अन्तर्राष्ट्रिय घोडचढीका लागि खेलाडी तयार गर्छौं
घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघका अध्यक्ष हुन् रवि राजकर्णिकार । भर्खरै उनले नेतृत्व गरेको संघले अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरेको छ । घोडेजात्राको अवसरमा घोडचढी संघका उनै अध्यक्ष रवि राजकर्णिकारसँग गरिएको छोटो कुराकानीः
घोडेजात्रालाई कसरी सम्झनु र बुझ्नु हुन्छ ?
– प्राचीनकालदेखिको ‘लिगेसी कन्टिन्यू’ भएको हो । हाम्रो संस्कृतिको झल्को पनि दिन्छ यसले । सेनाका राइडरहरूले टुँडिखेलमा रोमाञ्चक खेल देखाउँछन् ?
सेनाले घोडचढीको खेल देखाउने तर सर्वसाधारणले हेर्न नपाउने । यसको अर्थ छ र ?
– म मुलुक बाहिर थिएँ । यही हेर्न भनेर हिजो मात्र आइपुगेको हुँ । तर मैले पनि हेर्न पाईंन ।
आम सर्वसाधारणलाई टुँडिखेलको घोडेजात्रा देखाउन सक्दा राम्रो हुन्छ । अझ स्टुडेन्टलाई देखाउन पाउँदा उनीहरूमा रुची जगाउन सकिन्थ्यो कि भन्ने हो ।
घोडचढी संघको अध्यक्ष समेत टुँडिखेलको घोडेजात्रा हेर्नबाट बञ्चित हुनुपर्यो किन ?
– सुरक्षाका कारणले होला वा कोरोनाको डरले हो, एक सय ५० जना भिआइपी र भिभिआइपी मात्र सहभागी हुने भन्ने सुनेँ । मलाई आधिकारिक रूपमा केही थाहा छैन । यो उहाँहरूको आन्तरिक मामिला हो ।
भनेपछि सेनाको घोडेजात्रा र घोडचढी संघको नाता प्रमाणित भएको छैन ?
– त्यस्तो देखिन्छ । तर अघि पछि नेपाली सेनाको ठूलो सहयोग छ, हाम्रो संघलाई । हामीले काठमाडौं र पोखरामा गरी बर्षमा दुईवटा च्याम्पियनसीप गर्दै आएका छौं । यी कार्यक्रम भव्य रूपमा सम्पन्न हुनुमा नेपाली सेनाकै देन रहेको छ ।
नेपाली सेनामा सीमित भएर घोडचढी संघको अस्तित्व निर्माण होला र ?
– यो महँगो खेल हो । घोडाको मूल्य र यसलाई पाल्न लाग्ने खर्च धेरै ठूलो छ । त्यसकारण सितिमिति कसैले आँट गर्दैन । तर पनि हामी अब चाहिँ केही ब्यवस्थापनमा लागेका छौं । पोनी (स्थानीय घोडा) रेस पनि गर्दै आएका छौं नि !
घोडचढीको विकासमा कसरी लाग्दै हुनुहुन्छ ?
– अब नेपालीहरूले पनि घोडा पाल्नुपर्छ भन्ने हो । घोडा पाल्न रुची भएका सातजनासँग मेरो कुरा भइरहेको छ । उहाँहरु मध्ये ५ जना नेपाली हुनुहुन्छ । एउटा मोडेल बनाएर उहाँहरूलाई घोडा पाल्ने वातावरण बनाउछौं ।
पोनी रेसलाई कन्टिन्यू गर्छौं । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्छौं ।
विदेशमा हुने प्रतियोगितामा घोड़ा लैजान सकिन्छ त ?
– त्यो त सकिदैन । तर यहाँ खेलाडी उत्पादन गर्न सकियो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन सकिन्छ । खेलाडीलाई विदेशमा केही अघि पठाएर उतैको घोडामा अभ्यस्त गराउन सकिन्छ । हामीले नै घोडा लिएर जाने क्षमता छैन । तर, उपायहरू छन् ।
संसारको ‘ट्रेन्ड’ चाहिँ कस्तो छ ?
– मैले भर्खरै इण्डियाको केही तबेला घुमेर आएको छु । तपाईं ‘विलिभ’ गर्नुहुन्न होला, त्यहाँ मैले १२ करोडसम्मको एउटै घोडा देखेँ ।
हुनेखानेहरूको कुरा अर्कै हुन्छ । उनीहरू त घोडा लिएर पनि जान्छन् प्रतियोगितामा । हामीले आफ्नै घोडा लिएर जान नसकेपनि उपाय चाहिँ छन् ।
नेपालमा घोडा र राइडरहरूको अवस्था के छ ?
– करिव २ सय ५० घोडा छन् भन्ने हाम्रो तथ्याङ्कमा छ । राइडरहरू पनि सेनामा निर्भर हो । केही बर्षमा नेपाली सेना बाहिरबाट पनि राइडरहरू तयार हुने अवस्था छ ।
कहाँबाट उत्पादन हुँदैछन् राइडर ?
– दुईवटा स्कूल पनि छन् घोडचढीका । ती स्कूलहरूले उत्पादन गर्दैछन् । फाजिल मोहमद र निरोजजीहरू यसैमा लाग्नु भएको छ ।
घोडापालन औधि महँगो छ नि होइन ?
– दुई–तीन करोडका गाडी चढ्नेहरू धेरै छन् नेपालमा । यस हिसावमा घोडा महँगो छैन । १२ करोडसम्म पर्छ एउटै घोडाको । तर हामीलाई २–३ लाखको घोडाले काम चल्छ । पाल्न चाहिँ अलि महँगो छ । मलाई लाग्छ, एउटा घोडा पाल्न मासिक १ लाखजति खर्च हुन्छ । तर मुल कुरो पैसा होइन, प्यासन हो ।
तपाईंको कार्यकालमा केही हुनेवाला छ त ?
– निश्चय नै म मेरो कार्यकालमा केही न केही रिजल्ट दिन्छु । जस्तो भर्खरै अन्तर्राष्ट्रिय मान्यता पाएका छौं । नेपाल आलम्पिक कमिटीबाट पनि मान्यता पायौं । अब भनेको खेलाडी उत्पादन गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने हो । हामी सक्छौं भन्नेमा म पूर्ण आशावादी छु ।