नुपर्छ । रिउमा तटबन्धन गरेर पर्यटकीय मार्ग बनाउनुपर्छ । भूमिहीन सुकुम्वासीहरुको स्थायी बसोबास र रोजगारको व्यवस्था गर्नुपर्छ । कृषिमा आधुनिकीकरण, पर्यटकको आकर्षण, विभिन्न जात जातिको संस्कृति संरक्षण, स्वरोजगारको व्यवस्था, माडीलाई शैक्षिक हव बनाउने, माडीका विभिन्न धार्मिक र पुरातात्विक स्थलहरूको संरक्षण र स्तरोन्नति गर्ने, माडीका दक्षिणतिर बग्ने खोलाहरुमा तटबन्धन, बघौडा अस्पतालको स्तरोन्नति लगायतका योजनाहरू लिएर हामी जनतामाँझ गएका छौं । हाम्रा योजनाहरूलाई प्रतिवद्धतापत्रमा समावेश गरी सार्वजनिक पनि गरेका छौं ।

माडीमा भुमिहिन सुकुम्बासीका समस्या छन्, जंगली जनावरका समस्या छन्, ठाडा खोलाहरुको समस्या छ ।भूमिखण्डिकरणको समस्या छ यि समस्याको समाधान कसरी गर्ने सोच बनाउनुभएको छ ?

कृषि योग्य भूमि जथाभावी गरिने खण्डीकरणलाई रोक्नुपर्ने मुख्य चुनौती बनेर आएको छ । यसलाई रोक्न नगरपालिकाले ठोस नीति ल्याउँछ ।

राष्ट्रिय निकुञ्जको बाटोको सुधारका लागि हामी दुई–तीन पटक प्रधानमन्त्री कार्यालयमा डेलिगेसन पनि गयौँ । कानुनी हिसाबले पनि त्यहाँ अवरोध छ भने अन्य कुराहरु पनि छ । राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा परेको हुनाले अन्य निकायहरुले पनि अनुमति दिनुपर्ने, आफ्नै खुसीले बनाउन नपाइने जस्ता कुराहरु छन् । निकुञ्ज सम्बन्धि ऐनका कुरा छन् ।

यसमा हामीले सहजीकरण गर्न धेरै प्रयास गर्यौं । यही कारणले यतिसम्मको बाटो निर्माण भएको हो । हामीले यसलाई धुलोरहित बाटो बनाउने भनेर पनि काम अगाडि बढाउनु पर्छ भनेर हामीले सोचेको हो । तर, विविध कारणले त्यहाँ अहिले रोकिएको छ । यसलाई अगाडि बढाउँछौं । जंगली जनावरबाट हुने मानवीय र अन्य भौतिक क्षति कम गराउन तारवार लगाउने योजना पनि छ । निकुञ्जसँग समन्वय पनि गछौं ।

निस्सा बाड्ने काम भूमि सम्बन्धि समस्या समाधान आयोगको काम कर्तव्य र अधिकार भित्रको विषय हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

भूमिहिन सुकुम्वासीको समस्या माडीमा चर्को छ । सुकुम्वासीहरुको स्थानान्तरण र स्थायी बसोवास पूर्जा वितरणको पहल भैरहेको छ । केहीलाई हामीले निस्सा बाँडेका छौं । निस्सा माथि पनि माओवादीले राजनीति गरिरहेको छ । निस्सा माओवादी केन्द्रले बाँडेको होइन । नगरपालिकालाई जे जति अधिकार थियो, त्यो अधिकार क्षेत्रभित्र बसेर हामीले काम गरेर नगरपालिकाले बाँडेको हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई हामीले प्रतिवद्धता पत्रमा स्पष्ट पारेका छौं । हामीले भूमि सम्बन्धि समस्या समाधान आयोग आयोगसँग समन्वय गरेर रोजगार सहितको स्थायी बसोवासको अवधारण ल्याएका छौ । अझै पूर्णरुपमा हामीले निस्सा प्रदान गर्न सकेका छैनौं । अब विजय भएर फेरि यसलाई निरन्तरता दिने हो । यस कामको लागि समय लाग्छ । हामी आत्तिनु हुँदैन । अहिले चुनावको माहोल छ । यो लगतै यसलाई हामी निरन्तरता दिन्छौं ।

शिक्षा, स्वाथ्य, खानेपानी, सरसफाइ, विकास निर्माणका कुरा लगायत अन्य बाटो, कलभर्टका कुरा सबैलाई हामीले एकदमै समान रुपमा अगाडि बढाउँछौं । यहाँ रहेका धार्मिक सांस्कृतिक स्थल, पर्यटन, कृषिमा प्रवद्र्धनका कुराहरू छन् । धेरै कुराहरुलाई समेटेर लानुपर्ने छ । म यी सबै कुराहरुलाई पूरा गर्न सक्छु । माडी नगरपालिकामा आन्तरिक बजेट कम हुँदा हुँदै पनि हामीले विभिन्न स्रोतहरु खोजेर अहिले माडी नगरपालिकाको बजेट बढाएका छौं । यो हिसाबले पनि समन्वय सहकार्य गरेर काम गर्न सकिन्छ । मैले अगाडि भनेअनुसार नै सुन्दर, हराभारा र समृद्ध माडी बनाउनु नै हाम्रो लक्ष्य हो ।

मतदातालाई केही भन्न चाहानुहुन्छ ?

मैले भष्ट्राचार गर्दिनँ, गर्न पनि दिन्नँ । भष्ट्राचारीहरुका लागि गेट बन्द गर्नेछु । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन । यो मेरो प्रतिबद्धता हो । समृद्ध माडी बनाउने विषयमा नै मेरो जीवन समर्पण गर्नेछु ।

यो पनि…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
काठमाडौं महानगरपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन