अब पुरानो पाराले चल्दैन
‘४० प्रतिशत चलचित्रकर्मी पलायन हुने अवस्थामा छन्’
चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई स्पष्ट वक्ता हुन् ।
विश्वब्यापी कोराना महामारीले चलचित्र उद्योग धरासायी भएका वेला उनी यस क्षेत्रको आगामी कार्ययोजना गुनेर बसेका छन् । अझ उनी यो क्षेत्र धरहराजस्तै गरी ढल्यो भनेरै निष्कर्ष निकाल्छन् । ढलेको चलचित्र क्षेत्रको पुनर्निर्माण कसरी हुन्छ त ? प्रस्तुत छ, यही सेरोफेरोमा रहेर विकास बोर्डका उनै पूर्व अध्यक्ष राजकुमार राईसँगको छोटो कुराकानी –
चलचित्र विकास बोर्डको कार्यकाल सकिएपछि तपाईंको फिल्मी सक्रियता पनि कम भयो भन्नेहरू छन् । निष्क्रिय नै हुनुभएको हो त ?
– यो कुरा सही हो । म अरुले देख्दा निष्क्रिय नै देखिएँ । यसको कारण छ ।
चलचित्र निर्माता संघको अध्यक्ष भएपछि विकास बोर्डको अध्यक्ष भएँ र कार्यकाल पुरा गरेँ । ती दुईवटा कुर्सी नीतिगत निर्णय गर्ने ठाउँ थिए । ती आधिकारिक ठाउँमा बसेपछि म अलि बढी फर्मल हुन खोजेँ होला । अव मैले बनाउने सिनेमा अलि बढी गहन हुनुपर्छ भन्ने पनि लाग्यो होला ।
त्यही अनुसारको खोज–अनुसन्धानमा लाग्दा–लाग्दै महामारी आयो । तर मैले हारेको छैन । उपयुक्त समयमा ‘मुभ’ हुन्छु ।
लगानी गर्न डराउनु भएको हो कि ?
– मान्छेले त्यसरी पनि सोंच्लान् । तर म डराउने मान्छे होइन । तरल अवस्थामा च्यालेन्ज पक्कै पनि हुन्छ । सँगसँगै अवसर पनि हुन्छ । अव अवसरको सदुपयोग गर्न सक्नेहरू मुभ हुन्छन् ।
‘अव पुरानो पाराले चल्दैन, मेरो विचारमा अव तीन किसिमले चलचित्र निर्माण हुन्छ ।’
फेरि कहिलेदेखि सुरु हुन्छ, चलचित्र क्षेत्र ?
– निर्माता र प्रदर्शक मुभ भएपछि चलचित्र क्षेत्र चलायमान हुने हो । त्यो दिन धेरै टाढा छैन । हामी सबै उपयुक्त समयको खोजीमा छौं ।
चलचित्र क्षेत्रको धरातलीय यथार्थ चाहिँ के हो तपाईंको मूल्याङ्कनमा ?
– ठ्याक्कै भन्नुपर्दा धरहरा ढलेजस्तै हो । ढलिसकेको छ । अब भनेको पुनः निर्माणको चरणमा जानुपर्छ ।
चलचित्र क्षेत्रलाई धरहरा ढलेजस्तो भनेर चित्रित गर्न सकिन्छ र ?
– चलचित्र क्षेत्र सबै हिसावमा स्टप भएको छ । दुई–चार जनाले सक्रियता देखाएर हुँदैन । सबैजना सक्रिय हुने अवस्था बन्नुपर्छ ।
चलचित्र क्षेत्रमा यति धेरै संघ–संस्था छन्, ती चारतिर फर्केर बसेझैं कहिल्यै छलफलसम्म गर्दैनन् । कसरी बन्छ त, सवैजना एकै पटक सक्रिय हुने अवस्था ?
– हो, यहाँ छलफलको आवश्यकता छ । तर, भइरहेको छैन । एक्ला एक्लै सोंचेर बस्ने अवस्था छ । पक्कै पनि यसरी समाधान निस्कदैन ।
निर्माता, प्रदर्शक, प्राविधिक लगायत सम्पूर्ण चलचित्रकर्मी समस्यामा छन् । सवैका संगठन पनि छन् । तर, उहाँहरूले समस्याको साझा समाधान निकाल्ने प्रयास गरिरहनु भएको छैन ।
यही कारण मलाई लाग्छ, चलचित्रमा महासंघ आवश्यक छ । जसले साझा नीति बनाउँछ ।
चलचित्र बचाउन साझा धारणा आवश्यक छ । यसका लागि चलचित्र महासंघ चाहिन्छ ।
चलचित्र क्षेत्र धरहरा ढलेजस्तै गरी ढल्यो भन्नु भयो, अब कसरी हुन्छ त पुनःनिर्माण ?
