English

मनाङमा चुनाव : पाँच दल थपिए, छैन चुनावी चहलपहल



स्थानीय तह निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि सहरसम्म चुनावी चहलपहल बढे पनि मनाङ्मा भने चुनावी सरगर्मी बढेको देखिएको छैन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनोट गरिरहेका छन् । तर, हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरू नबढ्दा उम्मेदवार छान्ने काम पनि हुन सकेको छैन ।

जिल्लावासी जाडो छल्न बेसी झरेकाले पनि यहाँ चुनावी चहलपहल शुरु हुन नसकेको हो । चैतको दोस्रो सातापछि यहाँका स्थानीय विस्तारै गाउँ फर्कने गर्दछन् । गर्मी बढेसँगै जिल्लावासी मनाङ फर्कन थालेपछि चुनावी प्रचारप्रसार बढ्ने देखिएको छ । जिल्लाका नेताहरू अहिले गाउँ पुगेका छैनन् ।

धेरैजसो मतदाता पनि जिल्ला बाहिर रहेकाले पनि नेताहरू जिल्लामा नपुगेको आँकलन गर्न सकिन्छ । जिल्लाका राजनीतिक दलका नेताहरू गाउँ नपुगे पनि निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी आवश्यक कार्यहरू अगाडि बढाएको बताएको छ ।

अब नेताहरू आउनुहुन्छ होला, विस्तारै तात्ने बेला हुन लागेको छ ।

माथिल्लो मनाङमा चुनावी माहोल नबनेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउँछन् । ‘अब नेताहरू आउनुहुन्छ होला, विस्तारै तात्ने बेला हुन लागेको छ’, उनले भने । उनका अनुसार चिसो छल्न काठमाडौं–पोखरा, अन्यत्र गएका स्थानीयवासी विस्तारै फर्किन थालेका छन् ।

नार्पाभूमिका गाउँ पनि अहिले सुनसान छन् । स्थानीयसँगै केही जनप्रतिनिधि र कर्मचारी पनि फर्किन बाँकी नै छ । गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाका अनुसार बाहिर रहेका गाउँपालिकाका बासिन्दा फर्किएका छैनन् ।

निर्वाचन कार्यालयको तयारी

चुनावी कार्यक्रमहरू सञ्चालन नभएको भए पनि निर्वाचन कार्यालयले तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनका लागि मनाङमा २०० कर्मचारी खटाउने निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरूसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत काम भइरहेको छ । निर्वाचन आयोगले मनाङ जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । खनाललाई सदरमुकाम चामे गाउँपालिका जिम्मेवारी दिएको छ ।

निर्वाचन आयोगले मनाङको नासो गाउँपालिकामा जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडु, नार्पाभूमि गाउँपालिकामा सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र मनाङ ङिस्याङ गाउँपालिकामा सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ ।

दलहरूले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना कामअघि बढाएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

उनका अनुसार निर्वाचन अधिकृतका लागि स्थानीय तहमा कार्यालय स्थापना गर्ने, फर्निचर, सिसीटीभी क्यामरा, इन्टरनेट जस्ता आवश्यक सुविधा मिलाउने कार्य भइरहेको छ । मतदान र मतगणनाको जानकारी आयोगमा श्रव्य र दृश्य दुवै माध्यमबाट प्रेषण गर्नुपर्ने भएकाले उक्त जिम्मा स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यहरू गरिएको छ ।

पाँच दल थपिए

आगामी स्थानीय तहको निर्वाचनका लागि मनाङमा छ वटा मान्यता प्राप्त दलबाहेक पाँच वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए । जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन् । तीमध्येका अधिकांश दलले चुनावी अभियानको थालनी गर्दैछन् ।

२८ वटा मात्रै मतदान केन्द्र

निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मनाङमा कुल ६ हजार ४ सय ९६ मतदाता छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १ सय ४८ पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ । मनाङ नेपालको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो ।

म्यादी प्रहरी मागभन्दा कम

विकट र थोरै जनसङ्ख्या रहेकाले मनाङमा माग भएभन्दा कम मात्रले म्यादी प्रहरीमा आवेदन गरे । जिल्लामा निर्वाचनका निम्ति २ सय ५८ म्यादी प्रहरीको माग गरिएकामा तोकिएको समयसम्म परेको आवेदनले माग पूर्ति नभएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । सो कार्यालयका अनुसार १ सय ४८ आवेदन मात्र परेको थियो ।

विगतमा जस्तै आगामी निर्वाचनका लागि पनि छिमेकी जिल्लाबाट सोध भर्ना गरी सुरक्षा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा माग पूर्ति नभएकाले छिमेकी जिल्लाबाट म्यादी प्रहरी सोध भर्ना गरिनेछ ।

निर्वाचन अधिकृत तोकिसकेको अवस्था छ । हामीले मतदानस्थलको अवलोकन गरेर पानी, बिजुली, कम्पाउन्डको अवस्था हेरेका छौँ ।

निर्वाचन नजिकिँदा योजना सम्झौता तीव्र

मङ्सिरदेखि फागुनसम्म चिसोका कारण बेँसी झरेका मनाङवासी विस्तारै गाउँ फर्किन थालेका छन् । ‘चैत लागेपछि बल्ल विकास निर्माणको काम शुरु हुन्छ । गाउँपालिकातिर आउने जाने गरिरहेको छु’, माथिल्लो मनाङस्थित पिसाङ निवासी याङदुङ गुरुङ भन्छन्, ‘चुनावको चर्चा भएको टीभीतिर हेरेको छु, सुनेको छु । यहाँ कुनै कार्यक्रम भएको छैन र सुनेको पनि छैन ।’

गुरुङ अहिले विकास निर्माणको कार्यमा व्यस्त हुनुहुन्छ । गाउँमा हुने विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा दिन बित्ने गरेकोे उहाँ बताउँछन् । बेंसीसहर–चामे सडकको तिमाङ छहरामा बन्दै गरेको पुल निर्माण हुन बाँकी छ । पुल अब १९-२० तिर बन्ने बताइएको र त्यसपछि गाउँले आउने आँकलन गरिएको छ ।

प्रशासनले चुनाव लक्षित गर्नुपर्ने सम्पूर्ण काम तीव्ररूपमा अघि बढाएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘निर्वाचन अधिकृत तोकिसकेको अवस्था छ । हामीले मतदानस्थलको अवलोकन गरेर पानी, बिजुली, कम्पाउन्डको अवस्था हेरेका छौँ’, उनले भने ।

मनाङवासी फर्केपछि चुनावी माहोल बन्ने बुझिएको छ । अहिले देखिएको छैन भन्दा पनि हुन्छ ।

उनका अनुसार मनाङवासी अझै गाउँ फर्केका छैनन् । तिमाङ छहराको पुल निर्माण भएपछि गाडी लिएर सिँधै गाउँघर फर्किने खबर पाएको उनले बताए । ‘मनाङवासी फर्केपछि चुनावी माहोल बन्ने बुझिएको छ । अहिले देखिएको छैन भन्दा पनि हुन्छ’, उनले भने । मनाङमा ४ गाउँपालिका छन् ।

सबैभन्दा विकट मानिने नार्पाभूमिका गाउँ पुग्न चामेनजिकै कोतोबाट दुई दिन लाग्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नासो र नार्पाभूमिको अध्यक्ष कांग्रेसले तथा चामे र मनाङ ङिस्याङमा एमालेले जितेको थियो ।\

यो पनि…
भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी परम्परा
देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित