भारतमा फेरि बढेको कोभिड संक्रमणले के संकेत गर्छ ?
भारतमा कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेको विषयलाई नजिकबाट नियालिरहेको र नेपाललाई सम्भावित जोखिमबाट जोगाउनका लागि प्रतिकार्य योजना तयार पार्न गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्। भारतमा पछिल्लो २४ घण्टामा थप २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको कोभिड-१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ४ सय ४० कोभिड परीक्षण गरिएको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क छ। मृत्यु सङ्ख्यामा ३१ जनाको विवरण पछिल्लो तथ्याङ्कमा अद्यावधिक गरिएको भए पनि त्यसमा ठूलो वृद्धि देखिएको एनडीभटीभीको वेबसाइटमा प्रकाशित समाचारमा उल्लेख छ। भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११,५४२ छ।
गत जनवरीमा उच्च विन्दुमा पुगेको कोभिड सङ्क्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा रहेता पनि, पछिल्लो तथ्याङ्कले भने त्यसमा केही परिवर्तन आउन लागेको सङ्केत गरेको जनाइएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ५ सय १७ सङ्क्रमित थपिनु र उत्तर प्रदेशमा पनि केही वृद्धि देखिनु नेपालका लागि महत्त्वपूर्ण सूचक रहेको विज्ञहरू बताउँछन्।
नेपालको तथ्याङ्कमा के छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४,६५१ जनाको नमुना परीक्षण गर्दा थप १० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० छ।
गत हप्ता कोभिडको दोस्रो लहरपश्चात् पहिलोपटक सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा कममा झरेको अधिकारीहरूले बताएका छन्। त्यस्तै, खोप अभियान शुरु भएपश्चात् नेपालमा ४ करोड ६ लाखभन्दा बढी मात्रा खोप लगाइएको सरकारी तथ्याङ्कले देखाउँछ।
लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले कम्तीमा एक मात्रा लगाएको र ८२.२ प्रतिशतले पूर्ण मात्रा लगाएको बताइएको छ।
तयारी कस्तो छ ?
हालसम्म नेपालमा देखापरेका तीनवटै लहर भारतमा नयाँ लहर शुरु भएलगत्तै अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय कोभिडको तेस्रो लहर सुस्ताएसँगै देशैभर कडा प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ र सार्वजनिक स्थलहरूमा भिडभाड बढेको छ।
तर, स्वास्थ्य मन्त्रालयले सङ्क्रमण दर घटेको भए पनि जोखिम कम नभएको बताउँदै आएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी छिमेकी मुलुकहरूमा सङ्क्रमण बढ्दै जानुको अर्थ नेपालका लागि पनि ठूलो चेतावनी रहेको बताउँछन्।
‘विगतका तीन वटा लहर हामीले भोग्दा फेरि विशेषगरी भारतमा सङ्क्रमण बढेको केही हप्तामा त्यस्तै अवस्था हामीले भोगेका छौँ। अहिले पनि भारतमा सङ्क्रमण बढ्दै गरेको प्रारम्भिक तथ्याङ्क आइरहेका छन् त्यसले हामीलाई चिन्तित त पक्कै बनाउँछ,’ अधिकारीले भने।
‘तर हामीले विगतको सिकाइसँगै सङ्क्रमणको प्रकृति पनि हेरेर निगरानी बढाउने कुराहरू, खोप लगाउने बाँकी मानिसहरूलाई सकेसम्म चाँडो खोप लगाउन तर्फ केन्द्रित रहेर र जनस्वास्थ्यका मापदण्ड पालना गराउने हिसाबले सबैलाई सुसूचित गर्ने विषयमा र विशेषतः नाकाहरूबाट आउने मानिसहरूको निगरानी र त्यसै भित्रको जनस्वास्थ्यको मापदण्डको निगरानी र सङ्क्रमणको निगरानी गर्ने कुराहरूमा चनाखो भएर काम गर्नुपर्ने छ ।
अध्यागमन विभागको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा १५,०१३ मानिस भारतबाट नेपाल आएका थिए। त्यस्तै, १३,९४२ जना नेपालबाट भारत गएका थिए।
यस्तो अवस्थामा विभिन्न नाकाहरूमा विगतमा स्थापना गरिएका हेल्थ डेस्क, त्यहाँ राखिएका स्वास्थ्यकर्मीहरू सबै पूर्ण रूपमा फेरि पनि सञ्चालनमा ल्याउने गरी आवश्यक समन्वय गरिरहेको अधिकारी बताउँछन्। त्यसबाहेक परीक्षणको दायरा पनि बढाउनुपर्ने देखिएको सरकारी भनाइ छ। ‘सम्बन्धित निकायहरूसँग समन्वय गरेर अझ तीव्र गतिमा काम अघि बढाउँछौँ। पछिल्लो तथ्याङ्कहरूले पनि हामीलाई अझ केन्द्रित भएर काम गर्नुपर्ने छ भन्ने इङ्गित गरिरहेका छन्,’ अधिकारीले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन पनि खासगरी दिल्लीसहित भारतका विभिन्न सहरहरूमा सङ्क्रमण बढ्नु नेपालका लागि महत्त्वपूर्ण सङ्केत रहेको ठान्छन्। तर, कोभिडको पहिलो र दोस्रो लहरको तुलनामा अवस्थामा निकै फरक आएको उनी बताउँछन्।
‘धेरैले खोप लगाइसकेको अवस्था छ। लक्षणसहित वा लक्षणविना धेरै जना एक पटकभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको पनि होला,’ पुनले भने ‘सङ्क्रमणको सङ्ख्यामा उतारचढाव देखिए पनि त्यसको अनुपातमा अस्पताल भर्ना हुने वा जटिल अवस्थामा पुग्नेहरूको सङ्ख्या कम हुन सक्छ। ‘तर, चीनको पछिल्लो अवस्था हेर्दा वृद्धवृद्धाहरूमा भने बढी प्रभाव पर्न सक्ने सङ्केत देखिएको उनको बुझाइ छ।
भारतमा हाल फेलिएको कोभिडको कुन भेरियन्ट हो भन्ने कुरा अझै ‘स्पष्ट नभइसकेको’ बताउँदै कोभिडको डेल्टाक्रोन र एक्सइ भेरियन्टले भने पुनः सङ्क्रमण गराउन सक्ने सम्भावना आफूले देखेको उनी बताउँछन्। त्यसै कारण अर्को लहर शुरू भइसकेको भन्न सकिने अवस्था नरहे पनि केही समय सम्बन्धित देशहरूमा भएको सङ्क्रमणलाई नजिकबाट निगरानी गरेर त्यसको आधारमा आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ।
यो पनि…
कोरोना नियन्त्रणमा २३ अर्ब बढी खर्च
३१ करोडले जिते कोरोना