नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिँदै बिबिसी मास्टर सेफ सन्तोष
चर्चित सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड-१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन् ।
‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फइनालिस्ट सेफ साहसहितको टोली आज (चैत २४) नेपाल आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै उत्साहित भएको बताए ।
उनले भने, ‘कोभिड कहरपछि अब नेपाल पर्यटनका लागि खुला छ ‘नेपाल इज ओपन नाऊ’, नेपाल पहिला जस्तै पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वसमुदायलाई दिन चाहन्छौँ र नेपाल प्रवर्द्धनको सन्देश लिएर फर्कन्छौँ । विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका निम्ति आह्वान पनि गर्छौँ ।’
‘नेपाल आएको सेफ टोली पनि उत्साहित रहेको छ । नेपाल सुन्दर छ, नेपालको प्रवर्द्वन गर्नुपर्यो यहाँको संस्कृति, सभ्यता र नेपालीपन हेरेर नेपालको सन्देश विश्व बजारमा पुर्याउन उनीहरूले सहयोग गर्नेछन्’, सेफ साहले भने । उनले सगरमाथाको कालापत्थर पुगेर नेपालको सन्देश विश्वलाई दिन चाहेको पनि बताए । नेपाली खानाको संस्कृतिबारे उनीहरूलाई जानकारी गराउँदै उचाइको अनुभव लिन पनि लालाहित रहेको बताए ।
सोफ टोली नेपाल आउन पाएकामा उत्साहित रहेको भन्दै सेफ साहले वास्तविक नेपाल र यहाँको संस्कृति र पहिचानबारे अवगत गराएर नेपालको प्रवर्द्धन गर्न पहल गरिने उल्लेख गरे ।
बिबिसी सेफ सटोलीले नेपालको अनुपम प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा विश्व पर्यटनको आकर्षण रहेकाले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गर्दै यो सन्देश लिएर फर्किने जनाएको छ । सेफबाट भन डर लीले नेपाल र नेपालीको आतित्थ्यताप्रति आफूहरू उत्साहित रहेको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने धारणा राखे ।
विमानस्थलमा भव्य स्वागत
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा आज नेपाल आइपुगेको ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्वनका लागि ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फइनालिस्टलाई नेपाल ल्याइएको हो ।
पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएसन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा भव्य स्वागत गरेका छन् । विमानस्थलमा उल्लेख्य सङ्ख्याको उपस्थितिमा नेपालको संस्कृति झल्कने पहिरनका साथ पञ्चेबाजासहित सेफको टोलीलाई स्वागत गरिएको थियो ।
नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोषका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आएको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।
निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौं फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौंमा आयोजना हुने पाटा नेपाल च्याप्टरको वार्षिक साधारणसभामा सहभागी हुने कार्यक्रम छ ।
त्यसैगरी १२ तारिखकमा काठमाडौंमा ‘फाइन डाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर पुग्ने कार्यक्रम छ । लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जाने सेफ टोली बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।
बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई उनीहरूमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवर्द्धन गर्न कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने पाटा नेपालले जनाएको छ ।
यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल