विश्वका १० खुशी राष्ट्रहरू
जिन्दगीमा जो कोही पनि खुशी हुन चाहन्छन् । विकसित मूलुकहरूका सेवा, सुविधा, आय र लाइफस्टाइलका आधारमा जनजीवन र राष्ट्रको खुशीको स्तर मापन गरिन्छ । विश्वका खुशी राष्ट्रहरूमा प्रायजसो युरोपियन राष्ट्रहरू नै पर्ने गरेका छन् । वर्ल्ड ह्यापीनेस रिपोर्टका अनुसार शीर्ष १० मा पर्न सफल राष्ट्रहरू यस प्रकार छन् ।
१०. अस्ट्रिया
उच्च आमदानी, उत्कृष्ट सामाजिक सेवा, प्रिमियम लाइफस्टाइल र स्वतन्त्रताका कारण अष्ट्रिया विश्वको खुसी सहरमध्ये एक मानिन्छ । अस्ट्रियाको राजधानी भियना पनि विश्वकै सबैभन्दा बसोबासयोग्य सहर रहँदै आएको कारण पनि यो राष्ट्र यो सूचीमा पर्न सफल भएको छ ।
९. न्युजिल्याण्ड
गुणस्तरीय जीवन र कार्य जीवन स्तरमा उचित सन्तुलन कायम गर्दै आएको न्युजिल्याण्ड पनि यस सूचीमा परेको एक मात्र गैरयुरोपियन राष्ट्र हो । प्रधानमन्त्री जेसिन्डा आरड्रेनलाई गत वर्ष महामारी सम्हालेर र अनगिन्ती देशवासीको जीवन रक्षा गर्दै अन्य राष्ट्रहरूभन्दा छिटो समुदाय खुल्ला गर्ने कदमका लागि श्रेय दिइएको थियो ।
८. नर्वे
२०१७ मा उच्च स्थानमा पर्न सफल नर्वे केही वर्ष यता ओरालो लाग्ने क्रममा छ । यद्यपी जीवनस्तर मूल्याङ्कनको आधारमा नर्वेबासीको थोरै मात्र गुनासो सुनिन्छ । प्राकृतिक सम्पदाको जिम्मेवार व्यवस्थापनमा आधारित समृद्ध अर्थ व्यवस्था र विश्वकै उच्च सामाजिक सुरक्षा प्रणाली, पूज्य वातावरण तथा श्रेष्ठ प्राकृतिक सुन्दरता रहेको यस राष्ट्रबासीले सुरक्षित र खुशी महशुस गर्नु आश्चर्यको कुरा होइन ।
७. जर्मनी
जर्मनीले पनि एक वर्षमै १० फड्को मारेको १० खुशी राष्ट्रको सूचीमा पर्न सफल भएको छ । यसो हुनुमा बढ्दो जीवनस्तर मूल्याङ्कन, बृहत वित्तिय सुरक्षा र पारिवारिक स्थिरता नै मुख्य कारणहरू रहेका छन् । पछिल्लो समय हेर्ने हो भने देशले सहजतापूर्वक महामारी सम्हालेको कुरालाई पनि राष्ट्र खुशी हुनुको एक उदाहरणको रूपमा मान्न सकिन्छ ।
६. स्वीडेन
पछिल्ला र्यांक भन्दा केही तल झरे पनि स्वीडेन अझै पनि विश्वकै उत्कृष्ट बसोबासयोग्य, कार्ययोग्य र परिवार हुर्काउन योग्य राष्ट्रको रूपमा कायमै छ । उच्च सम्मानित शिक्षा प्रणाली, उदार अभिभावक विदा र निःशुल्क बालबच्चा हेरचाह जस्ता विश्व अग्रणी अभ्यासहरूकै कारण पनि स्वीडेन विश्वकै खुशी राष्ट्रहरू मध्येको एक हो ।
५ नेदरल्याण्ड्स
पछिल्ला समय छैटौँ स्थानमा रहँदै आएको यस राष्ट्र यस वर्ष एक खुड्किला माथि उक्लेको छ । यसबाट यो प्रष्ट हुन्छ कि यहाँका बासिन्दाको जीवन पहिलेको भन्दा पनि खुशीमय बनेको छ । पछिल्लो दशकमा युनिसेफ, डच तथ्याङ्क कार्यालय र विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रतिवेदनहरूका अनुसार यहाँका किशोरहरूको जीवनस्तरमा लगातार उच्च सन्तुष्टि देखिएको थियो ।
४. स्विटजरल्याण्ड
स्विटजरल्याण्डको सरकारी प्रणाली युरोपको लागि विसंगति मानिन्छ । कारण, स्विसहरू राजनीतिक रूपमा चतुर मानिन्छन्, जो लोकतान्त्रिक सहभागिताहरूमा अत्याधिक संलग्नता जनाउँछन् । लोकतान्त्रिक सहभागिताको आधारमा राष्ट्र सञ्चालन गर्नुले नै जनताको खुशीको स्तरसँग सहसम्बद्ध भएको हो । साथै स्विटजरल्याण्डको काल्पनिक जस्तो देखिने परिदृश्यले पनि उत्तिकै भूमिका खेलेको छ ।
३. डेनमार्क
पछिल्लो केही वर्ष यता उत्कृष्ट सूचीमा परेको यस राष्ट्रको लाइफस्टाइलको विश्वभर नै प्रशंसा गरिन्छ । साइकलमैत्री राष्ट्र डेनमार्कले वातावरणका लागि आदर त व्यक्त गरेको छ नै, साथै उचित पारिश्रमिक, सन्तुलित कार्यजीवन र उत्कृष्ट सामाजिक सुरक्षा प्रणाली प्रदान गर्दै जनताको खुशीको स्तरलाई पनि कायम नै राखेको छ ।
२. आइसल्याण्ड
समुदायको भाव, समानता र समावेशीकरण, पारदर्शिता र न्याय, कम अपराध स्तर, सुन्दर प्रकृति, स्वास्थ्य, गुणस्तरीय शिक्षा र उत्तरदायी सरकार भएकै कारण आइसल्याण्ड विश्वकै दोस्रो खुशी राष्ट्र कहलिन सफल भएको हो । कुनै पनि समयमा ज्वालामुखीहरू बिस्फोट हुन सक्ने सानो राष्ट्र आइसल्याण्डका ३ लाख ५० हजार बासिन्दाहरू खुसी छन् । कारण, सहयोगी मनका धनी उनीहरू कष्टकर क्षणहरूमा कसरी सँगै सहकार्य गर्ने भनेर जानेका छन् ।
१. फिनल्याण्ड
फिनल्याण्ड विश्वकै खुशी राष्ट्रहरू मध्येको अग्रपङ्तिमा पर्न सफल भएको छ । उच्च आम्दानी, उच्चस्तरीय शिक्षा प्रणाली, निर्धक्क सरकार, पारदर्शिता र न्याय, कम अपराध स्तर, घरबारबिहिनको न्यून स्तर, लैङ्गिक समानतामा उच्च महत्व जस्ता कारकहरूकै कारण यो स्थान फिनल्याण्डले पाएको हो । यो राष्ट्र एक यस्तो विकसित राष्ट्र हो, जहाँ बालबालिकाहरूलाई आमाले भन्दा बुबाले बढी समय दिने गरेका छन् ।