– चलचित्रमा रहेको पुरानो सोंच भत्कियो भन्ने मेरो निष्कर्ष हो । अव तीन तरिकाका फिल्म बन्छन् । अर्थात् अब यो क्षेत्र यी तीन किसिमका चलचित्र निर्माण भएर फेरि उठ्छ ।
पहिलो, सामाजिक सञ्जाल, टेलिभिजन र पे सिस्टमलाई फलो गरेर बन्छन् फिल्म ।
दोस्रो, इन्डिजिनियस फिल्म बन्छन् । यी फिल्म अन्तर्राष्ट्रिय ट्रेन्डअनुसार बन्छन् ।
र, तेस्रो चाहिँ पूर्ण ब्यवसाय गर्ने हिसाबमा बन्छन् । हाइ बजेट, सेलिब्रेटीहरूको संलग्नता आदि हुन्छ ।
मैले चाहिँ दोस्रो र तेस्रो तरिकाले फिल्म बनाउँछु ।
ढलेका चलचित्रकर्मीलाई उठाउने तरिका पनि सोंच्नु भएको छ ?
– अवस्था जटिल छ । तर, मेकरहरू मरिसकेका छैनन् । उनीहरू फेरि उठ्ने छन् । उठ्नैपर्छ । सबै मिलेर उठाउनै पर्छ ।
तरल अवस्थामा च्यालेन्ज पक्कै पनि हुन्छ । सँगसँगै अवसर पनि हुन्छ । म उपयुक्त समयमा ‘मुभ’ हुन्छु ।
धेरै चलचित्रकर्मी पलायन भए भन्ने पनि चर्चा हुन्छ ?
– कति पलायन भए भन्ने यकिन डाटा छैन । तर, यसो हेर्दा १० मा ४ जनाले अर्को पेशा अंगाल्न थालेको देखिन्छ । अर्थात् ४० प्रतिशतसम्म पलायन हुने अवस्थामा पुगेका छन् ।
सरकारको सहयोग कस्तो छ, चलचित्र क्षेत्रमा ?
– अहिलेसम्म सरकारको काम भनेको आश्वासन दिने हो । पुरा नहुने आश्वासन । तर, चलचित्र क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन ।
मूल कुरो सरकारले चलचित्र क्षेत्रलाई ‘सवसिटिज’ दिनुपर्छ । प्रदर्शन र निर्माणको पक्षमा हेरिदिनु पर्छ ।
चलचित्र विकास बोर्डको भूमिका चाहिँ कस्तो लागिरहेको छ ?
– कोशिस गरिरहेको जस्तो लाग्छ । नीतिगत विषय बुझेकै अध्यक्ष हुनुहुन्छ । तर, राज्य नै दयनीय अवस्थामा पुगेका वेला विकास बोर्डको भूमिकावाट धेरै अपेक्षा गर्न सकिदैन ।
अर्को कुरा चलचित्र विकास बोर्डको आम्दानी भनेको विदेशी चलचित्र चलाएवापत प्राप्त हुने कर हो । अहिले त्यो रोकिएको छ । भनेपछि झनै दयनीय भएको छ, विकास बोर्ड ।
यस्तो अवस्थामा तपाईं बोर्डको अध्यक्ष हुनुभएको भए के गर्नुहुन्थ्यो ?
– म पनि लगभग यस्तै अवस्थामा चलचित्र विकास बोर्डको अध्यक्ष भएको हुँ । २०७२ बैशाख १२–२८ मा भूकम्प गयो । म त्यसको एक महिना पछि अर्थात् जेठ २२ मा अध्यक्ष भएको थिएँ ।
त्यो यस्तो बेला थियो कि फिल्म हेर्दा किचिएर मरिन्छ भन्ने मानसिकता थियो । मैले ३ महिनाको कार्ययोजना बनाएर हल सञ्चालन गराएँ । धेरै ‘पोलिसी चेन्ज’ गरेर काम गरेको थिएँ । अर्थात् समय अनुसारको साेंच बनाउन सक्दा सफलता हात लाग्छ । यसका लागि सरोकारवाला पक्षले गहिरो छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ ।
तस्विरहरूः महेश प्रधान