English

काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन



स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन चैत २७ गतेदेखि काठमाडौंमा हुँदैछ । कोभिडका कारण गएका २ वटा सम्मेलन भर्चुअल भएकोमा यस वर्ष भने भौतिक उपस्थितिमै हुन लागेको हो । 

सम्मेलनको तयारीबारे जानकारी दिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का सदस्य-सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ चैत २९ गतेसम्म सञ्चालन हुनेछ । 

डा. ज्ञवालीका अनुसार सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्या विद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरूबीच छलफल हुनेछ । उक्त छलफबाट तथ्यमा आधारित नीति निर्माण गर्न तथा जनस्वास्थ्यका सवालहरूको अन्तरविषयात्मक अनुसन्धानका निश्कर्ष निकालेर सोही अनुरूप अध्ययन अनुसन्धान गरिने उनले बताए । 

सम्मेलनलाई पारदर्शी बनाउन स्टेरिङ कमिटी, एडभाइजरी कमिटी, साइन्टिफिक कमिटी, अर्गानाइजिङ कमिटी तथा अवार्ड सेलेक्सन सब कमिटी गठन गरिएको छ ।

यी कमिटीहरुको पटक–पटकको परामर्श तथा छलफलद्वारा सम्मेलनको थिम तथा प्रस्तुतीकरणका विषयहरूको छनोट गरिएको कार्यकारी प्रमुख ज्ञवालीले जानकारी दिए ।  तीनदिने सम्मेलनमा स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा ४० वटा मौखिक प्रस्तुतीकरण हुनेछ । 

अनुसन्धानकर्ताहरूले खोज तथा अनुसन्धानका बारेमा १ सय ५३ वटा अनुसन्धानमूलक कार्यमध्ये ४० वटा प्रस्तुतीकरणका लागि छनोट भएका छन्। 

सम्मेलनमा ३१ जना राष्ट्रिय र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरूले प्रस्तुतीकरण गर्नेछन् । सम्मेलनको पहिलो दिन पूर्व–सम्मेलन गरिनेछ । जसमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदुढीकरण र कोभिड १९, यस अन्तर्गत दृढ  प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था, अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइहरु, सहकार्य र सञ्जालद्वारा अनुसन्धानको प्रवर्द्धनका साथै अन्य विषयमा आमन्त्रित विज्ञहरूको गहन छलफल र प्रस्तुतीकरण रहनेछ ।
 
सम्मेलनको दोश्रो दिन चैत २८ गते  शिखर सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्ने कार्यक्रम रहेको छ भने दोश्रो सत्रमा दुईवटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, वायोमेडिकल, ईपिडेमियोलोजिकल र क्लिनिकल अनुसन्धान लगायतका विषयहरुमा विज्ञहरुद्वारा प्रस्तुतीकरण साथै बृहत् छलफल गरिनेछ ।  

यसैगरी, सम्मेलनको तेश्रो दिनमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानका बारेमा छलफल गरिनेछ । साेही दिन अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ, नवजात शिशु, र बाल स्वास्थ्य र अन्तरविषय अनुसन्धानका बारेमा स्वदेशी तथा विदेशी विज्ञहरूबाट बृहत् छलफल गरिनेछ । 

मौखिक तथा पोष्टर प्रस्तुतीकरण मध्येबाट एक-एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिने छ । त्यसैगरी,  बायोमेडिकल जनरलमा विगत ५ वर्षमा सबै भन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, सम्मेलनमा चिकित्सकहरूलाई उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, परिषद्का कर्मचारीलाई मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान वा यसको कार्यान्वयन वा महत्वपूर्ण आविष्कारमा महत्वपूर्ण योगदान पुर्याउनुभएका ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिनेछ ।

सम्मेलनमा परिषदमा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्डले सम्मानित गरिने कार्यक्रमसमेत रहेकाे छ ।

यो पनि
नेपाल मेडिकल कलेजमा अब कार्डियो, ग्यास्ट्रो र इन्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट
अस्पताल बनेपछि स्थानीय दंग



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित