‘स्वास्थ्य पर्यटन’ को हब बन्दै भरतपुर
पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको संख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरूवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो ।
सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरूवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ ।
सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ ।
नियमितरूपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको संख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् । वार्षिकरूपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, ‘अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।’ क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् ।
जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुकेका अनुसार क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरूवाले ती होटल चलेका छन् । त्यहाँ आफैं पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ ।
भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको जनाउँदै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको उनको भनाइ छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए ।
भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा.विश्व सुवेदी राजधानीमा हुने उपचार यही हुने भएपछि छिमेकी जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउँदा होटल रेष्टुराँको व्यवसाय राम्रो भएको बताउँछन् ।
पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको संख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरूवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको छ ।
होटल रेष्टुराँको मुख्य आम्दानी स्वास्थ्य पर्यटक बन्दै गएको सुवेदीको भनाइ छ । देशैभरबाट र भारतबाट समेत बिरामी उपचार गर्न आउने गरेको जनाउँदै उनले आउँदा दिनमा स्वास्थ्य पर्यटकको संख्या अरू थपिने बताए । उनले चितवनमा सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भए पनि आर्थिक हिसाबले स्वास्थ्य पर्यटक चितवनका लागि उपयुक्त भएको उनले बताए । उनले भने, ‘स्वास्थ्य पर्यटकको कुनै सिजन हुँदैन, सधैंभरि नै एकनासको भइरहन्छ ।’
भरतपुर क्षेत्रमा होटलसँग साना रेष्टुराँ धेरै चलेका छन् । दुई मेडिकल कलेजसँगै प्राविधिक कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि यहाँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशनका उपाध्यक्ष अनुषा पाठक यहाँका अस्पतालका बिरामी, कुरूवा, विद्यार्थी, चिकित्सक मुख्य सेवाग्राही भएको बताउँछिन् । भरतपुर क्षेत्रमा मात्रै २०० भन्दा बढी रेष्टुराँ खुलेको जनाउँदै उनले तिनीहरूको मुख्य आधार अस्पताल भएको बताइन् ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी उपचारका हिसाबले राजधानी पछिको दोस्रो गन्तव्य चितवन भएको बताउँछन् । उपचारका लागि आउने बिरामी र तिनका कुरूवा घुम्न आउने पर्यटकभन्दा धेरै रहेको भन्दै उनले उपचारपछि र कुर्नुपर्ने बेलामा घुम्नका लागि नजिकका गन्तव्यसँग जोड्नुपर्ने सुझाव दिए । उनले मेडिकल टुरिज्म र मेडिकल सिटीलाई जोडेर योजना बनाउनुपर्ने उनको धारणा छ ।
सरकारी दुई अस्पतालसँगै मेडिकल कलेज रिफरल बनेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पताल आउने ७० प्रतिशत हाराहारी बिरामी रिफरल हुने गरेको बताए । तीमध्ये आधाभन्दा बढी बाहिरी जिल्लाका हुने र उनीहरूको खाने बस्ने यहीँका होटल रेष्टुराँमा हुँदा अस्पतालमा गर्ने खर्चभन्दा बढी होटल रेष्टुराँमा हुने गरेको उनले बताए ।
यो पनि…
पहाडका अस्पतालमा किन जान मान्दैनन् चिकित्सक ?
आम मानिसको पहुँचमा छैन स्वास्थ्य सेवा
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?