आमाः थोपरिएको नाम !
चलचित्र समीक्षा
यो समीक्षा लेख्न बस्दासम्म चलचित्र ‘आमा’ युट्युवको एक नं ‘ट्रेन्डिङ’मा छ, केही दिनदेखि । र, ५४ लाख पटक यो चलचित्र हेरिसकिएको छ । ‘लकडाउन’ (गत फागुनमा) अघि हल प्रदर्शनमा आएको ‘आमा’ले आम्दानीभन्दा समीक्षात्मक चर्चा पाउन सफल भएको थियो ।
आमा, सृष्टिकर्ता पनि हुन् । सायद यही कारण प्राणि जगतकालागि आमाः सवैभन्दा आदरणीय र प्रिय नाता हो । आमालाई देवता समान मानिन्छ । त्यसकारण आमाप्रति आम भावना अति उच्च हुनु स्वभाविक छ । आमा शब्दको जथाभावी प्रयोग समेत मानिसले रुचाउँदैनन् । तर, यो चलचित्र हेरिसकेपछि मनमा आउने पहिलो प्रश्न हो, कसरी भयो यस चलचित्रको नाम ‘आमा’ ? नाम कै दुरुपयोग भए जस्तो लाग्छ ।
कथा
अस्पतालको लुटानका कारण लोग्ने वा बाबुको मृत्युपछि आर्थिक अभावले शिकार बन्दाको कथा हो, आमा ।
‘सम्पूर्ण आमाहरुमा समर्पित’ भनेर पोष्टरमा समेत लेखिएको छ । तर चलचित्रमा ब्यक्त चरित्रले यस भनाईमाथि न्याय गर्दैनन् । आमा त्यस्तो चलचित्र हो, जहाँका कुनैपनि पात्र आमा भएर बाँचेका छैनन् । अर्थात चलचित्रका चारजना महिला पात्र मध्ये कोही पनि आमा भएका छैनन् वा हुन पाएका छैनन् ।
पहिलो महिला पात्र
अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा छिन् । उनी बाऊकी छोरी हुनुको दायित्व पुरागर्न सक्रिय छिन् । कोमामा रहेका बाऊको ज्यान जोगाउन उनी श्रीमानसँगको सम्बन्धमा पूर्ण विराम लगाउन समेत पछि पर्दिनन् ।
प्रमुख पात्र पन्त बाबुको ज्यान नजोगिउञ्जेलसम्म आमा नबन्ने अड्डीमा हुन्छिन् । उनले बोलेको एउटा संवाद छ ‘पहिला सन्तान हुन्छु अनि आमा ।
दोस्रो महिला पात्र
मिथिला शर्मालाई सुरक्षाले आमा भनेर संबोधन गर्छिन् । तर, मिथिला पनि श्रीमतीको भूमिकामा छिन् । लोग्नेको उपचारमा लाग्दा लाग्दै जीवन सकाउँछिन् । उनको भूमिका आमा बन्नुमा छैन । असल श्रीमती हुनुमा नै उनलाई गर्व छ ।
मिथिला घरीघरी विदेशमा रहेको छोरासँगको फोन वार्तामा हुन्छिन् । तर, त्यसबेला उनलाई लोग्नेको उपचार खर्चकालागि मात्र छोराको आवश्यकता खड्केको हुन्छ । श्रीमानको उपचारसँगै सुरु भएको उनको भूमिका श्रीमानको मृत्युपछि सकिन्छ, शोकमा डुबेर ।
तेस्रो र चौथो महिला पात्र
माथि बर्णित बाहेक दुई महिला सहायक पात्र छन् फिल्ममा । ती मध्ये एउटी सरिता गिरी जो सुत्केरी छिन्, अस्पतालमा । तर, आफ्नै बच्चालाई छुन पाएकी छैनन् । उनी आमाको भूमीका निर्वाह गर्न प्रतिक्षारत छिन् । गानिएको दुध सन्तानलाई खुवाउन नपाएर निचोरेर फाल्न बाध्यछिन् उनी । सन्तान हात नलागेपनि अरुहेरी सरिता चाहिँ आमा जस्ती लाग्छिन् । उनको भूमिका छोटो छ ।
चलचित्रमा चौथो महिला पात्र छिन् हजुरआमा लक्ष्मी भुषाल । उनी नातीसँग बसेकी छिन् । आफूलाई ‘हजुरआमा’ भनेर सम्मान गर्ने बुहारीलाई देखि सहदिनन् । नातीलाई उकासेर बुहारीमाथि जाइलाग्ने वातावरण बनाउँछिन् बरु ।
प्रमुख कमजोरी
चलचित्रको कमजोर पक्ष भनेको चरित्र चित्रण हो । बाउ विरामी भएको कुरा सुन्दा, ‘अप्रेसन’ पछि ‘भेन्टिलेटर’मा राख्दा र बाउको मृत्यु भइसक्दाका तीन चरणसम्म प्रमुख पात्रको मनोदशा उस्तै छ । उनी चलचित्रको सुरुदेखि अन्त्यसम्म रिसाउँछिन् मात्र । त्यही कारण पात्रसँग दर्शकको लगाव नै हुन पाउँदैन ।
पात्रलाई धेरै रुवाइएको छ । तर, उनीहरुको रुवाईलाई दर्शकले अनुभुत गर्दैनन् । किनभने मर्न लागेका बुवाप्रति मुलपात्रको सम्बन्ध देखाईंदैन । अस्पतालमा बेहाल भएको लोग्नेप्रतिको सम्बन्ध कोट्याईंदैन । आमा–छोरीको सम्बन्ध पनि सम्बोधनमा नै सीमित छ ।
मुलकथाले कहिल्यै पनि आमासँग सम्बन्ध गाँस्दैन । आमा मार्फत कथा बुन्दैन÷भन्दैन । यसरी हेर्दा चलचित्र ‘आमा’मा आमा पात्र नै कोही छैन । आमा पात्र नै नभएको चलचित्रको नाम ‘आमा’ । कसरी ? अनुत्तरित प्रश्न हो, यो ।
आँशुको ब्यापार गर्ने उद्धेश्य देखिन्छ, आमाका निर्देशकको । तर, पात्रप्रति सहानुभूती जगाउन नसक्दा भने उनले दर्शकको आँशु झार्न सकेका छैनन् ।
चलचित्रको नाम एकातिर, कथा अर्कोतिर र पात्रको सक्रियता अर्कैतिर हुँदा चलचित्र पटकथा बक्ररेखामा कुदेको देखिन्छ ।
निश्कर्ष
खासमा ‘आमा’ अस्पतालको कथा हो । हिन्दी चलचित्र ‘गब्बर इज ब्याक’ हेरेकाहरुका लागि यो ‘प्लट’ फितलो लाग्नेछ । चलचित्र पशुपति प्रसादका कथाकार तथा निर्देशक दीपेन्द्र के. खनाल कृत भनेर पोष्टरमा लेखिएको छ । तर, ‘पशुपति प्रसाद’सँग यो चलचित्र तुलनायोग्य छैन । छोटकरीमा भन्दा आमाविना नै चलचित्र बनेको छ, ‘आमा’ ।